राष्ट्रिय सभाको उपनिर्वाचन : गठबन्धनका साझा उम्मेदवार डा.देवकोटा

206

काठमाडौं। नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपालपक्ष र समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले वाग्मती प्रदेश अन्तर्गत हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचनमा खिमलाल देवकोटालाई उम्मेदवार बनाउने भएको छ। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार कांग्रेस, माओवादी, नेपालपक्ष र जसपाको यादव पक्षको तर्फबाट साझा उम्मेदवार देवकोटालाई बनाउने निर्णय भएको हो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान एमाले नेता नेपाल र जसपा अध्यक्ष यादवसँग हात्तीवनमा छुट्टाछुट्टै संवाद गरेका थिए। मंगलबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नेपालको छलफलबाट देवकोटालाई साझा उम्मेदवार बनाउने सहमति भएको नेता श्रेष्ठले बताए।

संघीयता र योजनविज्ञ देवकोटा एमाले नजिक हुन्। प्रदेश ३ को योजना आयोगको उपाध्यक्ष रहिसकेका उनी पछिल्लो समय माधवकुमार नेपाल समूह नजिक छन्। उपचुनावमा भने माओवादी केन्द्रको चुनाव चिन्हबाट लड्नेछन्।

तत्कालीन माओवादीले रामबहादुर थापालाई राष्ट्रियसभा उम्मेदवार बनाएको थियो। थापा एमाले प्रवेश गरेपछि माओवादीले उनलाई कारबाही गर्दा वाग्मतीमा राष्ट्रियसभाको एक पद रिक्त छ। उक्त पदमा जेठ ६ गते उपनिर्वाचन हुँदै छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले वैशाख १० गते बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा थापालाई नै उम्मेदवार बनाउने घोषणा गरेका थिए।