दोष केमा ? गणतान्त्रिक व्यवस्था वा पात्र !

179

 कृष्णप्रसाद भण्डारी

जनताबाट निर्वाचित प्रतिनिधिहरूबाट सञ्चालित राजनीतिक व्यवस्था नै गणतन्त्र हो । यसमा स्थानीयदेखि केन्द्रीय तहसम्म पनि जननिर्वाचित प्रतिनिधिले नै नेतृत्व गर्दछन् । राजनीतिक व्यवस्थाका हिसाबले यसलाई उत्तम व्यवस्था मानिन्छ, किनभने यो व्यवस्थामा पूर्णत: जनताको शासन चल्छ ।

प्रत्येक जनताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाउँछन् । आफूले चाहेको व्यक्तिलाई चयन गरेर नेतृत्वमा पुर्याउने अवसर जनतालाई हुन्छ । कुनै पनि व्यक्तिले स्वविवेक प्रयोग गरी कसैको दबाब, प्रभाव र प्रलोभनमा नपरी आफ्नो अमूल्य मताधिकारको सदुपयोगद्वारा नै आफूले चाहेजस्तो, खोजेजस्तो र रोजेजस्तो प्रतिनिधि छनोट गर्न सक्छ । त्यही बाटोबाट नै संविधान, ऐन र नीतिनियममा भएका व्यवस्थामा पनि संशोधन गर्न सक्छ ।

आफूले छनोट गरेको प्रतिनिधिले स्वार्थरहित ढङ्गले जनताको मनोभावना अनुरूप काम नगरेको खण्डमा आवधिक निर्वाचबाट पराजित गर्न सक्छ । तसर्थ गणतन्त्रको अर्को सुन्दर पक्ष आवधिक निर्वाचन हो ।
तर, गणतन्त्र आएको एक दशकभन्दा बढी भइसक्दा पनि जनताले त्यसको प्रत्याभूत गर्न सकेका छैनन् ।

जनतामा जुन आशा र अपेक्षा थियो, त्यो धनात्मक हुँदै जानुपर्नेमा ऋणात्मक बनेको देखिन्छ । यद्यपि केही नभएको भने होइन तर पनि अपेक्षाकृत रूपमा हुन सकेको पटक्कै छैन । पछिल्ला दिनमा त झनै गणतन्त्रप्रति नै निराशा पलाएको देखिन्छ । व्यवस्थामाथि नै प्रश्नचिह्न उठिरहेका छन् । यसमा सबैभन्दा बढी जिम्मेवार त गणतन्त्रवादी नै हुनुपर्छ ।

अत्यन्त दुःखको कुरा त के छ भने गणतन्त्रको आवरणमा यहाँको संस्कृति, संस्कार, धर्म, भाषा र परम्परामा समेत असह्य आक्रमण भइरहेको छ । संविधानविपरीत दिनानुदिन धर्मान्तरणको सङ्ख्या बढ्दै गइरहेको छ । नेपालको मौलिक संस्कृति, संस्कार र परम्परालाई खोजअनुसन्धान, संरक्षण र सम्वद्र्धन गर्नुपर्नेमा विदेशी अन्धानुकरण मात्र मौलाएको छ ।

अझ भन्ने हो भने देशको कार्यकारी व्यक्तिले आफ्नो परम्परा र संस्कृतिका पक्षमा बोल्दा चौतर्फी हमला हुन्छ । अधिकांश नेपालीको आस्थाको धरोहर, देशको महत्त्वपूर्ण सांस्कृतिक सम्पदा पशुपतिनाथको पुनर्निर्माणमा केही करोड मात्र बजेट दिँदा पनि नागरिक समाजकै आवरणमा धावा बोलिन्छ । महत्त्वपूर्ण मानिएका मिडियाबाटै हमला गरिन्छ । यो के संस्कृतिमाथिको आक्रमण होइन ? देशभित्रका सांस्कृतिक सम्पदाको संरक्षण गर्नु राज्यको दायित्व होइन ? कैयौँ चर्च बनिरहेको मस्जिद बनिरहेको सुइँको नपाउने नागरिक समाज र मिडियालाई मन्दिरको पुनर्निर्माण गर्दा किन टाउको दुख्छ ? ती मिडिया कोबाट सञ्चालित छन् ? ती नागरिक समाज भनिएकाहरू कोबाट पालित छन् ? जुन जुन देशमा जतिपटक क्रिश्चियनका सम्मेलन हुन्छन्, ती सबै ठाउँमा पुग्न भ्याउने वरिष्ठ भनिएका नेतालाई आफ्नो देशमा एउटा मन्दिर बन्दैमा किन निद्रा लाग्दैन ? यी आम प्रश्नहरू जनताको मनमा खेलिरहेकै होलान् ।

राजनीति सबैभन्दा ठूलो सामाजिक सेवा हो । नीतिहरूमा श्रेष्ठ नीतिको निर्माण र कार्यान्वयन गर्नु सानो काम पक्कै पनि होइन । व्यक्तिगत स्वार्थ र लाभलाई छोडेर सामाजिक स्वार्थ र लाभका निम्ति गरिने काम हो राजनीति । त्यसैले राजनीति गर्ने पात्रको मनोवृत्ति स्वच्छ हुनुपर्छ । अन्यथा राजनीति नभई लाभनीति र स्वार्थनीति बन्न पुग्दछ । अहिले देखिएको राजनीतिक सङ्कटको कारण विद्यमान व्यवस्था होइन, राजनीतिक पात्रहरूको कुत्सित मनोवृत्ति हो । भाषण र कुरा संविधान, ऐन, नीति, नियम, विधि र पद्धतिका गर्ने तर व्यवहारतः असंवैधानिक, ऐन, नीति र नियम विपरीत, लोकतान्त्रिक विधि र पद्धतिलाई खिल्ली उडाउने प्रवृत्ति नै यसको कारक तत्त्व हो ।

देशमा महासङ्कट आएको बेलामा सम्पूर्ण राजनीतिक दलहरू एकजुट भएर जनताको जीवन रक्षार्थ जुट्ने बेलामा नेपाली जनतालाई होइन, विदेशी शक्तिलाई ‘कम्फर्टेबल’ सरकार बनाउनुपर्छ भन्दै मिडियाबाट आह्वान गर्नु र त्यसकै लिप्सामा अनवरत लाग्नु गणतन्त्रको महान् उपलब्धि हो ? अथवा दलीय व्यवस्थामा निर्दलीयताको अभ्यास गर्न खोज्नु, संसदीय व्यवस्था विपरीतका अनैतिक गतिविधिमा लाग्नु, दलीय अनुशासन र मर्यादा विरुद्धका क्रियाकलाप गर्नु, अनुचित र अवैधानिक तबरले सत्ताप्राप्तिको धन्दामा लागिरहनु, जनताका आकाङ्क्षा, आवश्यकता र समस्याप्रति उदासीन हुनु, विचार र सिद्धान्तलाई चटक्कै छोडेर अपवित्र गठबन्धनमा लाग्नु जस्ता क्रियाकलाप गणतान्त्रिक हुन् ? पक्कै पनि होइनन् ।

पाँच वर्षको स्थिर सरकार संविधानको मर्म र जनचाहना हो । यसविपरीत गतिविधि गर्न र देशमा पुरानै इतिहास दाहोर्याउन उद्यत नेताहरूको कार्यशैलीलाई जनताले अवश्य पनि लेखाजोखा गर्नेछन् । यद्यपि परिस्थिति र आवश्यकताअनुरूप अहिले निर्वाचन उपयुक्त होइन तथापि विद्यमान राजनीतिक सङ्कट समाधानको विकल्प अर्को देखिन्न ।

यो अवस्था राजनीतिक नेताहरूको गैरजिम्मेवारीपन, सत्तास्वार्थ, अदूरदर्शिता र असक्षमताको परिणाम हो । राजनीतिक पात्रहरूको वचन र व्यवहारमा सामञ्जस्य नभएसम्म व्यवस्थाले मात्र केही हुँदैन भन्ने कुरा परिपुष्टि भइसकेको छ । अबको निर्वाचनमा जनताले यसको समीक्षा गरी स्वविवेकको अधिकतम प्रयोग अवश्य गर्नेछन् ।

राजनीतिमा क्रियाशील सत्पात्रहरू अग्रसर भएर गणतन्त्रको समुचित अभ्यास गर्नु वा गराउनु र जनतालाई साँच्चिकै गणतन्त्रको प्रत्याभूति दिलाउन सक्नु नै अहिलेको अपरिहार्यता हो । जनताले अनुभूत गर्न पाउने गणतान्त्रिक व्यवस्था स्थापित होस् । शुभकामना ! लेखक अनेरास्ववीयु केन्द्रीय सदस्य हुन् ।