अक्सिजन प्लान्ट बनाउन पत्रकार महासंघद्धारा गुल्मी अस्पताललाई ६० लाख प्रदान

149

गुल्मी । जिल्लामा अक्सिजन अभावका कारण नागरिकको ज्यान जान थालेपछी अक्सिजन अभियानमा एकजुट भएका गुल्मेली पत्रकारले गुल्मी अस्पताललाई रु. ६० लाख प्रदान गरेका छन् ।

सोमबार गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेय र मेसु डाक्टर उत्तम पच्यालाई पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालसहितका पत्रकारहरुले रु. ६० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । पत्रकार महासंघ गुल्मीले जिल्लामा २५ बैशाखबाट अक्सिजन अभियान सञ्चालन गरेको थियो ।

अभियानबाट संकलन भएको रु. ५० लाख र जिल्ला समन्वय समिति गुल्मीले पत्रकार महासंघलाई प्रदान गरेको रु. १० लाख गरी ६० लाख रुपैयाँको चेक अक्सिजन प्लान्ट निर्माणको लागि अस्पताललाई प्रदान गरिएको अभियान्ता तारा भुसालले जानकारी दिए ।

पत्रकार महासंघले केही समय अघि अक्सिजनको अभाव बढेपछि पाँच लाख रुपैयाँ बराबरको ग्याससहितका २० वटा ठूला अक्सिजन सिलिन्डर अस्पताललाई प्रदान गरेको थियो ।

अहिले पनि सिलिण्डर भर्ने काममा महासंघले सहजीकरण गरिरहेको शाखाका सचिव प्रेम सुनारले बताए । उनले त्यो बाहेक महासंघको आइसोलेशनमा रहेका सिलिण्डर समेत तत्काल अस्पताल र बिरामी बाहिर रेफर गर्नुपर्ने अवस्थामा प्रदान गर्ने गरिएको बताए ।

पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्यालले सरकारसँग समुदाय साझेदारी गरेर प्लान्ट निर्माणको काम थालिएको बताए । उनले अहिलेको कोभिडलाई मात्रै नभएर केही समयमै निर्माण हुने सय बेडको अस्पताल, स्थानीय तहहरुमा निर्माण हुने १५ शय्याको अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीहरुको अक्सिजन आपुर्तीलाई ध्यान दिएर डेढ करोड बढीको अक्सिजन प्लान्ट सञ्चालन गर्न थालिएको जानकारी दिए ।

अर्यालले अभियानमा जस्तै महासंघले अविलम्ब प्लान्ट सञ्चालनमा पनि दबाव सिर्जना गर्ने बताए । अभियान समन्वय समिति संयोजक जनार्दन घिमिरेले सरकारी खरिद प्रक्रियाको ढिलासुस्ती प्रति नागरिकले शंका रहेकाले अक्सिजन सुनिश्चता नहुने बेलासम्म अभियान र दबावसँगै अगाडी लैजाने बताए ।

यो अभियानमा देश तथा बिदेशबाट करिब ७० लाख रुपैयाँ संकलन भएको शाखाका सचिव सुनारले जानकारी दिए । गृहको निर्देशन र बैंकहरु बन्द भएकाले बोल रकम पनि उठन समस्या भएको भन्दै उनले तत्काल पठाउन बाँकी रकम जम्मा गरेर सहयोग गर्न सबैलाई आग्रह गरे ।

गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि नेपाल सरकारले एक करोड र आइसियुको लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पहलमा उक्त रकम विनियोजन भएको हो ।

गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले पत्रकारहरुले देशमै नमुना काम गरेको बताए । उनले पत्रकारले लेख्ने र आलोचाना मात्रै गर्दैनन् नागरिकको सुःख दुःख र महामारीमा सँगै छन् भन्ने सन्देश दिएको बताए ।

उनले एक हप्ते सूचना प्रकाशन गरेर यथाशिघ्र प्लान्ट स्थापना गर्ने प्रतिक्रिया दिए । राजनैतिक दलहरुको तर्फबाट कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठ, एमाले नेता कृष्ण सुनार, हिरा एसी, माओवादी केन्द्रका नेता विर बहादुर कार्कीलगायतले पत्रकारले सञ्चालन गरेको अभियानले राज्यको समेत आँखा खोल्दिएकोमा उच्च प्रशंसा गरे ।