आमाको महिमा र सामाजिक सञ्जालमा रंगिएका आमाका तस्बिर !

264

घनश्याम पौडेल
बिहान ७ बजे उठे । रेडियो, टेलिभिजन तथा पत्रिकामा समाचार थियो ‘आज मातातीर्थ औशी’। एकछिनपछि सामाजिक सञ्जाल हेरेको थिए, सामाजिक सञ्जालभरी आमाको तस्विर थिए । कतिपय सामाजिक सञ्जालमा तस्विर राख्नेहरु साच्चै आमाको महिमालाई बुझेर तस्बिर राखे जस्तो पनि लाग्यो ।

कतिपयले सबैले सामाजिक सञ्जालमा तस्बिर राख्दा मैले किन नराख्ने भनेर राखेका पनि थिए होला । संसारमा सबैभन्दा महत्वपुर्ण शव्द ‘आमा’ आमा शब्द आफैमा महत्वपुर्ण । जुन शब्द जति छोटो र मिठो छ त्योभन्दा कैयौँ गुणा भावहरू बोकेर मानिसको मन मस्तिष्कमा सजिलै तिर हान्न सक्छ चसक्क ..

दुःख र सुख पर्दा पनि मुखमा च्वास्स आईहाल्ने शव्द ‘आमा’…….

मातातीर्थ औँसी आज हो । आजका दिन सामाजिक सञ्जाल भरी एकपछि अर्को गरि तछाड मछाड गर्दै आमाका सुन्दर तस्वीरहरू सामाजिक सञ्जालका भित्ता, भित्तामा सजिएका छन् । एक दिन मात्रै सन्तानले सामाजिक सञ्जालका लागि भनेर फोटो साँचेर नराख्नुस । मानिसको मनको क्याम्राले हरेक दिन, हरेक पल आमाको उज्यालो तस्वीर मनमा बसीरहुन । सामाजिक सञ्जालमा आमाको तस्विरहरु देख्दै गर्दा एउटा कुरा मात्रै कामना गरौँ कि आज सामाजिक सञ्जालमा देखिएका तस्बिरहरू कुनै पनि वृद्धाश्रममा देख्न नपरोस् । आमालाई सामाजिक सञ्जालमा जस्तै सधैभरी मायाँ गरौँ । ९ महिना गर्वमा राखेर शिशुलाई जन्म दिने महान आमा । एउटा भनाइ छ नि “भगवान सबै ठाउँमा पुग्न सक्दैनन् त्यसैले सृष्टिकर्ताले सबैका लागि आमा दिएका हुन्छन् ।’’

शिशु र आमा बीचको सम्बन्ध भनेको प्रेमले जोडेको सम्बन्ध हो जुन सम्बन्ध गर्भमा रहँदा नै एक ले अर्कालाई नदेखे पनि महशुस गर्ने गर्छन् । जुन माया पवित्र र निश्वार्थ हुन्छ । आमाले शिशुलाई आफ्नो गर्भमा राखेर, आफुले खाएको दुई भागको एक भाग अन्न, जल र श्वासका साथै स्नेह, ममता दिएर कष्टकर प्रसव पीडा सहेर एउटा शिशुलाई संसार देखाउँछिन् ।
आमा शब्दलाई जति ब्याख्या गरे पनि कम नै हुन्छ । आमा शब्द आफैमा महान छ । आमाको ममताको ब्याख्या त अहिले सम्म कुनै कविले पनि गरेर थाकेका छैनन् । संसारमा कैयौं असम्भव कुरालाई सम्भव बनाउन अनेकौ उपकरणहरू को आविष्कार भइसक्यो तर आजसम्म आमाको ममता नाप्ने कुनै यन्त्रको विकास भएको छैन ।

शिशुको मुहार हेरे लगत्तै आफ्नो पिडादायी प्रसव पिडा भुलेर सन्तानको जन्ममा रमाउँछिन् । त्यसैले आमालाई रचनाकार को एक पात्रको रूपमा पनि लिन सकिन्छ । सन्तान अघाउँदा आफु पनि अघाउँछिन् । सन्तान भोको हुँदा आफु पनि भोको भएको महशुस गर्छिन् । त्यसैले त आफु नखाएर सन्तानको पेट भर्छिन् ।

सन्तानको दुखमा सङ्गै आँशु मिसाएर रोइदिने, सन्तान खुशी हुँदा सङ्गै हाँसो मिसाएर हासिदिने एक मात्र पात्र आमा हुन् । आफ्नी आमालाई माया गर्न केही विवशताले बाटो छेक्लान्, जस्तो त लाग्दैन, तैपनि यो आजको माहोलमा सन्तानबाट अपहेलित आमाहरुको संख्या बढ्दो छ । दिनप्रति दिन वृद्धाश्रममा चाप बढ्दो छ । अनि घरघरमा वृद्धहरुको संख्या घट्दो छ ।

अवश्य नहोला किताबका पानामा आमाबुबाको सम्मान गर भन्ने तार्किक भनाइहरु यथाबतै छन् । आफ्ना सन्तानको निम्ति धड्किरहने एक आमाको मन अनि मायामा कत्ति कमी छैन, तैपनि किन तेही सन्तानबाट माया पाउन असम्भव छ, एक आमाको लागि ?

जसले यस संसारबाट आमा गुमाईसक्नुभयो, उहाँहरुलाई आज सामाजिक सञ्जाल हेर्दा  कसको मन खिन्न नहोला र ? आमालाई गुमाईसकेका छोराहरु आमाको पुरानो तस्विर सम्झदै बसीरहेका छन् ।

अरुदिन आमसग बोल्न हिचकिचाउने सन्तानले पनि आजको दिन आमाको फोटो अपलोड गर्दै माया गरेको नाटक गर्छन् । माया कुनै एक दिन मात्र लाग्ने अनि बाँकी अरु दिन नलाग्ने कदापी हुन सक्दैन । म आग्रह गर्न चहान्छु, त्यस्ता सन्तानहरु जो आमालाई रूहाउँदै आजको दिन आमाकै नाममा नानाथरी लेख्दै फोटो हाल्ने गर्छन् ।

अनि म प्रश्न गर्छु, यो समाज अनि त्यस्ता जमातलाई जसले आमाको कुनै मूल्य राख्दैनन् । त्यो आखिर कस्तो खालको माया हो, यात माया भन्ने शब्द नै थाहा छैन तिमीलाई तिमी आज युवा छौ तर तिमीले यो सम्झनु जरुरी छ तिमी हिजो बालक थियौ अनि भोलि वृद्ध पनि त्यही तबरले जसरी तिम्रा आमाबाबु वृद्ध भएका थिए ।

मातातिर्थ औशी अर्थात आजको दिनको महत्व आफ्नै भए पनि आमाबाबु र गुरुलाई एक दिन मात्र नभई संधै श्रद्धा र सम्मान गर्ने हाम्रो आफ्नै मौलिक परम्परालाई पुनर्जीवन दिनुपर्ने आवश्यकता छ । (लेखकः अर्घाखाँचीमा पत्रकारिता क्षेत्रमा आवद्ध हिन्दुखबर डटकमको प्रबन्ध सम्पादक हुनुहुन्छ।)