साम्प्रदायिक ब्राण्डिङ्गको चेपेटामा हाम्रा मौलिक धर्महरू

276

सुशील गौतम ।

ब्राण्डिङ्गको परिभाषाले वस्तु, सेवा, उत्पादक हुँदै स्थान र राष्ट्रलाई समेत समेटिसकेको छ। ‘राष्ट्र’ लाई साबुन, मन्जनसँग तुलना गरेर ब्राण्डिङ्ग गर्न मिल्दैन भनेर फ्रान्सेली बिज्ञ मिसेल गिर्रार्डले गरेको तर्कलाई मज्जैले सप्रमाण खण्डन गरेका छन् अर्का ब्राण्डिङ्गविद वाली ओलिन्सले। ब्राण्डिङ्ग विधाले मानव जीवनसँग सरोकार राख्ने धेरै विषयहरूलाई समेट्दै लागे पनि यसको परिभाषामा मत्यैक्यता भेटिदैन। ब्राण्डिङ्ग भनेको के हो ? कसैले संकेत मात्रैको कुरा गर्छन भने कसैले कुनै वस्तु, सेवा अथवा स्थानलाई पृथक देखाउन त्यस भित्र लुकेको मूल्य नै ब्राण्डिङ्ग हो भन्छन। पैसावालाहरू चीनकै गार्मेन्टमा सिलाईएको, उही कपडा र धागोले बनेको भए पनि अर्मानी ब्राण्डको कोट दश गुणा महँगो तिर्न तयार हुन्छन भने त्यहि खासाको ब्राण्डको कोट छनोटमा पर्दैनन्। कारण हो – ब्राण्ड। अर्मानी ब्राण्ड गुणस्तर मात्र होइन ‘व्यक्तित्व’ संग जोडिने गरी अत्याधिक प्रचार गरिसकेको छ। ‘व्यक्तित्व’ देखाउन अर्मानीकै कोट लगाउनुपर्छ झैँ जस्तो बनाईसकेको छ।  ब्राण्डिङ्गको उद्देश्य पनि यहि हो ।

ब्राण्डिङ्गले उत्पादन, उत्पादक, स्थान, राष्ट्रलाई त आफ्नो परिभाषामा पारिसकेको थियो नै अब अहिले आएर ‘धार्मिक सम्प्रदाय’ को समेत ब्राण्डिङ्ग हुनसक्छ भन्ने अवधारणाको विकास भएको छ। रिलिजन (जसलाई गलत अर्थमा धर्म भनेर पनि बुझिन्छ ) को ब्राण्डिङ्ग विधाले ‘धार्मिक आस्था’लाई एउटा ‘उत्पादन ‘ को रुपमा हेर्छ र ग्राहकलाई छनौट गर्न उकास्छ। थुप्रै धार्मिक सम्प्रदायको भिडमा एउटा धार्मिक सम्प्रदायलाई ‘उत्कृष्ट’ भनेर स्थापित गर्छ र त्यसैलाई अपनाउनु ‘सहि व्यक्तित्व ‘ भन्ने धारणा निर्माण गर्दछ जसरी दुरुस्तै दुई कोट मध्ये अर्मानीको कोट लगाउनुले व्यक्तित्व झल्काउँछ भन्ने वातावरण निर्माण गरिएको छ।

कसरी देखाउने त अर्मानीको कोट नै ठिक भनेर ? दुई वटा तरिकाहरू छन् ! या त अर्मानी बाहेकका सबै कोटहरू खत्तम छन् भनेर प्रचार गर्नुपर्यो या त अर्मानीको कोटमा निहित गुणलाई पुष्टि गर्दै प्रचारमा ल्याउनुपर्यो। अर्मानीको कोट कोकाकोला बनाउने सुत्र जस्तो गोप्य नभएको हुँदा नाम बाहेक अरुको नक्कल गरेर उस्तै कोट सजिलै उत्पादन गर्न सकिन्छ। यसर्थ, संचार माध्यम उपलब्ध छ भने दुवै कार्य एकैसाथ गर्दा नतिजा झनै राम्रो हुन्छ। एकातिर अर्मानी बाहेकका अरु कोटहरूको अवगुणहरू खोजि खोजि प्रचारमा ल्याउने अथवा नकारात्मक समाचारमा अन्य ब्राण्डका कोटहरूको नाम जोडिदिने। अर्कोतिर अर्मानी ब्राण्डको कोटको गुण मात्रै प्रचारमा ल्याउने। ब्राण्डिङ्ग प्रक्रिया द्रुत गतिमा अघि बढ्छ।

उपभोग्य वस्तु जस्तै ‘धार्मिक आस्था’ लाई उत्पादनको रुपमा लिएपछि मार्केटिंग मिक्सको सिद्दान्त लगाईन्छ। घर घरमा ढोका ढक्ढक्याउदै ब्राण्डिङ्ग गरिएको धार्मिक आस्थाको बारेमा सम्भाव्य ग्राहकलाई प्रभावित पारेर उक्त धार्मिक आस्था छनौट गर्न प्रोत्साहन गर्नु “डोर टु डोर” सेलिङ्ग हो।

मोबाइलको एकापट्टि बिबिसीको एप छ। शौच गर्दा देखि कुनै पनि बेला फुर्सद हुँदा बिबिसी खोलेर समाचार पढेकै हुन्छु। कर्पोरेट न्युज एजेन्सीहरू बिज्ञापन दाताबाट प्रभावित भएका हुन्छन भनेर धेरै पटक सुनिएको हो। बिबिसीमा आएका कतिपय समाचारहरू हेर्दा धार्मिक आस्थाको ब्राण्डिङ्ग र त्यसको प्रचारमा लागेको देखिन्छ।

अप्रिल ३, २०१७ मा एउटा समाचार छ बिबिसीमा। स्विडेनको उमेअ नाम गरेको स्थानमा खोलिएको यहुदी सम्प्रदाय सम्बन्धि संस्था चरम धम्कीपछि बन्द गरियो। कार तोडफोड गर्नुको साथै ‘ तिमीहरू कहाँ छौ हामीलाई थाहा छ ‘ भनेर भनेर स्वस्तिक चिन्ह सहितको धम्कीपूर्ण सन्देश आउन थालेपछि सुरक्षा खतरा महसुस गरेर त्यस संस्था बन्द गरियो। स्विडेन इसाई बाहुल्य देश हो। स्वस्तिक चिन्ह इसाई अतिवादी हिटलरले प्रयोग गरेर यहुदीहरूको चरम दमन गरेको जगजाहेर छ। तर उक्त समाचारमा इसाई भन्ने एउटा शब्द समेत छैन। नियो नाजीले धम्की दिएको भनेर टुङ्ग्याईएको छ तर त्यसै समाचारको पुछारमा ‘माल्मो भन्ने स्थानमा चैं मुसलमानको समूहबाट यहुदीलाई खतरा छ’ भनिएको छ। इसाई बाहुल्य देशमा यहुदी माथि भएको थिचोमिचीमा “इसाई” शब्दै परेको छैन भने “इस्लाम” शब्द तोकेरै लेखिएको छ।

२९ जुलाई २०१७ मा जर्मनीको ह्यामबर्गमा एउटा मानसिक सन्तुलन ठिक नभएको मानिसले जथाभाबी छुरा प्रहार गरे। एकको मृत्यु भयो, छ जना घाईते भए। शरणार्थी आवेदन असफल भएका प्यालेस्टाईन मुलका उक्त व्यक्तिलाई बिबिसीले प्रहरी अधिकारीलाई उधृत गर्दै उक्त व्यक्ति “परिचित मुसलमान (नन इस्लामिस्ट) अर्थात मुसलमान समर्थक तर जिहादिस्ट चै होइन भनिएको छ। अचम्म छैन त ? मानसिक सन्तुलन ठिक नभएको व्यक्तिले गरेको अपराधलाई उसको आस्थासंग जोडेर समाचार बनाईएको छ। मानसिक सन्तुलन ठिक नभएको व्यक्तिले छुरा प्रहार गरेको समाचारमा इस्लाम शब्द प्रयोग गर्नु आवश्यक थियो ?

एक बन्दुकधारीले अमेरिकाको टेक्सास राज्यमा २६ जनाको गोली हानि हत्या गरे। ति बन्दुकधारी पनि २०१२ मा मानसिक अस्पतालबाट भागेको कुरा रहेछ ७ नोभेम्बर २०१७ को समाचारमा। अर्थात ति पनि मानसिक सन्तुलन ठिक नभएको हुनसक्छ तर तिनको धार्मिक आस्था बारेमा केहि उल्लेख छैन। सुरु सुरुका समाचार ‘स्वेत जवान’ मात्रै भनियो त्यसपछि डेभिड केल्ले भनियो ! कुन धार्मिक आस्थाका रहेछन, त्यो भन्नु आवश्यक भएन।

युरोकेन्द्रित ‘राष्ट्रराज्य’ सिद्दान्तमा ‘राष्ट्रवादी’ नकारात्मक शब्दको रुपमा लिईन्छ। यसले कुनै एक जात, धार्मिक सम्प्रदाय, छालाको रंग, अनुहारको बनोटलाई मात्र प्राथमिकता दिईएको बुझाउँछ। (थप: राज्यराष्ट्र – सिद्दान्त र अवधारणा/ डा. निर्मलमणि अधिकारी, डा. गोविन्द शरण उपाध्याय )।  २२ अक्टोबर २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सम्बन्धित समाचार छ। पहिलो अनुच्छेदमा भारतीय राष्ट्रिय स्वयम् सेवक संघलाई कट्टर हिन्दु राष्ट्रवादी भनिएको छ। दोस्रो अनुच्छेदमा त्यहि संस्थालाई हिंस्रक हिन्दु संगठन भनेर बिश्वास गरिन्छ भन्दै भारतीय जनता पार्टीसंग सम्बन्ध देखाईएको छ। चौथो अनुच्छेदमा नरेन्द्र मोदी राष्ट्रिय स्वयम् सेवक संघको पूर्णकालिन सदस्य रहेको बताईएको छ। अर्थात नरेन्द्र मोदीलाई प्रष्ट ‘हिन्दु अतिवादी’ बनाईएको छ। हिन्दु धर्मलाई अतिवाद र हिंस्रक संगसंगै प्रयोग गरिएको छ।

त्यस्तै ११ मार्च २०१७ मा भारतीय जनता पार्टीले उत्तर प्रदेशमा जितेको चुनावी समाचारमा प्रष्टसंग ‘ हिन्दु राष्ट्रवादी ‘ शब्द तोकेरै समाचार प्रस्तुत गरिएको छ ।

७ सेप्टेम्बर २०१७ मा बर्माको रोहिङ्ग्या बस्तिमा आगो लगाईएको समाचार छ। ‘ मोटो मोटो पाखुरा भएका मानिसहरू हातमा खुँडा, तरवार लिएर हिंडेका थिए, क्यामेरा अगाडी बोल्न चाहेनन्, पछि सहकर्मीले कुरा गर्दा राखिन प्रान्तका बौद्ध भएको भनियो, ति मध्ये एक जनाले मुस्लिम वस्तीमा आगो लगाएको स्वीकारे। ‘  सरकारी पक्षले अस्वीकार गरिरहेको आरोपलाई बिबिसीको समाचारले अकाट्य प्रमाण नै फेला परे जस्तो गरी ‘बौद्ध ‘ शब्द तोकिएको छ। बर्माको आर्सा बिद्रोही र सरकारी सेनाको भिडन्त सम्बन्धि अन्य समाचारमा ‘ बर्मामा बहुसंख्यक बौद्ध छन्, बौद्धहरूको भिडद्वारा आक्रमण ‘ जस्ता शब्दहरू प्रयोग छन्।

२ मे २०१३ मा श्रीलंका प्रकाशित ‘ बौद्ध भिक्षुहरू किन मुसलमानलाई आक्रमण गर्छन ?’   शीर्षकको आलेखमा बौद्धहरू पनि ‘हिंस्रक’ हुन् भन्ने कोणबाट लेखिएको छ। बेलायती साम्राज्यबाट स्वतन्त्रताको माग गरिएको श्रीलंका र बर्माको बिषयलाई बौद्ध राष्ट्रवादी आन्दोलन भनिएको छ। सन् १९३० मा बर्माको राजधानी यांगुनमा चार जना युरोपेलीलाई छुरा प्रहार गरिएको बिषय सम्म समेटिएको छ बौद्ध धर्मलाई हिँसासंग जोड्न। र भनिएको छ ‘ एतिहासिक रुपमै बौद्ध धर्म इसाई धर्म भन्दा शान्तिपूर्ण छैन !’

माथि उल्लेख गरिसकियो – राष्ट्रवादी शब्द नकारात्मक शब्दको रुपमा लिईन्छ। जुन नश्लवादी अथवा जातिवादीको समानार्थी शब्द हो युरोपेली प्रतिमानमा ! हिन्दु, बौद्ध, इस्लाम सम्प्रदायसंग जोडेर अतिवादी, कट्टरपन्थी, राष्ट्रवादी जस्ता शब्द प्रयोग भएका उपरोक्त समाचारहरू, अर्मानी बाहेकका अन्य कोटहरूमा के कति खोट छन् भनेर देखाईएको जस्तै हो ! अन्य धार्मिक सम्प्रदायको नाम प्रष्ट किटेर नकारात्मक शब्दसंग जोडे पनि इसाई शब्द भने नकारात्मक अर्थ लाग्ने शब्दसंग जोडिएको छैन।

२३ जुलाई २०११ मा आएको समाचारमा, नर्वेका एण्डर्स बेह्रिंग ब्रेभीकले झन्डै ८५ जनाको गोला बारुद हानि हत्या गरेका थिए। हत्याराले आफुलाई ‘राष्ट्रवादी’ भएको बताएका रहेछ तर के राष्ट्रवादी ? बिबिसी मौन छ !  अन्य देशका हिन्दु राष्ट्रवादी, बौद्ध राष्ट्रवादी, इस्लामिक राष्ट्रवादी लेखे पनि यसमा चै के राष्ट्रवादी उल्लेख छैन। बरु दक्षिण पन्थी अतिवादी भनिएको छ। झन्डै अठासी प्रतिशत इसाई सम्प्रदाय भएको नर्वेमा ८५ जनाको हत्या गर्ने कुन किसिमको राष्ट्रवादी होला ? पाठकले आफैले दिमाग लगाउनुपर्ने रहेछ !

२०१२ अगष्टमा अमेरिकाको विस्कोंसिन राज्य स्थित सिख गुरुद्वारामा वेड मिसेल पेजले गोलि ठोकेर छ जना सिखको हत्या गरे। उनको पहिचान दिन ‘चालिस बर्षे स्वेत मानिस’ पनि लेख्यो बिबिसीले। सिख धर्मावलम्बी भएकै कारण हत्या गरिएको पनि लेख्यो तर हत्याराको धार्मिक आस्था उल्लेख गरिएन। बरु ‘ साम्प्रदायिक घृणा ‘ को कारण गोली हत्या गरिएको लेखिएको छ। सत्तरी प्रतिशत इसाई भएको देश अमेरिकामा सिख धर्मावलम्बीलाई सिख भएकै कारण गुरुद्वारामा गएर गोली हानि हत्या गरिन्छ। पाठक आफैले बुझ्नुपर्ने हुन्छ हत्यारा कुन धर्मावलम्बी रहेछ। बिबिसी त मौन छ। खोज गरिरहेका प्रहरीलाई बिबिसीले उधृत गरेको छ –  घरेलु आतंकवादी ” जस्तै ” घटना भनेर ! अन्य धार्मिक सम्प्रदाय, अझ इस्लाम जोडिएको भए त कुरै सकिन्थ्यो तर इसाई जोडिएको भएर ” आतंकवाद जस्तै ” भनेछन प्रहरी अधिकारीले त्यो पनि कुन धार्मिक सम्प्रदायबाट नखुलाई !

यो लेख लेख्दै गर्दा पोल्याण्डको राजधानी वार्समा झन्डै एक लाख जना सहभागी ‘राष्ट्रवादी’ हरूको र्याली निस्किएको छ। तिनीहरूको नारामा ‘ प्रभु, गौरव र देश ‘  त्यस्तै ‘शुद्ध पोल्याण्ड, स्वेत पोल्याण्ड ‘ छ !  नब्बे प्रतिशत इसाई भएको देशमा कुन किसिमको राष्ट्रवादीहरूको जुलुस होला ? प्रभु अर्थात गड भनेर कुन धार्मिक सम्प्रदायलाई इंगित गर्न खोजेको होला ? कस्तो किसिमको राष्ट्रियता हुनुपर्ने माग होला ?  युरोप बिशेष गरी पोल्याण्डलाई इस्लामिकरणबाट बचाउन र आफ्नो धर्म जोगाउन यो र्याली महत्वपूर्ण छ भनेर कुन सम्प्रदायका मानिसले भने होला ? बिबिसी सजग देखिन्छ, इसाई शब्द नकारात्मक घटनासंग जोड्न नहुने कुरामा !

अन्य थुप्रै घटनाहरू छन् युरोपेली र अमेरिकी देशहरूमा इसाई अतिवादीद्वारा गैर इसाई माथि गरिएको अपराधका घटना। तर त्यसमा इसाई शब्द प्रयोग नगरी फार राईट एक्स्ट्रेमिस्ट अर्थात दक्षिणपन्थी अतिवादी शब्द प्रयोग गरिएको छ। अर्मानी कोटको पनि खल्ती उध्रिन सक्छ, टाँक फ़ुस्किन सक्छ, काखी च्यातिन सक्छ त्यस्तो बेला अर्मानी कोटमा यो समस्या देखियो भन्दा अर्मानी कोटको ब्राण्डमा धक्का पुग्न जाने भएकोले सबै कोट समेटिने भाषा प्रयोग गरिएको जस्तो भयो !

स्नातक तहमा अंग्रेजी पढाएका बेलायती नागरिक ब्रायन जोईसले पनि ‘फार राइट एक्स्ट्रिमिस्ट ‘ साझा शब्द भएको बताए। चाहे हिन्दु होस वा बौद्ध वा मुसलमान ! यो शब्द सबैलाई प्रयोग गर्न मिल्ने रहेछ तर बिबिसीका समाचारहरूमा ‘इसाई अतिवाद’ लुकाउन यो शब्द प्रयोग भएको देखियो।

मध्येपुर्वका कुनै पनि संगठनलाई इस्लामी अतिवादी अथवा आतंकवादी भनेर किटान गर्नु त सामान्य भयो। श्रीलंकाको बोदु बल सेनालाई बौद्ध कट्टरपन्थी संगठन भनिएको छ, भारतको राष्ट्रिय स्वयम् सेवक संघलाई हिन्दु कट्टरपन्थी संगठन भनिएको छ तर युरोप/अमेरिकाको नियो नाजीलाई केवल ‘नियो नाजी’ नै उल्लेख गरिएको छ। नियो नाजी अर्थात नयाँ राष्ट्रिय समाजवाद। एडोल्फ हिट्लरले खडा गरेको राष्ट्रिय समाजवादी पार्टी अर्थात नाजी पार्टी इसाई अतिवादीको समूह थियो जसले प्रत्यक्ष अप्रत्यक्ष संलग्न भएर सन् २०४१ देखि  सन् १९४५ सम्म साठी लाख यहुदीको नरसंहार गरेको थियो। इसाई अतिवादीले गरेको यो मानव इतिहासमा सबै भन्दा ठुलो नरसंहार थियो। तर बिबिसीमा १९३० मा चार जना युरोपेलीलाई चक्कु प्रहार गरिएको कुरा बौद्ध धर्मसंग जोडिएको पाइन्छ तर साठी लाख हत्या गर्ने इसाई अतिवादीको समूहलाई  केवल ‘ नियो नाजी’ मात्र लेखेको पाइन्छ ! अर्मानी कोटको राम्रो पक्षको मात्र गुनगान गाउने, अर्मानीको कोटमा खराबी देखिए सबै कोटलाई समेट्ने शब्द प्रयोग गर्ने र यदि अन्य ब्राण्डका कोटमा खोट देखिए नाम तोकेरै प्रचारमा ल्याउने ! यसो गर्नाले ग्राहकको मनमा अर्मानीको कोट अति गुणस्तरिय रहेछ, बाँकी सबै झुरपत्तास रहेछन भन्ने पर्छ। ग्राहक बढाउन सजिलो हुन्छ।

जुन सुकै धार्मिक सम्प्रदायमा राम्रा मान्छे पनि हुन्छन नराम्रा मान्छे पनि हुन्छन। तर बिबिसीले एउटा धार्मिक सम्प्रदायलाई काखी च्यापेर दुधले धोएको बनाउन खोजेको छ। समाचारमा सत्यता, सन्तुलन र विश्वसनीयता हुनुपर्छ, सिकारु पत्रकारलाई समेत थाहा हुन्छ तर यहाँ समाचार दिने संगठन नै असन्तुलित देखियो। कर्पोरेट न्युज एजेन्सीहरू बिज्ञापनदाताबाट प्रभावित हुन्छन भनिन्छ। बिबिसी अर्थात ब्रिटिश ब्रोड्कास्टिङ्ग कर्पोरेसन कोबाट प्रभावित होला ? त्यहि बेलायतको कुटनीतिज्ञ मर्यादा मिचेर धर्म परिवर्तनलाई संबिधानमै लेख्नु पर्छ भनेर वकालत गर्ने, त्यहि बेलायती समाचार संस्था एउटा सम्प्रदायलाई काखी च्याप्ने ! संयोग मात्र होला त ? यहि बिबिसीले नेपालको सबै भन्दा महँगो टेलिभिजन कार्यक्रम बनाउँदो रहेछ, कुन किसिमको प्रोपोगान्डाको निम्ति त्यति खर्च गर्दो होला ? सोंचनीय छैन यो बिषय ? लेखक ः मौलिक जरोकिलोपार्टीका अध्यक्ष हुन्।