गणतन्त्रको शुभकामना

97

बुटवल ।

गणतन्त्रले १३ औँ वसन्त पूरा गरिसक्दा

ज्युँका त्युँ छन् जनताका समस्या

नेपाली राजनीतिका रैथाने शासकहरू

मोजमस्ती र दर्शन भेटमा व्यस्त छन्

जनताहरू रोग,भोक र शोकले छटपटाइरहेका छन्

जनसेवकहरू सत्तामा पुग्ने सिँढी खोजिरहेका छन्।

 

आफनो स्वार्थ पूरा गर्न

आफ्नो पहिचान र व्यक्तित्वको बिक्री अनि

प्रतिष्ठा र जनताको अभिमत लिलामलाई

आफ्नो गौरव र जित ठान्नेहरू

साबधान ! गणतन्त्र तिम्रा लागि

ससुरालीको मिष्ठ भोजन होइन ।

 

आफ्नै घर भत्काउन लागी पर्ने अनि

प्रतिशोध पूरा गर्न अर्काको घरमा बसेर

द्वन्द्वको बीज रोप्ने शकुनीहरू

आफैँ जन्मेको कोखमा छुरा रोपेर

छिमेकीलाई मातृ स्नेहले सिँचित गर्ने

अन्धतालाई वरदान साबित गरी

अन्यायलाई अनुमोदन गर्ने धृतराष्ट्रहरू ।

 

के साँच्चै गणतन्त्र तिम्रा लागि मात्रै हो ?

मन नभएका

रुप,आकार र स्वभाव फेरिरहने

हृदय र मस्तिष्क नभएका

मानव आकार भएका अमानवका लागि मात्र हो ?

खै किन बोल्दैनौ ?

बोल्दैन कोही चाटुककार

किनकि ऊ चाकडी मै लिप्त छ

कतै पाएको पद खोसिन्छ कि भन्ने डर ।

खै किन उत्तर दिदैनौ ?

के दिनु जवाफ जनतालाई

किनकि उसले जनताको अभिमत र

इमानदारीको शपथलाई बेचिसकेको छ।

 

रोग, भोक र शोकले जनता आजित हुँदा

तिम्रो गणतन्त्र

औषधी बन्न सकेन

अक्सिजन बनेर प्राण दिन सकेन

जनताको उपचार बन्न सकेन

शान्ति, सद्भाव र समृद्धि हुन सकेन

पीडामा लगाउने मलम हुन सकेन ।

त्यसैले मेरो गणतन्त्र

औषधी, उपचार बनेर आओस्

अक्सिजन र संजीवनी बुटी बनेर आओस्

विकास र शान्ति बनेर आओस्

हरेक जनताका पीडा शमन गर्ने शक्ति बनेर आओस्।

छल, स्वार्थ, कपट, प्रतिशोध त्यागेर

जनताको सेवक बनेर आओस्।

यही शुभकामना छ गणतन्त्र दिवसको।

रचनाकार

उप प्रा.डा. शालिकराम पाैड्याल

वुटवल वहुमुखी क्याम्पस