चुनावबाट ब्याक हुन आफूलाई धम्की आएको खिमलाल देवकोटाको खुलासा

283

बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित खिमलाल देवकोटाले चुनावबाट ब्याक हुन आफूलाई धम्की आएको खुलासा गरेका छन् । यद्यपी त्यस्तो धम्की र दवाव कसबाट आएको भन्ने चाहिँ उनले खुलाएका छैनन् ।

‘व्यक्तिगत रुपमा मलाई चुनावबाट ब्याक हुन धेरै जनाले फकाए/थर्काए । समयक्रममा आवश्यकता परेमा नाम भन्दै गरौँला । कसै कसैको त भ्वाइस रेकर्ड नै राखेको छु’, देवकोटाले आइतबार सामाजिक सञ्जालमार्फत खुलासा गरेका छन्, ‘ तर म अडिग रहेँ । विचलित भएको भए मेरो मात्र हैन म जस्ता स्वतन्त्र रुपमा कलम चलाउने वुद्धिजीवीहरुको इज्जत प्रतिष्ठा जाने थियो । हामी कलंकित हुने थियौँ ।’
उनले लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले आफू जस्ताबाट केही सिक्दा राम्रै हुने भन्दै चुनौति पनि दिएका छन् ।  ‘बोलेपछि, सही गरेपछि, वचनबद्ध भएपछि पुरा गर्नुपर्दछ । भागेर, लुकेर, जालसाजी गरेर केही समय त टिकिएला । तर बुझ्न जरुरी के पनि छ भने हामी जस्ता युवाहरुले लामो यात्रा गर्न बाँकी नै छ ।’
उनले निष्ठा र इमानदारिताको राजनीतिबाट भागेर नहिँड्न सुझाव दिँदै बोली र इमानमा कटिबद्ध हुनुपर्नेमा जोड दिएका छन् । जेठ ६ गते भएको उपचुनावमा उनले एमालेका उम्मेदवार रामबहादुर थापालाई पराजित गरेका थिए ।