पाणिनीको मैदानमा ११ दिनदेखी ढोरपाटन सडक अवरुद्ध, सरोकारवाला बेखबर !

483

घनश्याम पौडेल
अर्घाखाँची, २३ जेठ । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ५ मैदानमा ढोरपाटन सडक अवरुद्ध हुदाँ आवातजावतमा समस्या परेको छ । जेठ ११ गतेदेखी परेको अविरल वर्षाका कारण जेठ १२ गते पहिरो गएसँगै सडक अवरुद्ध भएको थियो । मैदानको चिवेक फाटँ नजिकमा गएको पहिरोको सडक खुलाउँनका लागी सरोकारवाला निकायको ध्यान गएको छैन ।

उक्त ठाउँमा फुदवाङ्ग–बलेवाङ्ग सडक पिचँका लागी जिम्मा लिएको ठेकेदार कम्पनीले लाखौँको बालुवा उक्त क्षेत्र उत्खनन गरेर लगेको थियो । सोही वालुवा खनेकै कारण ठुलो पहिरो गएको छ । स्थानिय बासिन्दाले खेतमा पटकपटक पहिरो झरेको तर आवश्यक ठाउँमा वाल नउठाएको भन्दै बाटो मर्मत गर्न दिएका छैनन् ।

११ दिनदेखी बाटो अवरुद्ध हुदाँ आवातजावतमा निकै समस्या रहेको चिवेकका राजेन्द्र पौडेलले बताए । ‘बाटो खोल्नका लागी कुनै पहल भएको छैन।’ लकडाउनको समयमा पाणिनी गाउँपालिकामा जेठ २१ गते अनुगमनमा लागी आएको प्रमुख जिल्ला अधिकारीको गाडी पनी सोही ठाउँबाटै पहिरो गएका कारण फिर्ता भई पाली गएर दुर्गाफाट पुगेको थियो ।

पाणिनी गाउँपालिकाका प्राविधिक उमानाथ पौडेल भन्छन् ‘गाउँपालिकाको जिम्मा भएको बाटो होईन, धोरपाटन सड्कले ध्यान दिएन।’ मोटरबाटो अवरुद्धका कारण गाडी चल्न सक्ने अवस्था छैन । मोटरबाटो अवरुद्ध भएसँगै ११ दिनसम्म पाणिनी गाउँपालिका पनि बेखबर छ ।

मोटरसाईकल भने सामान्य रुपमा चल्दै आएका छन् । सोही विषयमा ढोरपाटन सड्क आयोजनासँग बुझन खोज्दा सम्पर्क हुन सकेन् ।