‘मजस्ता कहिलेसम्म फेल हुने ? सधैं भाग्न मन लाग्ने जाँचमा कहिलेसम्म परिरहने ?’ डा. अनुप सुवेदीले सार्वजनिक गरे कोभिडले गिजोलिएका परिवारका पीडा

218

‘हजुरबालाई अर्को अस्पतालमा भेन्टिलेटरमा रहेकी श्रीमतीको चिन्ता छ । वास्तवमा हजुरआमा बितिसक्नुभएको उहाँलाई सुनाइएको छैन, परिवारसँगको सल्लाहमा । अझै निकै अक्सिजन चाहिने हजुरबा सधैं मलाई डिस्चार्ज गरिदिनू न डा. साब भन्नुहुन्छ ।’

००००

‘अर्का बा बिस्तारै तङ्ग्रिदै हुनुहुन्छ । उहाँलाई पनि भाइको भर्खर मृत्यु भएको सुनाइएको छैन ।’

००००

‘अर्का बा–आमा दुवैजनालाई कोभिड । एकजना कान पटक्कै नसुन्ने, अर्कोले बुझाइदिनुपर्ने । छोराको अर्को अस्पतालको आइसियुमा मृत्यु भएको खबर कान सुन्ने चाहिलाई सुनाइयो । उहाँले जीवनसाथीलाई बताउन सक्नुभएन । २ दिनदेखि आँसु लुकाउँदै रोइरहनुभएको छ ।’

००००

ह्याम्स अस्पतालमा कार्यरत डा. अनुप सुवेदीका पङ्क्ति हुन् यी । कोभिडले गिजोलेका परिवारका दृष्यांश उनले सामाजिक सन्जालमा शव्दमा उतारेका हुन् । पीडित परिवारलाई सान्त्वना दिनेसमेत भेउ नपाएर पूरै निरीह भएको उनले उल्लेख गरेका छन् ।

डा. सुवेदीले लेखेका छन्, ‘यस्तो बेलामा कसरी सान्त्वना दिने केही भेउ नपाएको, पूरै निरीह मजस्ताले कहिलेसम्म यस्तो सधैं फेल भइने, सधैं भाग्न मन लाग्ने जाँचमा परिरहनुपर्ने होला ?’

डा. सुवेदीले सामाजिक सन्जालमा यस्तो लेखेका छन्–

१. हजुरबालाई अर्को अस्पतालमा भेन्टिलेटरमा रहेकी श्रीमतीको चिन्ता छ । वास्तवमा हजुरआमा बितिसक्नुभएको उहाँलाई सुनाइएको छैन परिवारसँगको सल्लाहमा । अझै निकै अक्सिजन चाहिने हजुरबा सधैं मलाई डिस्चार्ज गरिदिनू न डा. साब भन्नुहुन्छ ।

२. अर्का बा बिस्तारै तङ्ग्रिंदै हुनुहुन्छ । उहाँलाई पनि भाइको भर्खर मृत्यु भएको सुनाइएको छैन ।

३. अर्का बा–आमा दुवैजनालाई कोभिड । एकजना कान पटक्कै नसुन्ने, अर्कोले बुझाइदिनुपर्ने । छोराको अर्को अस्पतालको आइसियुमा मृत्यु भएको खबर कान सुन्ने चाहिंलाई सुनाइयो । उहाँले जीवनसाथीलाई बताउन सक्नुभएन । २ दिनदेखि आँसु लुकाउँदै रोइरहनुभएको छ ।

४. ५–६ दिनअघि डिस्चार्ज भएर जानुभएकी आमा ओपिडीमा फलोअपमा । रातभरि सुत्नुहुन्न भनेर छोरीले भन्छिन् । अरू लक्षण छैनन् । जाँच्दा सबै राम्रै छ । म उल्लू ‘आमा, अझै रोगदेखि डराइरहनुभएको छ कि ? अब त डराउनुपर्दैन, अब बाँचियो है’ भन्छु ।

आमाले ‘खै आफू मात्र बाँचेर के गर्नु बाबु, उहाँले छोडेर गइहाल्नुभयो’ भन्दै बरर्र आँसु झार्नुहुन्छ । बा उहाँ अस्पतालमै हुँदै बित्नुभएको रहेछ ।

महामारीको अघिल्लो उभारको बेलाको एउटा अनुभवः

५. दाइ उमेरका उहाँ । खासमा झन् सिकिस्त उहाँकी श्रीमतीलाई पनि हाम्रै इमर्जेन्सीमा ल्याइएको रहेछ । तर आइसियुमा बेड नभएकाले भाउजूलाई चाहिँ अर्को अस्पतालमा रेफर गरिएको रहेछ । हरेक दिन राउन्डमा उहाँ मलाई लौन मेरी श्रीमतीलाई पनि यहीं आइसियुमा सार्न बेड मिलाइदिनोस् न भन्नुहुन्थ्यो । अन्यत्र बेडै नपाएका अरू सिकिस्त बिरामी पनि धेरै आइरहेका छन्, तिनलाई आइसियुमा प्राथमिकता दिनु परिहाल्छ, उता पनि तपाईंकी श्रीमतीको उपचार गर्ने राम्रो टिम होला, चिन्ता नलिनुहोस् भन्थें । निको भएर डिस्चार्ज हुने दिन दाइले भर्खर भाउजूको मृत्युको खबर पाउनुभएको रहेछ । रुँदै भन्नुभो– डा. साब, तपाईंले उसलाई यहाँ आइसियुमा सारिदिनुभएको भए ऊ पक्कै बाँच्थी ।

यस्ता बेलामा ती अथाह वेदनामा रहेकालाई के भन्ने ? समवेदना– जुन ‘सम’ कसैगरी हुनै सक्दैन– पनि कसरी दिने ?

यस्तो बेलामा कसरी सान्त्वना दिने केही भेउ नपाएको, पूरै निरीह मजस्ताले कहिलेसम्म यस्तो सधैं फेल भइने, सधैं भाग्न मन लाग्ने जाँचमा परिरहनुपर्ने होला ?

महामारीमा मेरा बिरामीका जस्ता कथा कति होलान् ? स्वास्थ्यकर्मीहरूका फुकाउन मिल्ने नमिल्ने मनका गुजुल्टा कति होलान् ? मैले त्यस बेला त्यसो गरेको भए पो बचाउन सकिन्थ्यो कि भन्ने कति कति थान ‘गिल्ट’ सँगालिने छन् होला महामारी सकिंदासम्म ? अन्त गर्न नजानेर प्रश्नमै टुंग्याएँ ।