काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धन एकैठाउँ उभिने भएका छन् । यसबारे निर्णय लिन शनिबार ११ बजे गठबन्धनमा सहभागी दलहरूकाे संयुक्त बैठक बस्दै छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादीकाे बाबुराम-उपेन्द्र पक्ष र नेकपा एमालेकाे माधव पक्षका साथै राष्ट्रिय जनमोर्चाको संयुक्त बैठक बस्न लागेको हो । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्न लागेकाे बताइएकाे छ ।
मध्यरातमा प्रतिनिधि सभा विघटन भएर चुनाव घाेषणा भएपछि उक्त कदम असंवैधानिक रहेकाे भन्दै ती दलका नेताहरूले विराेध जनाइरहेका छन् । महामारीका बेला मुलुक चुनावमा जान नसक्ने उनीहरूकाे ठहर छ ।
शुक्रबार संविधानको धारा ७६ (५) बमोजिम सरकार गठन हुन नसकेकाे भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा भंग गर्नुभएकाे थियो । उक्त कदम संविधान मास्ने खेल भएकाे भन्दै विपक्षी गठबन्धनले प्रतिवाद गर्ने चेतावनी दिएको छ । बैठकले थप निर्णय गरेर अघि बढ्ने बताइएकाे छ ।