अर्घाखाँची अस्पतालमा १० बेडको एचडियु सेवा सुरु

248

घनश्याम पौडेल
अर्घाखाँची, २६ बैशाख । अर्घाखाँची अस्पतालमा १० शैयाको एचडियु सेवा सञ्चालनमा आएको छ । कोरोना संक्रमित बिरामीको उपचारका लागि सेन्ट्रल अक्सिजन सप्लाई सहित १० बेडको एचडियु सेवा सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए ।

जिल्लामै संक्रमितको उपचार सहज गराउन छोंटो समयमै भवन निर्माण गरेर एचडियु सेवा सञ्चालनमा ल्याईएको अस्पतालले जनाएको छ । करिब ७ महिनाको अथक प्रयास बाट बनेको भवनमा कोरोना संक्रमित बिरामीको उपचारका लागि सेन्टल अक्सिजन सप्लाई सहित १० बेडको एचडियु सञ्चालनमा आएको हो ।

आईतबार सम्म जिल्ला अस्पतालमा कोरोना संक्रमित ४० जना बिरामी भर्ना गरि उपचार गरेको र १९ जना निको भई डिस्चार्ज भएको अस्पतालले जनाएको छ । अस्पतालमा १४ जना कोरोना संक्रमितको उपचार भईरहेको छ ।

एचडियु बेडको सेवा सञ्चालन गर्नका लागी अर्घाखाँची सिमेन्टबाट ४ वटा ठुलो अक्सिजन, व्यवसायी बालकृष्ण भुसालबाट ८ वटा ठुला अक्सिजन सिलिन्डर प्राप्त भएको छ । सन्धिखर्क नगरपालिकाबाट ४ वटा ठुलो अक्सिजन सिलिन्डर, नेपाल पत्रकार माहासंघ अर्घाखाँची शाखाका अध्यक्ष अशोक कुमार खनालको पहल र अर्घाखाँची–जापान समाजका अध्यक्ष बाबुराम पौडेलको पहलमा ५ वटा “इलेक्ट्रिक अक्सिजन मेसिन’’ उपलब्ध गराउन ४ लाख पचास हजार सहयोग अस्पताललाई प्राप्त भएको छ ।

त्यससँगै नेशनल प्याथ ल्याव अर्घाखाँचीबाट एचडियुमा बिरामीको धैर्यताको, मनोबलताको लागि म्युजिक जडान भएको छ। अबस्था जटिल हुदै गहिरहेको छ, कृपया सजग सतर्क रहौ, स्वास्थ सम्बन्धी मापदण्ड पालना गर्न डा. गौतमले आग्रह गरेका छन् ।