अक्षय तृतियाको धार्मिक एवम् शास्त्रीय महत्व

301

अनन्तप्रसाद घिमीरे । हरेक वर्षको वैशाख शुक्ल तृतीयाका दिन अक्षय तृतीया पर्व मनाइन्छ । विशेषतः हिन्दु धर्मावलम्बीहरुले निकै श्रद्धा र भक्तिपुर्वक मनाउने यो पवित्र दिनमा गरेको दान तथा पवित्र कार्यको अक्षय फल प्राप्त हुन्छ भन्ने पाैराणिक मान्यता रहिआएको छ । शिव र पार्वतीका बीच विवाह पनि वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाकै दिन भएको शास्त्रमा उल्लेख छ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नास नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।

विभिन्न पुराणलगायत धार्मिक ग्रन्थहरुमा आजका दिन गरिएको कर्म विशेष फलदायी हुने बताइएको छ । यसै दिन त्रेतायुगको सुरुवात भएको पनि मानिन्छ । एष धर्मघटो दत्तो ब्रम्हा बिष्णु शिवात्मक :। अस्यप्रदाना तृप्यन्तु पितरो प्रपितामहा :।। गन्धोदकं तिलैमिश्रं सान्नकुम्भं फलान्वितम् ।। अर्थात् आज माटो, तामा वा पित्तलको घडामा सर्वत राखेर ब्राह्मणलाई दान गरिन्छ । यस्तो घडामा ब्रह्मा, विष्णु र शिव तीनै स्वरुपका भगवानको निवास हुने मान्यता छ । यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ । अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको थियो । यसैले आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ । जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवम् सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने धार्मिक विश्वास छ । आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ ।यसो गरेमा भगवान् विष्णु प्रसन्न भइ अक्षय फल दिने धार्मिक विश्वाससमेत रहेको छ । सर्वत र सातु दान गर्नेले यो लोकमा सुख र परलोकमा सद्गति पाउने धार्मिक विश्वास छ । यसरी दान गर्नेका पितृ पनि प्रसन्न हुने वैदिक ग्रन्थमा व्याख्या गरिएको छ । यस दिन गरेको स्नान, दान, ध्यान र जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ। जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिककालदेखिको परम्परा हो ।

गर्मीबाट शरीरलाई बचाउन दुवै चीजले सहयोग गर्ने र यसबाट शक्तिसमेत प्राप्त भइ शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्दछ । ‘वैशाख शुक्ल तृतीयाका दिन थोरै दान गरे पनि धेरै फल प्राप्त हुने र यो अक्षय अर्थात् कहिल्यै नाश नहुने भएकाले आजको दिनलाई अक्षय तृतीया भनिएको हो । यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो त्यसैगरी भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि अक्षय तृतीया पर्वको पर्वको महत्व अहिलेको समयमा पनि उच्च रहेको देखिन्छ । जय होस् ।। लेखक ः नेपाल ज्योतिष परिषद् अर्घाखाँचीका उपाध्यक्ष हुन् ।