आफ्नो जन्मदिनमा बुढिनन्दा धार्मिक पर्यटनको रिपोर्टिङमा ज्यान गुमाएका पत्रकारको स्मृतिमा स्थापित अक्षयकोषमा सहयोग

151

डोटी, जेठ १
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सृजना अर्यालले आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोष स्थापनाका लागि आर्थिक सहयोग गरेकी छिन् । ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि १२ हजार पाँच रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी हुन् ।

नेपाल प्रेस युनियन डोटी शाखाले संस्थापक अध्यक्ष स्व. तेज बहादुर खड्का ‘तेजु’को स्मृतिमा अक्षय कोष स्थापना गर्न लागेको छ । अर्याल नेपाल प्रेस युनियन केन्द्रीय सदस्य समेत रहेकी छिन् ।

लामो समय नेपाली पत्रकारीता जगतमा खर्च गरेका लोकप्रिय रेडियोकर्मी स्व. खड्काले पत्रकारिता तथा सामाजिक क्षेत्रमा दिएको योगदानको कदर गर्दै उहाँलाई अमर राख्ने प्रेस युनियनको अभियानमा आफूले पनि सहयोग गरेको अर्यालले बताइन् ।

प्रेस युनियनले स्वर्गिय पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी सो कोषबाट राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गर्ने लक्ष्य लिएको छ ।

कोषका लागि विभिन्न पत्रकार, सामाजिक क्षेत्रमा ब्यक्ती र राजनीतिज्ञहरुले जन्मोत्सवका अवसरमा सहयोग गर्दै आएका छन् । हाल सम्म कोष स्थापनाका लागि दुई लाख बढी रकम संकलन भएको प्रेस युनियन डोटी शाखाका सचिव पवन महराले जानकारी दिए ।

पत्रकार खड्का बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीनबर्षपछि मात्रै कंकाल भेटिएको थियो । जसको डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।