अधिकारी दम्पतीद्वारा नमूना अस्पताल सुन्दरबजारलाई स्वास्थ्य सामाग्री सहयोग

357

काठमाडौँ, १४ जेठ । समाजसेवी एवम् युवा व्यवसायी कृष्णप्रसाद अधिकारी दम्पत्तीले नमूना सामुदायिक अस्पताल सुन्दरबजार लमजुङलाई स्वास्थ्य सामाग्री सहयोग गनुभएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै सुन्दरबजार नगरपालिका– १ कुञ्छा निवासी समाजसेवी एवम् युवा व्यवसायी अधिकारी र उहाँकी श्रीमती अनुपमा शर्माले लमजुङको सुन्दबजारमा रहेको नमूना सामुदायिक अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको हो ।

एक दशकदेखि अमेरिकाको कोलोराडोमा छोराछोरीसहित बस्दै आउनुभएका अधिकारी दम्पत्तीले कोरोनाको समयमा दुःख गरेर कमाएको रु एक लाख १० हजार रकम बराबरको स्वास्थ्य सामाग्री उक्त अस्पताललाई सहयोग गर्नुभएको हो । अधिकारी दम्पत्तीले उक्त अस्पताललाई अक्सिजन सिलिण्डर, पल्स अक्सिमिटर, पिपिई, माक्स र ग्लोब्सलगायतका स्वास्थ्य सामाग्री खरिदका लागि नगद रकम सहयोग गर्नुभएको हो ।

“दोस्रो चरणको कोरोनाका कारण नेपालमा ठूलो स्वास्थ्य सङ्कट आएको बेलामा आफूले थोरै भएपनि राहत पु¥याउने उदेश्यले उक्त रकम सहयोग गरेको हो,”– अधिकारीले भन्नुभयो । उहाँले मातृभूमीमा समस्या परेको बेलामा सबैलाई आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न आग्रह समेत गर्नुभएको छ । अधिकारी दम्पत्तीले यसैसाता अमेरिकाको कोलोराडोमा निर्माण गर्न लागिएको नेपाली सांस्कृतिक केन्द्रलाई समेत नगद सहयोग गर्नुभएको छ । नेपाली कला तथा संस्कृतिको विकास र विस्तार गर्ने उदेश्यले निर्माण गर्न लागिएको उक्त केन्द्रको लागि सात हजार ५०० युएस डलर अर्थात् नेपाली रु आठ लाख बराबर सहयोग गर्नुभएको थियो ।