राष्ट्रियसभा उपनिर्वाचनः लुम्बिनीमा एमालेबाट खड्का उम्मेदवार

534

काठमाडौं । आउँदो जेठ १७ गते लुम्बिनी प्रदेश अन्तर्गत हुने राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी मनोनयन मंगलबार हुदैछ । निर्वाचनका लागि एमालेले चन्द्रबहादुर खड्कालाई नै उम्मेदवार बनाएको छ ।

माओवादीले एमाले प्रवेश गरेका कारण खड्कालाई कारबाही गर्दा उक्त स्थान रिक्त भएको थियो । एमालेले उनलाई नै उम्मेदवार बनाउने निर्णय गरेको एमाले प्रतिनिधि सभा संसदीय दलका सचेतक विशाल भट्टराईले जानकारी दिए ।

यस्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले भने दुगनारायण पाण्डेय उम्मेदवार बनेका छन् । उनी वैशाख १९ गते एमाले प्रदेशसभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए ।

पाण्डेयलाई नै उमेदवार बनाउने निर्णय भएको कांग्रेसका लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडियाले जानकारी दिए । लुम्बिनीमा प्रदेश सभा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २ सय ९६ मतदाता छन् ।

जसमा प्रदेशसभा सदस्य ७९ र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २ सय १७ जना मतदाता छन् ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रतिनिधिको मतभार १८ हुन्छ ।