राज्यले नचिनेको शैक्षिक क्षेत्र

368

-अनन्तप्रसाद घिमिरे ,  जवसम्म राज्यले शिक्षा क्षेत्रलाई महत्वपूर्ण र संबेदनशील क्षेत्रका रुपमा स्वीकार गर्दैन तबसम्म त्यो देश विधि र पद्धतिको बाटोमा हिड्न सक्दैन । जब विधि र पद्धतिको मार्ग छाडेर आफुखुशी हिड्छ त्यो गन्तव्यमा त पुग्न सक्दैन नै बरु भयंकर दुर्घटनामा पर्ने कुरामा शंका गर्नु पर्दैन।

राज्यले सामुदायिक विद्यालयका शिक्षकलाइ हेर्ने दृष्टिकोण विभेदयुक्त छ भनेर बुझ्नु जरुरी देखिन्छ । यस्तो प्रकारको विभेदको जरो खोज्दै जांदा सबैभन्दा पहिले विद्यालयमै पुग्नुपर्ने देखिन्छ। विद्यालयभित्रै शिक्षक शिक्षकका विच पनि विभेद भएको गुनासो शिक्षक साथीहरुबाटै सुन्न र बुझ्न् पाइन्छ। स्थायी शिक्षकले अस्थायी शिक्षकको अस्तित्व स्वीकार नगर्ने र अस्थायी शिक्षकहरुले राख्ने मागहरुमा टाउको दुखाउने जस्ता सन्दर्भहरुलाइ पनि स्मरण गर्नु आवश्यक छ।वालविकास सहयोगी कार्यकर्ता ,विद्यालय कर्मचारी तथा अन्य नीजी स्रोतका शिक्षकहरुले विगत लामो समयदेखि न्यून तलबमा काम गरिरहेको अवस्थामा आर्थिक रुपले सम्पन्न विद्यालयहरुले पनि पारिश्रमिक थप गरेर उनीहरुलाइ हाैसला तथा सम्मान गरेको विरलै सुन्न पाइन्छ ।जिम्मेवारिका सवालमा पनि झिनो आर्थिक फाइदा हुने कार्यमा समेत अस्थायी शिक्षकहरुलाइ पन्छाइएको अस्थायी शिक्षकहरुको गुनासो सुनिन्छ । न्यूनत्तम शैक्षिक योग्यतामात्रै होइन गुणस्तरीय शिक्षा तथा आधुनिक ढङ्गले शिक्षा दिने सन्दर्भमा पनि अस्थायी शिक्षकहरु अब्बल छन् भन्नेकुरा हामी सबैलाई अवगत नै छ।यति हुँदाहुँदै पनि त्यो यथार्थ स्वीकार गर्न नसक्नु कतै हाम्रै कमजोरी त होइन? राज्यले त शिक्षकलाइ विभिन्न प्रकारमा फुटाएर आफ्नो स्वार्थपुर्ति गरिरहेको छ र गर्न चाहन्छ तर आफुलाइ निकै जानेको र बुझेको ठान्ने हामी शिक्षकहरुभने आपसमा विभक्त भइ एकअर्कामा दोषारोपण गर्न भ्याइनभ्याई छ।

शिक्षकहरुका पेसागत हक अधिकारका सवालहरुको जिम्मा लिने शिक्षक संघसंगठनहरु, शिक्षक महासंघ लगायत सरोकारवाला निकायहरुले पनि शैक्षिक क्षेत्रमा अपेक्षाकृत उपलब्धि प्राप्त गराउन सकेको देखिदैन। विगत लामो शैक्षिक इतिहासलाई हेर्दा विद्यालय र शिक्षक सधै हेपिएको अवस्थामा रहेको देखिन्छ ।प्राचीन गुरुकुलीय शिक्षा पद्धतिदेखि सिधा मानो उठाउदै जीविकोपार्जनमा सीमित हुने परम्परा अझै हट्न सकेको छैन ।त्यो बेलाको शिक्षकलाइ गुरुका रुपमा हेरिन्थ्यो भने अहिले शिक्षण सस्थालाइ व्यापारिक केन्द्र र शिक्षकलाइ व्यापारिका रुपमा हेर्न थालिएको छ तर न सम्मान न समयानुसारको उचित पारिश्रमिकमा चित्त बुझाउनुपर्छ आजको शिक्षकले।वार्गेनिङ् गर्दा वालबच्चाले एउटा चक्लेट पाउँदा खुशी भएजस्तै खुशी भएको छ आजको शिक्षक। नहोस् पनि कसरी आफैले आदर्श मानेर चुनाबमा उसैको झोला बोकि जिताएर बाड्ने ठाउँसम्म पुर्य्याउने अर्थात् सिढीको भूमिका निर्वाहको जिम्मा पनि शिक्षकमै रहेको अवस्था छ।

अहिले निजामति कर्मचारी र शिक्षकका वीचमा विभेद भएको विषयलाई असन्तुष्टिका रुपमा सामाजिक सन्जालमा पोखिएको छ। यस्तो हरेक वर्षको बजेट भाषण पछि गरिन्छ तर त्यस विषयलाई लिएर सम्बन्धित मन्त्रालय,विभाग तथा निकायहरुसग वाैद्विक एवम् तार्किक बहस गर्ने कुरामा शैक्षिक नेतृत्वहरु चुकेको देखिन्छ । यदि यी कुराहरु मान्न तथा स्वीकार नगर्ने हो भने शिक्षा क्षेत्रका नेतृत्व वर्गले यी प्रश्नहरुको इमानदार भएर उत्तर दिनु आवश्यक छ:

• शिक्षक सेवा आयोगलाई संबैधानिक आयोग किन बनाउन सकिएन ?

• लोकसेवा आयोगले जस्तै शिक्षक सेवा आयोगले पनि प्रत्येक वर्ष स्थायी पदपूर्तिका लागि विज्ञापन खोल्न कसले रोक्यो ?

•निजामति कर्मचारीसरह शिक्षकको पनि सेवा सुविधा हुनुपर्छ भन्नेले शिक्षक- शिक्षकका बीचमा भइरहेको विभेदलाइ किन अस्वभाविक ठानिएन?

•जीवनको उर्वर समय शिक्षा क्षेत्रमा बिताउने अस्थायी बनाइएका शिक्षक कर्मचारीहरुलाइ सम्मानजनक रुपले विदाइ गर्ने दिशामा देखिने गरि ठोस काम किन गरिएन?

•लामो समयदेखि प्रतिक्षा गरिएको शिक्षा ऐन ल्याउन आवश्यक दवाब किन दिन सकिएन?

•राज्यका सम्पूर्ण कर्मचारीले कोरोनाविरुद्धको खोप पाइसक्दा पनि शिक्षकले आजसम्म किन पाउन सकेनन् ?

•अग्रपंक्तिमा रहेर काम गर्ने कैयौं शिक्षकहरुले ज्यान गुमाइसकेका छन् भने कतिपय शिक्षकहरु अस्पतालको शैय्यामा छटपटाइ रहेका छन् ,तिनीहरूका सन्दर्भमा शैक्षिक नेतृत्वले के गर्न सक्यो ?

•२०५१ सालदेखि नियुक्त साविक उ.मा.वि. शिक्षकहरुको व्यवस्थापन गर्ने सन्दर्भमा किन काम हुन सकेन?

•निजामति अस्पताल, आवास, सन्तानहरुको लागि छुट्टै विद्यालय, काज सहितको भ्रमण भत्ता आदि सुविधा दिइदै गर्दा शिक्षक पनि राज्यको महत्त्वपूर्ण अभियन्ता हो भनेर किन बुझाउन सकिएन?

यी र यस्ता अनेकौं प्रश्नहरुमा जवसम्म शिक्षा क्षेत्रका नेतृत्व वर्गहरु माैन रहने अवस्था आउँछ तबसम्म शिक्षक र शैक्षिक क्षेत्रका समस्याहरु यथावत् रहने कुरामा कुनै दुइमत छैन। जय होस।।

लेखक: श्री कृष्ण मा.वि.पाणिनी-५का शिक्षक हुन् ।