महन्त ठाकुरको माग पुराः जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउने

489
फाईल तस्विर प्रधानमन्त्री केपी ओली र जसपाका अध्यक्ष महन्त ठाकुर .

काठमाडौं । जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र राजेन्द्र महतो लगाएतले राखेको माग केपी ओली नेतृत्वको सरकारले पुरा गरेको छ । आज जन्मसिद्धका आधारमा नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले वंशजको आधारमा नागरिकता पाउने भएका छन् ।

प्रतिनिधिसभामा नागरिकतासम्बन्धी विधेयक विचाराधीन रहेका वेला मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार ‘नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, २०७८’ जारी गरेकी हुन् । जसअनुसार जन्मका आधारमा जन्मसिद्धका नागरिकता प्राप्त गरेका व्यक्तिका बालिक भइसकेका छोराछोरीले वंशजको नागरिकता पाउने भएका हुन् ।

राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको उल्लेख छ ।

विशेषगरी जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउन र उसको साथ पाउनकै लागि प्रधानमन्त्रीको दबाबमा मन्त्रिपरिषद्को बैठकले जेठ ६ गते राष्ट्रपतिसमक्ष अध्यादेश पेस गरेको थियो । सरकारले पठाएका विषय जस्ताको त्यस्तै राखेर अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयका एक कर्मचारीले जानकारी दिएका छन् ।

सरकारले ‘जन्मसिद्ध’ (जन्मको आधारमा नागरिकता लिएका) नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने विषय समेटेर अध्यादेश राष्ट्रपतिकहाँ पठाएको थियो । त्यस्तै बाबुको पहिचान नभएका सन्तानलाई आमाको नामबाट वंशजका आधारमा नागरिकता दिइने प्रावधान पनि समेटिएको छ ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक दुई वर्षदेखि प्रतिनिधि सभामै विचाराधीन छ । संसद् सञ्चालन हुँदा टुङ्गोमा नपुगेको यो विषयलाई सरकारले अध्यादेशमार्फत कार्यान्वयनमा ल्याएको छ ।

जन्मसिद्धका आधारमा नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले वंशजको आधारमा नागरिकता पाउने गरी अत्याधेश ल्याएपछी सबैले सरकारको विरोध गरेका छन् । केपी ओलीको नांगो राष्ट्रियता रहेको भन्दै सामाजिक सञ्जालतमा तिव्र विरोध गरेका छन् ।