निषेधाज्ञामा जुत्ता उद्योग: काम धमाधम, उत्पादन गोदाममा

331

२९ वैशाख, काठमाडौं । ‘बच्चा भोकाए जस्तो छ, खाजा खुवाऊ’ मोबाइलको स्क्रिनमा हेर्दै मोहम्मद अख्तरले श्रीमतीलाई आदेश दिए । अख्तरको एक हातमा जुत्ताको सोल छ, छेवैमा गमको भाँडो । अनि अगाडि मोबाइल । मोबाइलमा भिडियो कल चलिरहेको छ ।

उनी भिडियो कलमा सानो छोरा र श्रीमतीलाई हेर्दै कुरा गरिरहेका छन् । गफसँगै उनको हात पनि चलिरहेको छ । एक हातमा रहेको जुत्ताको सोलमा उनी अर्को हातले धमाधम गम लगाउँदैछन् ।

अख्तरकी श्रीमती र छोरा भारतको बिहार राज्यमा पर्ने दरभंगामा छन् । उनी भने काठमाडौंको गोठाटारस्थित एनजे फुटवेयर प्रालि जुत्ता उद्योगको कारखानामा काममा व्यस्त छन् । श्रीमतीसँग बोलेर उनी जति रमाइरहेका छन्, उनको काम पनि त्यसरी नै रमाएरै चलिरहेको छ । कोभिड–१९ ले भने रमाएको मनको कुनै कुनामा चिसो पनि छ– कतै केही हुने त होइन !

विगत ८ वर्षदेखि जुत्ता कारखानामा उनको दैनिकी यसरी नै बितिरहेको छ । उनी जागिर खोज्दै वर्षौं पहिले विदेशी भूमि नेपाल प्रवेश गरेका थिए । अन्य साथीहरूसँगै नेपालमा काम गर्ने अवसर पाएपछि उनी यतै भुले ।

बेलाबेलामा घर आउने जाने क्रम चलिरहेको छ । कहिले श्रीमती नेपालमै ल्याएर केही समय राख्छन् । फेरि घर पठाउँछन् । परिवार र देश छाडेर नेपालमा भए पनि उनीहरूलाई प्रविधिले नजिक बनाइदिएको छ ।

उनको नजिकै अर्का युवा साइफल खान छन्, घर बिहार । ‘नेपाली भाषा बुझ्नु हुन्छ ?’ उनले जवाफ फर्काए, ‘थोडा थोडा समजता हुँ ।’ साइफल पनि केही वर्ष अघिदेखि रोजगारीका लागि नेपाल छिरेका थिए । अहिले उनी यहीं रमाएका छन् । उनको त परिवार समेत यहीं रहेको सुनाए ।

बाहिर निषेधाज्ञा छ । उनीहरूले निषेधाज्ञाका कारण कुनै समस्या भोग्नु परेको छैन । कोरोनाको त्रास पनि छैन । ‘हामी भित्र बसेर काम गर्ने हो, बाहिर बन्द छ कि के छ पता नहिं’ साइफलले भने, ‘खुला हुँदा पनि हामी यसरी नै काम गर्ने हो, बाहिरको हामीलाई मतलब हुँदैन ।’ कारखानामा नौ जना काम गरिरहेका छन् । ५–६ जनाको समूह भने निषेधाज्ञा हुने जानकारी पाएपछि घर गइसकेको उनीहरूले सुनाए ।

‘काम चलिरहेको छ, घरमा गएर पनि त्यत्तिकै बस्ने हो, त्यसैले हामी यहाँ बस्यौं घर गएनौं’, साइफल सुनाउँछन् । गत वर्षको लकडाउनमा भने उनीहरूले धेरै समस्या झेलेका थिए ।

निषेधाज्ञा भएको १५ दिन हुन लाग्यो । अझै १५ दिन निषेधाज्ञा थप भएको छ । अझै धेरै लामो समय बन्द हुँदा काम रोकिने हो कि भन्ने चिन्ता मजदूरहरूलाई छ । हुन त अझै एक महीनाका लागि काम अभाव नहुनेमा उनीहरू ढुक्क देखिन्छन् ।

 

यसपालि पूर्व जानकारी दिएर नै निषेधाज्ञा भयो । तर गत वर्ष केही जानकारी नै नआई एक्कासी लकडाउन भएका कारण उनीहरू काठमाडौंमै रोकिए । लामो समय लकडाउन भयो । शुरुवाती दिनहरूमा उद्योगमा काम चल्यो । तर केही समयपछि कच्चा पदार्थ समेत अभाव भयो, काम रोकियो ।

उनीहरू ठेक्कामा काम गर्छन् । एउटा जुत्ता तयार भएको २०० रुपैयाँ प्राप्त हुन्छ । कच्चा पदार्थ उद्योगका सञ्चालकले नै व्यवस्था गरिदिन्छन् । मासिक तलब भए त काम नगरे पनि थोरबहुत आउँछ भन्ने अपेक्षा हुन्थ्यो । तर ठेक्कामा काम हुने भएका कारण काम पनि रोकियो, आम्दानी पनि बन्द भयो । स्वदेश फर्कन उपाय भएन ।

‘लकडाउन कडा थियो, बाहिर हिंड्दा पनि पुलिसले लाठी हान्थ्यो’, उनले भने, ‘तर नगई पनि भएन, हामी सामान बोक्ने कन्टेनरमा घर गयौं ।’ बन्द खुलेपछि रोजीरोटीका लागि पुनः उनीहरू नेपाल आए । काम राम्रै चलिरहेको थियो । माग अनुसारको उत्पादन गर्न समेत हम्मे–हम्मे थियो ।

यसपटक निषेधाज्ञा भएको १५ दिन हुन लाग्यो । थप १५ दिन निषेधाज्ञा थप भएको छ । अझै धेरै लामो समय बन्द हुँदा काम रोकिने हो कि भन्ने चिन्ता छ । हुन त अझै एक महीनाका लागि काम अभाव नहुनेमा उनीहरू ढुक्क देखिन्छन् ।

बजार बन्द, सामान ‘स्टक’

उनीहरूले दैनिक जुत्ता उत्पादन गरे पनि अहिले बजारमा जान पाएको छैन । सबै पसल बन्द छन् । अहिले उत्पादन भएका सामान स्टकमा राखिएको उद्योगका सञ्चालक नरेश कटुवाल बताउँछन् । निषेधाज्ञा हुनसक्ने जानकारी पाएपछि कच्चा पदार्थ भने धेरै ल्याएर राखिएको उनले बताए ।

‘पहिलेको भन्दा अहिले संक्रमण धेरै छ, कोरोनाबाट बच्न हामी नै सुरक्षित हुने हो’ सञ्चालक कटुवालले भने, ‘त्यही भएर अहिले उत्पादन भएका सबै सामान गोदाममा स्टक गरेर राखिएको छ, निषेधाज्ञा खुलेपछि माग आउँछ अनि होलसेलमा जान्छ ।’

स्टक राख्दा पछि निषेधाज्ञा खुला हुँदा माग अनुसारको आपूर्ति गर्न सहज हुने उनी बताउँछन् । तर निकै लामो समय निषेधाज्ञा लम्बिएको अवस्थामा भने स्टक धेरै हुने र बजार नपाउँदा आफू डुबिन्छ कि भन्ने डर पनि उनलाई छ ।

उद्योगका सञ्चालक नरेश कटुवाल भन्छन्– दैनिक जुत्ता उत्पादन गरे पनि अहिले सामान बजारमा जान पाएको छैन । सबै पसल बन्द छन् । उत्पादन भएका सामान स्टकमा राखिएको छ । निषेधाज्ञा हुनसक्ने जानकारी पाएपछि कच्चा पदार्थ भने धेरै ल्याएर राखिएको छ ।

अन्य धेरै उद्योगहरूको पनि अवस्था उस्तै छ । सञ्जय फुटवेयरका सञ्चालक इन्द्रप्रसाद गुरागाईं आफ्नो उद्योगमा पनि उत्पादन भइरहेको बताउँछन् । उत्पादन भएका जुत्ता चप्पल अहिले गोदाममा स्टक गरेर राखिएको उनले बताए । कच्चा पदार्थको जोहो पहिले नै गरेका कारण अहिले काम रोकिएको छैन ।

‘एक डेढ महीनालाई चाहिने कच्चा पदार्थ पहिले तयार गरेकाले अहिले काम रोकिएको छैन, तर लामो समय निषेधाज्ञा हुने हो भने अलि समस्यामा पर्छ’ उनले भने, ‘धेरै उत्पादन गरेर स्टकमा राख्दा पनि पछि त्यो बिक्री नहुनसक्छ, त्यो समस्या हो ।’ उनका अनुसार उद्योगमा म्यानेजर, सिनियर मिस्त्री लगायतका केही कर्मचारीहरू भारतीय छन् । बाँकी तराई क्षेत्रका नेपाली नै कर्मचारी रहेको उनले सुनाए ।

काम चलिरहँदा कर्मचारीलाई समस्या नहुने तर काम रोकिने हो भने सञ्चालक र श्रमिकबीच द्वन्द्व चल्ने उनी बताउँछन् । अहिले खासगरी साना जुत्ता चप्पल उद्योगहरूमा यस्तो समस्या रहेको उनले बताए ।

‘आज सामान ल्यायो, उत्पादन गरेर व्यापार गर्‍यो अनि त्यही पैसाले कच्चा पदार्थ किनेर चलाउने साना काराखानाहरू यतिबेला समस्यामा छन्’ उनले भने, ‘कि काम देओ, कि पैसा देओ भन्ने माग आउँछ, काम दिन नसक्दा समस्या उत्पन्न हुन्छ ।’

गोदाममा राखिएका सबै बिक्री नहुने हो कि भन्ने चिन्ता रहेको उनले सुनाए । ‘अहिले बजार खुला नै रहेको भए यो मोडलको चलेन अर्को बनाऔं भन्न हुन्थ्यो, आफ्नो हिसाबले हामीले उत्पादन गरिरहेका छौं’ उनी भन्छन्, ‘पछि यो बिक्री भएन भने लागतभन्दा पनि सस्तोमा बिक्री गर्नुपर्ने अवस्था आउन सक्छ ।’

‘उद्योग बन्द हुने खतरा बढ्यो’

शू ल्याण्ड जुत्ता उद्योगका सञ्चालक सुरज बञ्जाडे अब फुटवेयर उद्योगहरू बन्द हुने खतरा बढेको बताउँछन् । अहिलेसम्म उद्योगहरू जेनतेन धानिएको तर निषेधाज्ञा पुनः १५ दिन थपिएको भन्दै उनले लामो समयसम्म उद्योगहरूले धान्न नसक्ने बताए ।

उत्पादन भएका जुत्ता चप्पलहरू गोदाममा थन्किएको र कच्चा पदार्थ व्यवस्था गर्न समेत नसकिने भएका कारण उद्योग धरासायी हुने उनले बताए । अघिल्लो वर्षको जस्तै समस्या अब एक, दुई दिनमै शुरु हुने बञ्जाडेको भनाइ छ ।

‘कति कच्चा पदार्थ तेस्रो मुलुकबाट आउँछ, कति भारतबाट आउँछ भने कतिपय कच्चा पदार्थहरू स्वदेशमै पनि पाइन्छ, अभाव हुन थालिसकेको छ’ उनले भने, ‘फेरि बजार नै नपाइने भएपछि उत्पादन गर्न पनि गाह्रो पर्ने उनी बताउँछन् ।’

अहिले उनको उद्योगमा ६० प्रतिशत कर्मचारी नेपाली छन् भने ४० प्रतिशत भारतीय । उत्पादनमा महत्वपूर्ण भूमिका हुने मेकानिकल मान्छे भारतकै छन् । एक जना मेकानिकल मान्छे नहुँदा १०–१५ जना कामविहीन हुनसक्ने उनी बताउँछन् । गत वर्ष लकडाउन खुल्दै पुनः लागू हुँदै गर्दा कर्मचारीहरू घर गए । घर गएका कर्मचारीहरू बन्द खुल्दा पनि आउन नसकेकाले धेरै समस्या झेलेको उनले सुनाए ।

‘पोहोरको समस्या सम्झेर यसपालि घर नजान आग्रह गरिएको छ तर निषेधाज्ञा लम्बिंदै जाँदा काम रोकिन्छ, अनि समस्या उत्पन्न हुन्छ’, उनले भने ।