दीपक अनुरागी । लुम्बिनी प्रदेशका सांसद दृग नारायण पाण्डेय अहिले राष्ट्रिय राजनीतिको चर्चामा छन् । उसो त पाण्डेय जिल्ला भित्र समेत खासै चर्चित राजनीतिकर्मी थिएनन् । यद्यपि ०७४ सालको स्थानीय तहको निर्वाचनबाट उनी जिल्ला भित्र चर्चामा आएका थिए । कारण थियो नेपाली कांग्रेस भित्र बागी उम्मेदवार बन्नु । महाराजगञ्ज नगरपालिका निवासी पाण्डेय कांग्रेसबाट मेयरको उम्मेदवार बन्न चाहन्थे । तर, उनको बीचमा कांग्रेस कपिलवस्तुका उपसभापति अब्दुल कलाम तगारो बने । कलामले मेयरको टिकट पाए तर, पाण्डेयले पाएनन् ।
टिकट नपाएको झोकमा उनी पार्टीका आधिकारीक उम्मेदवार विरुद्ध बागी उठे । उनी बागी उठेपछि कांग्रेसलाई तनाव भएको थियो । त्यस क्षेत्रका सुपरिचित नेतामा गनिन्थे पाण्डेय । महाराजगञ्ज गाविसमा ०५४ सालको स्थानीय निकायको चुनावमा गाविस अध्यक्ष भएर काम गरेका उनी गाउँठाउँको विकासमा सक्रिय थिए । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित महारागञ्ज गाविस त्यस बेलाको जनसंख्याको हिसाबले जिल्लाको ठूलो गाविस थियो ।
स्थानीय तहको चुनावमा कांग्रेसका कलामले चुनाव जिते । कांग्रेसको राम्रो बाहुल्यता रहेको यो नगरमा पाण्डेय दोस्रो स्थानमा आए । स्वतन्त्र चुनाव चिह्न लिएर चुनाव लडेका उनलाई घोषित रुपमा कुनै पार्टीको सहमती थिएन । कलामलाई उनले चुनाव हराउने आँकलन जिल्लाबासीमा थियो । यद्यपि चुनाव नजिते पनि उनले कडा टक्कर दिएका थिए । मतदाता शिक्षाको अभावले उनलाई दिएको थुप्रै भोट बदर भएको थियो । मतदाता शिक्षा राम्रो भएर मत बदर नभएको भए आफुले मेयरमा स्वतन्त्र चुनाव जित्ने उनले पछिसम्म बताउँदै आएका थिए ।
कांग्रेसका उम्मेदवार विरुद्ध बागी उठेपछि उनलाई पार्टीले कारबाही गरेको थियो । उनी केही महिना स्वतन्त्र पूर्वक राजनीति गतिविधिमा सक्रिय थिए । लगत्तै प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको सरगर्मी बढ्यो । कांग्रेसबाट बागी उठेपनि आफुले सम्मानजनक भोट पाएको, बागी भएपनि पार्टीकै उम्मेदवारले चुनाव जितेको, विपक्षी पार्टीको प्रभाव कमजोर रहेकाले आफुले बागी उठेको गल्ती स्विकार गरे पार्टीले प्रदेश सभामा टिकट दिने उनको अपेक्षा थियो ।
देशभर वामगठन्धनले दुईतिहाई बहुमत ल्याउने चर्चा, दुई ठूला कम्युनिष्ट पार्टी मिल्दा कांग्रेस कमजोर हुने स्वयम पार्टीको समिक्षा भएपनि पाण्डेयमाथि पार्टी नरम देखिएन । बरु चुनाव हार्ने तर पाण्डेयलाई प्रदेशमा उठाउन हुन्न भन्ने मत कांग्रेसमा बलियो गरी उठेको थियो । ‘उनलाई टिकट दिनु भनेको पार्टीभित्र अवसरबादी जन्माउनु हो, बरु चुनाव हारौं तर, उनलाई टिकट नदिऔं, तत्कालिन कांग्रेस नेताहरुको प्रतिक्रिया आउन्थ्यो ।’
देशमा जुन चुनाव हुन्छ त्यही चुनावमा जसरी भएपनि उठ्नु पर्छ भन्ने मान्यता राख्ने पाण्डेयलाई कांग्रेसले टिकट नदिए पछि तत्कालिन एमालेले उनीप्रति ‘हिमचिम’ बढाएको थियो । एमालेले पाण्डेयलाई मनोनयन दर्ताको दुई दिन अगाडी पार्टी प्रवेश गराएर लुम्बिनी प्रदेश सभाको टिकट दिएको थियो । बर्षौ कम्युनिष्ट पार्टीको झोला बोकेर गाउँ गाउँ खटिएका आफ्ना नेतालाई टिकट नदिएर पाण्डेयलाई एकाएक टिकट दिएको प्रति पार्टीभित्र असन्तृष्टि थियो । यद्यपि देशभर बामगठबन्धनको रुझान, सिंगो मूलक र प्रदेशको नेतृत्व कम्युनिष्ट पार्टीले गर्ने विश्वासले एमालेका नेताले आफुले त्यागेर पाण्डेयलाई उम्मेदवार स्विकारेका थिए ।
बामगठबन्धनको रुझानका बीच पाण्डेयले प्रदेश सभामा चुनाव जिते । निकै शालिनताले चुनावमा उनी मतदाता सामु प्रस्तुत भएका थिए । आफु आर्थिक रुपमा त्यति बलियो नभएको तर जिते पछि, आम मतदाताको विश्वास कदापी मर्न नदिने विश्वास उनले गरेका थिए । यतिसम्मकी उनीसामु चुनावी प्रचार गर्दा गाडीघोडा हुँइकाउने, झण्डा, टिसर्ट बाड्ने पैसा थिएन । लामो समय कांग्रेसमा राजनीति गरेपनि पार्टीले गद्धार गरेको, मेयरमा टिकट नदिएको, उनले जिते भने गाउँठाउँको विकास निर्माण राम्रै गर्लान भन्ने आशाले उनलाई मतदाताले जिताएका थिए ।
चुनाव जितेर लुम्बिनी प्रदेश सभामा छिरे लगत्तै उनी मन्त्रीको चर्चामा समेत थिए । जिल्ला भित्रको एमाले नेतृत्वले उनी माथि निकै विश्वास गरेको थियो । एमाले भित्र ओली समूहको बर्चश्व रहेको जिल्लामा तत्कालिन एमालेबाट तीन जनाले प्रदेशसभाबाट चुनाव जितेका थिए । पाण्डेय लगायत विष्णु पन्थी र अर्जुन केसीले एमालेबाट चुनाव जितेका हुन् । यी ३ सांसद मध्ये सिनियर नेता थिए विष्णु पन्थी ।
पन्थी माधव समूहका कट्टर हुन् । पन्थी प्रदेशमा मन्त्री बन्ने सबैको आँकलन थियो । तर, जिल्ला नेतृत्वले पटक पटक केन्द्रीय नेतृत्वलाई उनलाई मन्त्री नबनाउन दबाब दियो । बरु आफ्नै समूहका पाण्डेयलाई मन्त्री बनाउन नेतृत्वले लविङ गरिरह्यो । कपिलवस्तुले प्रदेशको स्थायी राजधानी मागेकाले जसरी भएपनि एउटा मन्त्रालय कपिलवस्तुले पाउने विश्वासमा पार्टी थियो । तर, सिनियर नेता पन्थी हुँदा हुँदै पाण्डेयलाई मन्त्री बनाउँदा पार्टी पंक्तीमा नकरात्मक सन्देश जाने भयले पाण्डेय मन्त्री भएनन् ।
अन्तिमसम्म जिल्ला नेतृत्वले पाण्डेय मधेसी समूदायका रहेकाले उनलाई मन्त्री दिँदा केही नहुने मधेसीको फण्डा फाल्दा पन्थी पक्षिय कार्यकर्ता र नेताले कुरा बुज्ने कुरा पनि चर्चामा आउँन्थ्यो । यद्यपि विभिन्न कठिनाईका बीच पाण्डेयलाई मन्त्री बनाइएन तर, सामाजिक विकास समितिको सभापति बनाइएको थियो । सामाजिक विकास समितिको सभापति भएका उनी सेतो नम्बर प्लेटको गाडीमा हुँइकिने अवसर एमालेबाट पाएका थिए ।
आफु हार्दै गर्दा कांग्रेसले अवसरबादी बुझ्यो, एमालेले गौरव गर्दै ठूलै नेता मान्यो
तत्कालिन समय कांग्रेसले उनीमाथि गरेर कारबाही फुकुवा गरेर उनलाई प्रदेशसभाको टिकट दिएको भए कांग्रेसले प्रतिनिधि सभा जित्ने सम्भावना प्रवल हुन्थ्यो । कांग्रेस जिल्ला सभापति समेत रहेका सुरेन्द्रराज आचार्य प्रतिनिधिसभा २ का उम्मेदवार बनेका थिए । उनी उम्मेदवार बनेको प्रतिनिधिसभा ‘क’ बाट पाण्डेय उम्मेदवार थिए । पाण्डेयका झण्डै २५ सय देखि ३ हजार व्यक्तिगत भोट थिए । उनले त्यो भोट आचार्यलाई दिएको भए उनले चुनाव जित्ने सम्भावना बलियो देखिन्थ्यो ।
यद्यपि यो जानेरै भएपनि पाण्डेयले पार्टी विरुद्ध दिएको बागी उम्मेदवारी सम्झेरै कांग्रेसले पाण्डेयलाई पत्याएको थिएन । देशभर वामगठबन्धनको रुझान भएपनि कपिलवस्तुको दक्षिणी क्षेत्रमा कम्युनिष्टको खासै प्रभाव थिएन् । महेन्द्र राजमार्ग वरपर एमालेको राम्रो पकड रहेपनि दक्षिणी भेगमा उसको पकट नभएको हो । प्रतिनिधिसभा २ बाट सूर्य चिह्न लिएर चुनाव लडेका बामगठबन्धनका उम्मेदवार बृजेशकुमार गुप्तले कांग्रेस सभापतिलाई ३ हजार कम मतमा चुनाव जिते ।
पाण्डेयले गुप्तालाई बलियो समर्थन दिए । त्यसमा बामगठबन्धनको भोटले उत्तरी क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्यो । यतिमात्र होइन प्रदेश सभा ‘ख’बाट पनि सूर्य चिह्नका धर्मबहादुरलाल श्रीवास्तवले चुनाव जिते । उनले कांग्रेस कपिलवस्तुका पूर्व सभापति सुधाकर पाण्डेयलाई हराएका थिए ।
जबकी यो क्षेत्र कांग्रेसको गढ थियो । यी क्षेत्रमा रहेका स्थानीय तहमा सबै कांग्रेसले जितेको छ । महाराजगञ्ज, बुद्धभूमि र कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिकामा कांग्रेसको बुहुमत नेतृत्व छ ।
‘उनलाई टिकट दिनु भनेको पार्टीभित्र अवसरबादी जन्माउनु हो, बरु चुनाव हारौं तर, उनलाई टिकट नदिऔं, तत्कालिन कांग्रेस नेताको प्रतिक्रिया थियो ।’ तर, एमालेका नेताले पाण्डेयलाई पार्टीले गम्भीर धोका दिएको अब एमालेबाट राजनीति गर्ने आशामा पूर्ण विश्वास गरे । मधेसमा कमजोर रहेको संगठन उनी आएपछि राम्रो हुने दाबी एमालेको थियो । टिकट पाउन आएका नेता पाहुना हुन भन्ने भ्रममा एमाले थियो ।
स्वार्थकै कुरा गर्दै एमाले त्यागे, यसबारे जिल्ला नेतृत्व मौन !
एमालेको प्रदेश सांसदको पद त्याग्दै पाण्डेयले भनेका थिए, ‘जनता कोरोना महामारीमा पिल्सिरहेका बेला सत्ता बनाउने र गिराउने खेल हुँदा पदमा रहिरहन उपयुक्त नदेखेकोले आफ्नो पार्टी र प्रदेशसभा सदस्य पदबाट राजीनामा गरेको छु ।’
उनले थप भनेका थिए, ‘पार्टीको घोषणापत्रमा गरेको वाचा अनुसार काम हुन सकेन । यस्तै अवस्थामा चुनावमा जाँदा त जनताले लखेट्छ । त्यसैले पदमा बसिरहन उपयुक्त ठानेन ।’
उनले अगाडी अझ थपे, ‘अब प्रदेश सरकार बनाउने र गिराउने खेलमा म छैन् । ‘बहुमत र अल्पमत जसुकैको होस् मतलव भएन ।’
उनले यसो भनिरहदा उनी एमालेका निर्णायक सांसद थिए । जबकी उनले यसो भनिरहदा उनकै पार्टीका मुख्यमन्त्री शंकर पोख्रेलको सत्ता ढल्ने स्थितिमा थियो । स्थिति राम्रो थिएन ।
उनको भनाई अर्को गरी बुझ्दा पछिल्लो समय एमाले भित्रको विभाजनले कतै उनको मन भित्रैबाट विग्रिएको त होइन् भन्ने कौतुहलता हुन्थ्यो । लुम्बिनी प्रदेश भित्र देखिएको असंसदीय राजनीतिबाट उनी विरक्त भए की भन्ने आशय उनको भनाईबाट झल्किन्थ्यो । तर, उनले यसो भनेको २४ घण्टा नवित्दै कांग्रेस प्रवेश गरेका छन् ।
कांग्रेस प्रवेश गर्दै उनी माओबादी केन्द्र र जसपासहितको समर्थनमा राष्ट्रिय सभाको उम्मेदवार बन्ने भएका छन् ।
कांग्रेसले उनलाई अहिले पत्याएको छ । के कति कारणले पत्याएको हो भन्ने अहिलेको स्थिति घाम जस्तै छर्लङ्ग छ ।
मेयरमा हारेकालाई प्रदेशमा भारी मतले चुनाव जिताउने, त्यति मात्र होइन् सुरुवातबाटै सामाजिक विकास समितिको सभापति बनाएर गुण लगाएको एमाले पाण्डेयको राजीनामाबारे मौन जस्तै छ । अझ उनप्रति आशा भरोसामा रहेको जिल्ला नेतृत्व किन मौन छ कार्यक्रर्ता प्रश्न गरिरहेका छन् । आधिकारिक धारणा सार्वजनिक भएको छैन् । मायादेवी अनलाईनमा दिपक अनुरागीले समाचार लेख्नुभएको छ ।