स्वास्थ्यकर्मी कुटपिटमा संलग्नलाई कडा कारवाही गर्न तरुण दलको माग

333

काठमाडौं । नेपाल तरुण दलले स्वास्थ्यकर्मी कुटपिटमा संलग्नलाई कारवाहीको माग गरेको छ । अध्यक्ष जितजंग बस्नेतले शुक्रवार विज्ञप्ति जारी गरेर बाँकेको नेपालगंजस्थित भेरी अस्पतालमा कार्यरत डाक्टर र नर्सहरुमाथि आक्रमणको निन्दा गर्दै महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमा दिनरात नभनी हरपल खटिरहेका बेला दुर्व्यवहार, अवहेलना र आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानबिन गरी आक्रमणमा संलग्न जोसुकै होस कारबाहिको दायरामा ल्याउन र अग्रपंक्तिमा रहेका सेवाकर्मीको मनोबल वृद्धि हुने कार्य अघि बढाउनका निम्ति सरकार समक्ष नेपाल तरुण दल केन्द्रिय समिति जोडदार माग गर्दछ।’

दलले कोरोना महामारीको विषम परिस्थितिमा समाजको अग्रपंक्तिमा रहि जोखिमपूर्ण अवस्थामा पनि अनवरत रुपमा सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ता प्रति उच्च सम्मान समेत प्रकट गरेको छ ।