खाँचीकोटको जोखिम भुजुङ्गे बस्ती सार्न जनताको हारगुहार, सरकार दिन्छ बाख्रा उपहार !

313
अनिल नेपाली
अर्घाखाँची, १९ जेठ ।  जब पानी पर्न थाल्छ तब अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ भुजुङ्गेका ८३ वर्षीय बृद्ध कुलबहादुर नेपालीको चैन हराउँछ ।गत वर्षको लगातारको वर्षापछि मध्यरातमा आएको पहिरोले उनको घरमा आंशिक क्षति पुरायो । कुलबहादुरको परिवारले घर नै छोडेर लामो समय स्थानीय विद्यालयको पालमुनी दिन काटे ।
वर्षा हट्दैगएपछि फेरि पहिरोले खोस्रेको घरमा फर्किए ।यो वर्षा सुरु हुन लाग्दा उनी फेरि आत्तिएका छन् । उनले भने,“खै घर बनाइदिने,वस्ती सार्दिने आश्वासन त पटक पटक आएको हो, यसपटक पनि गाह्रो हुने भयो ।”नेपालीमात्रै होईन भुजुङ्गे बस्तीमा भएका ४९ घरपरिवारको समस्या उस्तै छ । आकाशमा कालो बादल मडारिन थालेपछि उनीहरू आनन्दले निदाउँदैनन् । यो बस्तीमा धेरैजसो दलित समुदायका मानिस बस्छन् ।
प्रत्येक घरको वरीपरी, तलमाथि कतै न खतै जमिन ढिप्किएको छ । घर जोखिममा छ भन्ने जान्दाजान्दैपनि उनीहरू बस्न बाध्य छन् ।पहिलेदेखि नै जोखिममा रहेको बस्ती २०७० सालको साउन ४,५ र ६ गते आएको अविरल वर्षाले जताततै चिराचिरा पा¥यो । स्थानीय पुनबहादुर नेपालीले भुजुङ्गेका जोखिममा परेका ४९ घर सार्न आग्रह गर्दै तत्कालिन गाविस कार्यालयमा निवेदन दिए ।साविकको खाँचीकोट–२ मा पर्ने भुजुङ्गको बस्ती व्यवस्थापनका लागि गाविसले जिल्ला प्रशासन कार्यालयलाई साविक खाँचीकोट–५ को फल्याङ्खोला आसपास जमिन खरिद गरेर बस्ती सार्नका लागि सिफारिस गर्न आग्रह ग¥यो ।
गाविस कार्यालयले बस्ती सारेर जनधनको रक्षा गर्न आग्रह गर्दै दौडधुप गरेयता नै ८/७ वर्षा विते र अब ८ औं वर्षा सुरु हुँदै छ । यो बीचमा स्थानीय चुनाव, प्रदेशको चुनाव र दुईपटक संविधानसभा/प्रतिनिधि सभाको चुनाव भयो ।भोट माग्न जाँदा यो बस्तीका नागरिकले वस्ती सुरक्षित गर्न माग गरे, नेताले आश्वासन दिए तर त्यसै हरायो ।
स्थानीय बुद्धीजीवि सिद्धीप्रसाद भट्टराई भन्छन्,“स्थानीय जनप्रतिनिधिदेखि लिएर सासदलेसम्म उचित बासको लागि पहल गनें आश्वन त दिएकै हुन् त ती सबै आश्वासनमै सिमित भएका छन्, चुनावको बेला गुलिया नारा मिठा बचन दिने नेताहरु जनतालाई पिरमर्का पर्दा सान्त्वना समेत दिन आउँदैनन् ।”
बस्ती सार्न पहल स्थानीयको निवेदनपछि साविकको खाँचीकोट गाविस कार्यालयले २०७० भदौ २ गते नै जिल्ला प्रशासन कार्यालयलाई सहयोगका लागि पत्र लेख्यो । पत्रमा वर्षातले ४९ घरकुरियाहरूलाई भू–क्षयका कारण भूमि ग्रस्त भएको भन्दै सोही गाविसको वडा नम्बर–५ फ्ल्याङ्खोला बजारको आसपास खेत जग्गा गरि गरि वसोवास मिलाउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ ।
गाविसको सिफारिसपछि जिल्ला दैवी प्रकोप उद्धार समितिको २०७० पुस २५ गते बसेको बैठकले बस्ती सार्न उपयुक्त ठाउँ छनौटका लागि सिफारिस गर्न आग्रह गर्ने निर्णय ग¥यो ।बैठकको निर्णयमा भनिएको थियो,“यस जिल्लाको खाँचीकोट गाविस वडा नं. २ स्थित भुजुङ्गे गाउँमा वर्षातका कारण जमिन भासिएर तहाँ बसोवास गर्ने घरपरिवार विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको सन्दर्भमा उनीहरूको पुनस्र्थापनाका लागि उपयुक्त स्थान छनौट गरी सिफारिस गर्न सम्बन्धित गाविसलाई अनुरोध गर्ने निर्णय गरियो ।” यो निर्णय २०७१ भदौ २ गते गाविसलाई बोधार्थ पठाएको देखिन्छ ।
भू–संरक्षण कार्यालयले पनि उक्त वस्ती जोखिममा रहेको प्रतिवेदन दियो । २०७२ सालसम्म बस्ती स्थानान्तरणको सम्भावना तिब्र पहल गरेको देखिन्छ । तर बीचमा भने अलमल भयो ।मुलुक संघीयतामा गयो स्थानीय तहको संरचनापनि हेरफेर भयो । भुजुङ्गेको बस्ती सन्धिखर्क नगरपालिका – ७ मा प¥यो । गतवर्ष कात्तिक २० गते मात्रै सन्धिखर्क नगरपालिकाको वडा नम्बर–७ ले उक्त बस्ती सार्नका लागि गहतेचौर,देउराली, रातामाटा र आपखोरिया उपयुक्त रहेको भन्दै नगरपालिका कार्यालयलाई सिफरिस गरेको छ ।
सुरक्षित बस्तीको सट्टा बाख्रा उपहार ! भुजुङ्गेबासीले प्रदेशका नेता मन्त्रीलाई पनि आफ्ना समस्या सुनाए । नेता आएका बेला बस्तीको बेहाल देखाए । तर प्रदेश सरकार गठनका ३ वर्षसम्म कुनै सहयोग भएन ।प्रदेश सरकाले पहिरो पीडितलाई बस्ती स्थान्तरणको लागि काम गर्नु भन्दा बाख्रा उपहार थियो । स्थानीय भिमबहादुर नेपालीले भने,“हामीले प्रदेश सरकारलाई पनि वस्ती स्थानान्तरणका लागि पटक पटक आग्रह ग¥ र्यौं तर सुनुवाई भएन बरु पहिरो पीडित भनेर बाख्रा दिएर टारे ।”
नेपालीका अनुसार प्रदेश सरकारले पहिलो पीडित भनेर बाख्रा पालनका लागि भन्दै एक परिवारलाई ३ वटा बाख्रा दिएको थियो । उनले भने,“ बाँचे न बाख्रा पाल्ने हो तर हाम्रो सरकारको कुरै बुझिदैन ।” स्थानीय राजनीतिक दलका अगुवा के भन्छन् ? नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा वडा सचिव चुरा बहादुर केसी ले जोखिम मुल्यांकन गरेर जतिसक्दो चाडो सरकारले पहलकदमी गरेर अन्य ठाउँमा बस्ती स्थानान्तरण गर्नुपर्नेमा जोड दिए ।उनले भने,“ यो जोखिममा रहेको बस्ती सार्नुपर्छ र त्यहाँ बस्ने व्यक्तिहरुको आमदानीको स्रोत कृषि र पशुपालन भएकोले उचित व्यवस्थापन गर्नुपर्छ ।”नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य तथा वडा इन्चार्ज भेष बहादुर केसीले बाढी पहिरो पीडितको मागलाई सरकारले तत्काल सुन्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसीले राजनीतिक प्रतिसोधका कारण र दलित भनेर वेवास्था गरिएको आरोप लगाए ।प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले भने आफूले भू–भर्भविद्का टोली ल्याएर शितगंगा नगरपालिकाको वडा नं. ११,१२ र ७ मा समेत स्थलगत अध्ययन गराइ रिपोर्टमा समेत पठाई सकेको बताए ।
यसका लागि स्थानीय सरकार उत्तरदायी बन्नुपर्ने बताए । उनले भने,“मैले प्रतिवेदन समेत दिइसकेको छु, यस्तो अवस्थामा स्थानीय सरकार आफ्ना जनताप्रति उतरदायि बन्नुपर्छ, यो दुखद हो ।”बस्तीलाई बायो ईन्जिनियरिङ बिधिबाट व्यवस्थित गर्न सकिने सुझापनि आएको छ तर बस्तीमा रहेका घर कुनै छैन जहाँ पहिलोको छेउ नपरेको होस् । त्यसैले उनीहरुले बस्ती सार्नुपर्ने अडानमा छन् । स्थानीय सरकारले यसपटकको बजेटबाट आफ्नो माग सम्बोधन हुने विश्वासमा छन् ।
नगरपालिकालेपनि सकेसम्म बस्ती स्थानान्तरणका लागि पहल गर्ने बताएको छ । सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुरकुमार विकले भने,“त्यो बस्ती जोखिममा छ हामीलाई जानकारी छ, अब त्यसलाई स्थानान्तरणका लागि केही निर्णय गर्छौ ।”