‘राप्रपा यस्तै सिद्धान्तच्युत राजनीति गरेर खुम्चिइरहेको छ’ – अध्यक्ष गौतम

207

काठमाडौं, ४ जेठ । मौलिक जरोकिलो पार्टीका अध्यक्ष सुशील गौतमले राष्ट्रिय प्रजातन्त्र पार्टी एजेण्डा एकातिर व्यवहार अर्कोतिर गरेको कारण खुम्चिएको आरोप लगाएका छन् ।

राप्रपाले राष्ट्रियसभामा रामबहादुर थापा बादललाई मतदान गर्ने निर्णयमा पुगेपछि अध्यक्ष गौतमले यस्तो आरोप लगाएका हुन् । ‘राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रको एजेण्डा उठाउने गर्छ,’ गौतमले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रियसभामा रामबहादुर थापालाई मत दिने निर्णय गरेछ ।’

अध्यक्ष गौतमको प्रश्न छ, ‘रामबहादुर थापाको कुन चैं भाषण, कार्यक्रम अथवा प्रवृत्ति राप्रपाले उठाएको एजेण्डासंग मेल खान्छ र मत दिने निर्णय गर्‍यो ?’ एजेण्डा एकातिर व्यवहार अर्कोतिर भएको कारण राप्रपा अहिलेको अवस्थामा खुम्चिएको उनले तर्क प्रस्तुत गरेका छन् ।

‘राप्रपाका कार्यकर्ताहरूले आफ्नो नेतृत्वलाई यो प्रश्न गर्ने हिम्मत राख्नुपर्छ,’ उनले लेखेका छन्, ‘मौलिक जरोकिलो पार्टी यस्ता सिद्धान्तच्युत राजनीतिक सौदाबाजी कदापि गर्ने छैन ।’