स्वामी दुर्गानन्द सरस्वती महाराज

335

ब्रह्मचारी हंस चैतन्य 

पृष्ठभूमि
हिमालयका गुफा कन्दराहरू,पर्वतका चुचुराहरू नदीका सङ्गमहरूमा अनेक ऋषिमहर्षिहरूले रहस्यलाई स्पर्श गरेर त्यसैमा लीन भएर गएका स्वर्णिम इतिहासहरू पढ्न पाइन्छ ।अनादि ऋषिपरम्पराका संवाहक एक उज्ज्वल नक्षत्र हुनुहुन्थ्याे -स्वामी दुर्गानन्द सरस्वती महाराज ।नेपालकाे साधुसमाजमा त्यागी समदर्शी महात्माकाे छवि बनाउनु श्रद्धेय श्री १००८ स्वामी दुर्गानन्द सरस्वती महाराजका जीवनका केही पक्षबारे यहाँ चर्चा गर्ने प्रयत्न गरिएकाे छ ।
साधु महात्माकाे घर वंश कुलका विषयमा साेध्न हुन्न भनेर शिष्यहरूलाई उपदेश दिने वीतराग महात्मा स्वामी दुर्गानन्द सरस्वती महाराजका भाैतिक जीवनका आराेह अवराेहका विषयमा जीवनकालमा खाेजेर पनि उत्तर पाइएन।
वैराग्यमूर्ति स्वामीजीलाई सांसारिक जीवनका विषयमा पटक पटक साेधेर झिजाउने हिम्मत पनि आएन । बुँदा टिप्न दुई चार पटक जमर्काे गरेकाे पनि हाे । कहिले स्वामीजीकाे स्वास्थ्यले साथ दिएन कहिले समय र प्रविधिले साथ दिएन ।पछि गराैँला भनेर छाेडियाे त्याे पछि फर्केर आएन ।अन्तरङ्ग शिष्यहरूले बेलाबखत भावभङ्गी विचार गरेर जिज्ञासा राखे पनि उचित उत्तर पाएनन् ।
महात्माहरूकाे स्वभाव नै हुन्छ दु:ख लुकाउने सुख बाँड्ने ।
आफ्ना विषयमा केही नबाेलेका नलेखेका नलेखाएका नदेखाएका महात्माका विषयमा बाेल्नु अलिक अप्ठेराे हुन्छ । याे हाम्रा लागि अनाैठाे कुरा भने हााेइन ।संस्कृत साहित्यका कतिपय ग्रन्थकारहरूकाे पारिवारिक परिस्थिति र कालखण्डसमेत भेटिँदैन । महात्माहरूकाे जीवनी भेट्टाउन झन् मुश्किल हुन्छ । शिष्यहरूले समेत आफूले श्रद्धा गर्ने गुरुकाे भाैतिक जीवनका उतार चढावलाई महत्त्व नदिने भएकाले प्राय: महात्माहरूकाे भाैतिक जीवनकाे क्रमबद्ध नालीबेली पढ्न पाइँदैन ।
महात्माहरू पनि सकेसम्म आफ्नाे पुरानाे परिचय लुकाउन चाहनुहुन्छ ।सकेसम्म आफ्नाे भेद अरूलाई थाहा नहाेस् भन्नुहुन्छ ।स्वामीजीकाे जीवनका अन्तिम चरणका ब्रह्मलीन हुनुभन्दा चार महिना अघिसम्मका सेवक मुक्तिराम वानप्रस्थीले स्वामीज्यू स्वयंले समय र प्रसङ्गले चर्चा गरेका कुरालाई आफ्नै शैली र सङ्केतमा टिपाेट गरेका बुँदा र मैले आफैले गुरुजनहरूबाट सुनेका देखेका पढेका कतिपय विषयमा टेकेर याे सानाे आलेख तयार पारेकाे छु ।आशा छ ,यसमा विज्ञहरूले उचित सुझाव दिनुहुनेछ । यहाँहरूकाे सुझावका आधारमा यसले पूर्णता पाउनेछ ।
१. जन्म
स्वामी दुर्गानन्द सरस्वती महाराजकाे जन्म वि. सं . १९९६/ २/२८ गते ब्रह्मनिष्ठ स्वामी छविप्रकाशानन्दज्यूकाे समाधिस्थल गुल्मीकाे तपाेवन सालिमे दहका काखमा अवस्थित मुसिकाेट नगरपालिका-९, बडगाउँ अर्लाङ्काेट , गुल्मी , लुम्बिनी प्रदेश नेपालका सनातनी परिवारका काैण्डिन्य गाेत्रका ब्राह्मणकुलका सुपठित पिता परशुराम सापकाेटाकी अर्धाङ्गिनी माता वसुन्धरा सापकाेटाका पवित्र काेखबाट द्वितीय पुत्ररत्नका रूपमा भएकाे हाे ।
२. बाल्यकाल तथा किशाेर अवस्था
आैसत गाउँले बालकहरूजस्तै उहाँकाे बाल्यकाल बित्याे परिवारले पुस्ताैँ देखी मान्दै आएकाे वैदिक परम्पराकाे प्रचलित संस्कारअनुसार छैँठी ,नामकरण,निष्क्रमण ,अक्षरारम्भ चूडा ,उपनयन ,वेदारम्भ, समावर्तन विवाह आदि संस्काराधान भए ।आठवर्षकाे उमेरमा भएकाे व्रतबन्धबाट धार्मिक जीवनशैलीकाे शुभारम्भ भयाे । धुलाैटाे काेरेर अक्षर लेख्न सिक्नुभयाे ।गाईका खुर गनेर अङ्क चिन्नुभयाे ।स्वर्गद्वारीकाे सन्तपरम्परामा दीक्षित वेदका परम उपासक झ्याम्पाली गुरुहरूका कृपापात्र पूजनीय पिता परशुराम सापकाेटाज्यूबाट गायत्रीमन्त्र ग्रहण , सप्तशती ,रुद्री र शुक्ल यजुर्वेदकाे घरमै अध्ययन गर्नुभयाे ।
३. पारिवारिक परिवेश
आमा सन्न्यास लिएर देवघाट गलेश्वर आश्रम अगाडिकाे कल्पवासकाे कुटीमा बस्नुहुन्थ्याे ।त्यही कुटीमा देहविसर्जन गर्नुभयाे । माताजीकाे अन्तिम यतिसंस्कारमा स्वामीज्यू आफ्ना शिष्यहरूसहित सहभागी हुनुभएकाे थियाे । दाजु पण्डित सीताराम महेश आश्रमभन्दा केही माथि कुटीमा जीवनकाे उत्तरार्धमा साधनामय जीवन बिताएर संसारबाट विदा हुनुभयाे दाजु सीतारामकाे कुशाग्र बुद्धिकाे प्रशंसा गर्नुहुन्थ्याे स्वामीज्यू । दाजुका प्रतिभाबाट पिताजी प्रसन्न भएर पिताजीले सीतारामलाई वनारस पढ्न पठाउनु भएकाे थियाे ।उहाँकी धर्मपत्नी र छाेरी कमला राताेपाैवा नजिककाे कुटीमा बस्नुहुन्छ ।उहाँहरूले कल्पवासी जीवनकाे अभ्यास गरिरहनुभएकाे छ तर पारिवारिक सम्बन्धहरूमा स्वामीजी सदैव उदासीन रहेकाे देखियाे ।
४. युवावस्थामा भयाे वैराग्यकाे प्रादुर्भाव
बाइसवर्षसम्म पिताजीकाे आज्ञाअनुरुप आफ्नाे कुल मर्यादाकाे परिपालना गर्दै गाेसेवा गर्नुभयाे । गाेसेवा गर्ने कालखण्डमा उहाँ गाईगाेठमा विश्राम गर्नुहुन्थ्याे । उहाँ सुतेपछि मात्र गाईहरू निदाउँथे । स्वामीजी मरणासन्न विरामी परेका बेला गाईले जङ्गलका जडिबुटीकाे सेवन गरेर राेग निकाे भएका तथ्यहरूलाई थाहा पाएर हामी सानाेमा पुलकित हुँदै भन्थ्याैँ गाई साँच्चिकै लक्ष्मी हुन् ।गाईले स्वामीजीलाई जीवन दान दिएर त आज हामीले छहारी पाएका छाैँ । हाम्राे बालमष्तिष्कले पनि भन्थ्याे कति महान् गाेसेवा! स्वामीजीकाे गाेसेवा अनुकरणीय थियाे । दिलीपले गाेसेवा गरेर पुत्र प्राप्त गरेकाे प्रसङ्ग कालिदासकाे रघुवंश महाकाव्यमा पनि पढ्न पाइन्छ । स्वामीजीले म पढ्न पाठशाला गएकाे हाेइन ।पहिला गाईले पढाए पछि महात्माहरूले सत्सङ्गमा पढाउनुभयाे भनेर पटक पटक दाेहाेराउनुहुन्थ्याे। तिमीहरू त पाठशालामा पढेका छाै ।मैले अाैपचारिक शिक्षा लिएकाे छैन भनेर विद्यार्थीहरूलाई सानाे उमेरमा पनि आफूलाई गाईले पत्याएका प्रसङ्गहरू सुनाउनु हुन्थ्याे ।एकचित्त भएर गाेसेवा गरेकाे प्रतिफल हाेला झ्याम्पाली गुरुहरूकाे विद्वान सन्न्यासीकाे सेवापरायण जीवनशैली राम्राे लाग्न थाल्याे ।बेलामाैकामा स्वर्गद्वारी महाप्रभु र म्याग्दी गलेश्वर क्षेत्रका गुप्त महात्माहरूका आश्चर्यलाग्दा घटनाक्रमहरूका विषयमा गुरुहरूले गरेका वर्णनले मन लाेभिन थाल्याे ।आहा! म पनि त्यस्तै बन्न पाए ! उहाँहरूलाई दर्शन गर्न पाए त म पनि धन्य हुन्थेँ हाेला ,याेगी हुन्थेँ कि ,तपस्वी पाे हुन्थेँ कि! ।
तेइस वर्षको युवा जाेशमा झ्याम्पाली गुरुहरूकाे सहयाेगमा तपस्वी महात्मा खाेज्दै खाेज्दै म्याग्दीकाे मुसुङ लेकमा तपस्यारत परम वीतराग महात्मा छवि प्रकाशानन्द गुरुज्यूकाे कुटीमा पुग्नुभयाे ।
छवि प्रकाशानन्द गुरुदेवकाे दिनचर्या देखेर निवृत्तिपथमा अग्रसर उहाँका पाइला झन् बलिया भए । त्याे भेट जीवन र जगत्काे भेद बुझ्ने राम्राे अवसरमा परिणत भयाे ।दैवलीला ! स्वामी दुर्गानन्द सरस्वती महाराजका हृदयमा वैराग्यकाे छाल आयाे ।उहाँ घर परिवारका बीचमा अडिन सक्नुभएन । त्यही छालले अपरिचित तपाेमय जीवनकाे मूलबाटाेमा पुर्याएर छाेडिदियाे । मुसुङबाट फर्केर घरमा पुगेर माता पिताकाे अनुमति लिएर तीर्थाटनमा निस्कनु भयाे ।
५. तीर्थाटनमा महापुरुषहरूसँग साक्षात्कार भयाे
नेपाल र भारतका प्रमुख तीर्थस्थलका तपस्वी विद्वान महात्माहरूकाे सत्सङ्गकाे लाभ लिँदै आफ्नै तरिकाले दस वर्षसम्म तीर्थाटन र महापुरुषहरूसँग आत्मीय सम्बन्ध विस्तार गर्दै जानुभयाे । स्वर्गद्वारीकाे सन्तपरम्परा , म्याग्दी गलेश्वर क्षेत्रका गुप्त तपस्वी महात्माहरूले प्राप्त गरेका सिद्धिहरूबाट यथेष्ट लाभ लिएर आफ्नाे आध्यात्मिक यात्रालाई सहज बनाउनु भयाे ।
६.गृहत्याग गरेर गलेश्वर बाबाका सपीपमा
हृदयमा उर्लेकाे वैराग्यकाे छालले दस वर्ष तीर्थाटन गरायाे ।धैरै महापुरुषहरूसँगकाे सङ्गत पनि जुरायाे ।तर पनि हृदय शान्त भएन के के खाेजिरह्याे मनले विश्रान्तिकाे अनुभव गर्न दिएन । मनकाे आैषधि महापुरुषकाे सान्निध्य र सत्सङ्ग हाे भन्ने सुनेर बुझेकाले घरबाट निस्केर बागलुङकाे डहरेमा केही समयकाे एकान्तवास पूरा गरेर म्याग्दीकाे गलेश्वरमा ब्रह्मज्ञानकाे यथार्थ उपदेश गर्ने अष्टाङ्ग याेगसिद्ध ईश्वरानन्द ब्रह्मचारीकाे समीपमा पुग्नुभयाे ।गलेश्वर बाबाकाे एक वर्षकाे सान्निध्यले परमार्थका सङ्कल्पहरू सिद्धि उन्मुख भइरहेका बेला दिब्रुङमा आश्रम स्थापना भए पनि संरक्षण गर्ने भरपर्दाे व्यक्ति नभएकाले स्वामी परमानन्द सरस्वतीले दिब्रुङ झिकाएर आश्रम व्यवस्थापक तथा निमित्त महन्तकाे रूपमा नियुक्त गर्नुभयाे ।
७. छवि गुरुकाे सेवाका लागि पत्र आयाे दिब्रुङबाट
झुलेनीबाट छविप्रकाशानन्द गुरु सालिमे दहमा सर्नुभयाे । प्रारम्भिक कालकाे सेवामा आवश्यक प्रबन्ध मिलाइदिनु भनेर परमानन्द सरस्वती महाराजले दिब्रुङबाट पठाएकाे पत्रका सङ्केतका आधारमा सालिमे दहमा छवि गुरुकाे अनुकूल व्यवस्थापन गर्नुभयाे । छविगुरुसँग सेव्य सेवकभन्दा बढी गुरुशिष्यकाे आत्मीयभाव प्रवल भयाे ।। ब्रह्मज्ञानी महात्मा छवि प्रकाशानन्द गुरुज्यूका जीवनका अन्तिम समयसम्म दुवैकाे पारस्परिक सुमधुर सम्बन्ध रह्याे ।
८.दिब्रुङबाट शुभारम्भ भयाे स्वामी परमानन्द सरस्वतीलाई सहयाेग गर्ने काम
दिब्रुङ भक्तहरू सामाजिक अभियानका अगुवाहरू धार्मिक शैक्षिक राजनैतिक शक्तिकेन्द्रहरूका प्रतिनिधिहरूकाे जमघटले दिनप्रतिदिन भरिन थाल्याे ।त्याे भीड छल्न र म्याग्दी ,पर्वत ,बागलुङ र गुल्मीका निर्जन लेकमा गरेका साधनाबाट प्राप्त चरम आनन्दकाे अनुभवलाई जीवन्त राख्न आफ्ना गुरु स्वामी परमानन्द सरस्वती रेसुङ्गा गएपछि गुरुजी गएपछि यहाँ के गरेर बस्ने भनेर उहाँ पनि रेसुङ्गा जानुभयाे ।
रेसुङ्गामा एक वर्ष बसेपछि गुरुज्यूकै निर्देशनमा दिब्रुङ आउनुभयाे । सातवर्ष दिब्रुङकाे सेवा गर्नुभयाे । पहाडका आश्रमहरू सेवा प्रधान हुन्छन् ।असुविधाहरूका बीचमा गुजारा चलाउनु पर्छ । कुनै कर्मचारी वा सेवक नराखी आश्रम चलाउनु पनि एउटा साधना हाे ।
९.शिवधुरीमा गुरुशिष्य समाधिमा
दिब्रुङकाे आश्रमबाट गुरुजी सुटुक्क निक्लेर बागलुङकाे लेक तपाेभूमि शिवधुरीमा आउनुभयाे । गुरु खाेज्दै स्वामी विवेकानन्द सरस्वती महाराजसहित गुल्मीका भक्तहरूका साथमा शिवधुरीमा आउँदा बाघ बस्ने खुल्ला अाेडारमा गुरु बसेकाे देख्दा सबै भावविभाेर हुनुभयाे । गुरुजीकाे असाधारण अवस्था देखेर गुरजीलाई दिब्रुङ फर्काउन आउनुभएका स्वामी विवेकानन्द सरस्वती महाराज त्यहीँ गुरुजीका साथमा बस्नुभयाे । दिब्रुङ आश्रम संरक्षण गर्न गुरु आज्ञाबमाेजिम स्वामी दुर्गानन्द सरस्वती महाराज दिब्रुङ जानुभयाे ।आश्रमका निर्धारित काम सम्पन्न गरेर शिवधुरी फर्कनुभयाे ।शिवधुरीकाे हिमालकाे पवित्र वातावरणमा गुरुशिष्यले समाधि कस्नुभयाे । त्यतिबेला दिब्रुङ आश्रमममा आश्रमका संस्थापक स्वामी परमानन्द सरस्वती महाराज, स्वामी दुर्गानन्द सरस्वती महाराज र स्वामी विवेकानन्द सरस्वती महाराजमात्र हुनुहुन्थ्याे । यी दिब्रुङ आश्रमका सुरुवाती दिनका विषयवस्तु हुन् । स्वामी विवेकानन्द सरस्वती महाराजकाे उमेर नपुगेकाले स्वामी परमानन्द सरस्वती महाराज कार्यक्रमहरूमा बाहिर जाँदा आश्रमकाे जिम्मा स्वामी दुर्गानन्द सरस्वती महाराजकाे हुन्थ्याे ।स्वामी परमानन्द सरस्वती महाराजबाट दिब्रुङमा पाएकाे आश्रम संरक्षण गर्ने जिम्मेवारी आजीवन वहन गर्नुभयाे ।
१०.तँ रामे हाेस्
दिब्रुङमा धान्याचल भयाे । गुरुजी अन्यत्र कार्यक्रम भएकाले आश्रमबाट निक्लनु भयाे ।दिब्रुङकाे आश्रम कुर्ने काम स्वामी दुर्गानन्द सरस्वतीकाे पालाेमा पर्याे । आश्रम वरपरका गाउँका भन्दा परका चाेरहरूले आश्रममा पैसा छन् लुट्न सकिन्छ भनेर राति आश्रममा आए।स्वामी दुर्गानन्द सरस्वती महाराजलाई कब्जामा लिएर साेधे – पैसा कति छन् दे , नत्र तँलाई मार्दिन्छम् ! स्वामीजीले भन्नुभयाे- पैसा छैनन् यी भाँडामा अन्न छ सक्छाै भने लैजाउ , मलाई केही नगर ।चाेरहरूले भने- ढाँट्छस् पैसा तैँले लुकाएकाे छस् , तुरुन्त पैसा झिक्। झिक्दैनस् भने तेराे खैरियत छैन भने ।स्वामीजीले सम्झाउनु भयाे उनीहरूले सम्झेनन् ।उल्टै टाउकाेमा घनले हाने ,टाउकाबाट रगत बग्न थालेकाे देखेर डराउन दिन नाइकेले चर्काे आवाजमा साेध्याे – अब त चिनिस् , म काे हुँ ? स्वामीजीले भन्नुभयाे – अँ , चिनेँ , तँ रामे हाेस् ।मेरा पाप पखाल्न चाेर बनेर आएकाे हाेस्।उनीहरूले साेधे भन् के भन्न मन छ?स्वामीजीले भन्नुभयाे – मलाई बचाएकाेमा धन्यवाद ।
पैसा गाउँमा झरिसकेकाे थियाे केही भेटिएन ।अन्नपात छरालछुरुल पारेर चाेर गाउँ झरे । आश्रम मुनिका गाउँमा बिहानै हल्ला फैलियाे दिब्रुङका साधुलाई चाेरले रगताम्मे हुने गरी कुटेका छन् भनेर । चाेरहरू गाउँबाट उम्कन नपाउँदै गाउँलेले पक्रेर स्वामीजीका साथमा लगेर स्वामीजीलाई भने भन्नुस् स्वामीजी ! यिनलाई के कारवाही गरम् ? ।स्वामीजी भन्नुहुन्छ- केही नगरम् ,यिनका पनि बालबच्चा छन् ,छाेड्दिम्, बरु सकुशल घरसम्म पुग्ने व्यवस्था मिलाइदिनुस् ।
११.रामकाेटकाे मुकुट !
गलेश्वर क्षेत्रमा बस्ने रहर मेटिएकाे थिएन ।शिवधुरी बस्दा बस्दै रामकाेटमा पाठशाला चलाउन पराे ।तिमी तल जाउ भन्नुभयाे गुरुजीले ।गुरुजीमा आकर्षण गर्ने अनाैठाे शक्ति थियाे फलाम र चुम्बककाे सम्बन्धजस्ताे गुरुजीका अगाडि सबै लटपटिन्थे ।।उहाँले बाेलेका कुरा कसैले काट्न सक्दैनथे ,आफ्नाे अनुकूल बनाउन सक्दैनथे ।गुरुवचन पालना गर्न शिवधुरीबाट स्वामी दु्र्गानन्द सरस्वती महाराज रामकाेट झर्नुभयाे ।आजीवन रामकाेटकाे मुकुट भएर बस्नुभयाे । रामकाेटधामकाे पैचालिस वर्षकाे अर्थपूर्ण उपस्थितिले गुल्मीका भक्तहरूले समेत स्वामीज्यू बागलुङका हुनुहुन्छ भनेर चिने ।
१२.पाठ गरेर ऋण तिरियाे
रामकाेट आश्रममा निर्माणमा खर्च बढ्दै गयाे
आश्रमकाे नियमित आम्दानीले थेगेन गुरुज्यूले गाउँमा पाठ गर्न जान प्रेरणा गर्नुभयाे ।आश्रमका लागि जङ्गलकाे मितव्ययी जीवनमा अभ्यस्त दुर्गानन्द सरस्वती महाराज पनि गुरुजीसँग गाउँका पाठमा हिँड्नुभयाे । आवश्यक रकम सङ्कलन भएपछि त्याे क्रम टुट्याे ।
१३.भन्न सकिन्न
उहाँले कहिल्यै पनि आफ्नाे विज्ञापन गर्ने काम गरेकाे पाइएन । विज्ञापन गरिदिन प्रेरणा वा आग्रह अनुराेधसमेत गर्नुभएन ।शिष्यहरूले आश्रमका भित्तामा टाँसेका गुरुजीहरूका तस्वीरका लाइनमा हजुरकाे पनि फाेटाे राखाैँ भन्दा उहाँले भन्नुभयाे- गुरुजीकाे राखेपछि हामी सबै त्यहीँभित्र हुन्छाैँ ।मेराे अलग फाेटाे राख्न पर्दैन । ब्रह्मलीन हुँदासम्म फाेटाे आफै आश्रमाधिपति भएकाे आश्रममा नझुण्डाउने महात्माकाे रामकाेटमा मूर्ति राख्न पर्छ भनेर वुद्धिजीवीहरूबाट सुझाव आइसकेकाे छ । हुन त मूर्ति पूजा गर्न हुँदैन भनेर उपदेश दिनुभएका सिद्धार्थ गाैतमका भव्य मूर्तिहरू विश्वभर देखिइरहेका छन् ।भक्तहरूले के के गर्छन् भन्न सकिन्न ।
१४.टुहुराहरू यसाे गर्छन्
विद्यार्थीले गल्ती गर्नु स्वाभाविक हाे । याे मानवीय कमजाेरी हाे ।आश्रमका सञ्चालकहरूलाई विद्यार्थीका कमजाेरीले चित्त दुख्नु पनि अस्वाभाविक हाेइन । मानिसकाे मन हाे केही हुनुहुँदैन प्रतिक्रिया जनाइहाल्छ ।स्वामीजीले विद्यार्थीहरूसँग रिसाउँदा भन्नुहुन्थ्याे- हेर हेर यी टुहुराहरू यसाे गर्छन् । दार्शनिक भाषामा आत्मालाई आफूबाट अलग ठान्ने अज्ञानी जीवात्माहरू टुहुरा हुन् ।थाेरै बाेल्ने साङ्केतिक शब्दले हृदय कँपाउने गरेर बाेल्ने स्वामीजीका वाणीकाे विशेषता हाे ।
१५.ब्रह्मचारी !यहाँ त भाँडाले पनि कुरा गर्छन्
मानिस चर्काे बाेलेकाे भाँडा बजेकाे पटक्कै मन परेन उहाँलाई ।एक दिन डा. नवराज पौडेल ब्रह्मचारीले आफैले माझेका भाँडा तखतामा राख्दा अलिकति आवाज आयाे ।दुर्गानन्द महाराजले प्रतिक्रियामा भन्नुभयाे – ब्र्ह्मचारी ! तिमीले थाहा पाएका छाै ,यहाँ त भाँडाले पनि कुरा गर्छन् । यस्ताे अन्त कहीँ भएकाे थाहा पाएका छाै ?त्यसपछि ब्रह्मचारीजीका भाँडाले कुराकानी गर्न छाडे ।
१६.डाेरी त्यहाँ छ लैजाउ
बेला बेलामा स्वामीजी महापुरुषहरूका विषयमा चर्चा गर्नुहुन्थ्याे ।स्वर्गद्वारी महाप्रभु देखिकाे सन्त परम्पराका आराेह अवराेहलाई विश्लेषण गरेकाे सुन्न बडा आनन्द लाग्थ्याे ।कुन समयमा स्वर्गद्वारीकाे उत्थान भयाे र कुन समयमा पतनकाे बाटाेमा अग्रसर भयाे भन्ने विषयमा केन्द्रित सारगर्भित अभिव्यक्ति सुनेका दिनहरू पनि सम्झनामा छन् ।गुरुदेवका मुखारविन्दबाट नि: सृत अमृतमय वाणीमा गलेश्वर बाबाका अलाैकिक दिनचर्याका गाथाहरू सुनेर कहिल्यै अघाइएन । मैले तपाेमूर्ति स्वामी छवि प्रकाशानन्द गुरुज्यूकाे पहिलाेचाेटि परिचय पाएकाे उहाँकै श्रीमुखबाट हाे । छवि प्रकाशानन्द गुरुज्यूका जीवनका टुक्रा टुक्रा कालखण्ड जाेडेर सिङ्गाे जीवनकाे साङ्गाेपाङ्ग विवरण दिनसक्ने सामर्थ्य स्वामीजीमा थियाे ।ती प्रसङ्गहरूमध्ये एउटा विषयले मलाई छाेयाे ।घरवार श्रीसम्पत्ति सर्वस्व दान गरेर जङ्गल पस्नुभएका महात्मा स्वामी छवि प्रकाशानन्द गुरुदेवकी धर्मपत्नी नन्दकलाले भन्नुभयाे – हजुर घर फर्कनुहुन्न भने म यहीँ हजुरका अगाडि पासाे लगाएर मर्छु ।छविप्रकाशानन्द गुरुज्यूले साेझाे उत्तर दिनुभयाे – तिम्राे प्रारब्ध त्यस्तै छ भने हुन्छ जाउ , उ त्यहाँ डाेरी छ लैजाउ, कहाँ गएर डाेरी लाउन पर्छ लाउ ।।नन्दकला घर फर्कनुभयाे ।छवि प्रकाशानन्द गुरुदेव समाधिमा बस्नुभयाे ।वैराग्य अत्यन्त दृढ भयाे भने सजिलै आत्मबाेध हुन्छ र व्यावहारिक समस्या पनि टरेर जान्छन् भन्नुहुन्थ्याे स्वामीजी ।
१७.तिमी नगए पनि बिहे राेकिन्न
गुरुकुलमा पढ्दै गरेकाे छात्र दिदीकाे बिहेमा घर जान विदा माग्न जान्छ ।उहाँले भन्नुहुन्छ पर्सिकाे बिहे रहेछ ।पर्सि बिहान जाउला ।तिमी नगएर बिहे राेकिन्न । जन्ती लिएर भिनाजु आउँछन् ।दिदी जान ठीक्क परेकी छन् लैजान्छन् ।तिमी जल खाने बेलामा गए हुन्छ । तिमी नगए पनि बिहे राेकिन्न ।
१८.साधुले गाउँले कुरा गर्नहुन्न
आश्रममा बसेपछि केही न केही गाउँकाे प्रभाव पर्छ तर साधु महात्माहरूले खाेतलेर गाउँले कुरा गर्नहुन्न आफ्ना पुराना कुरा पनि सम्झन हुन्न र अरूका कुरा पनि गर्न हुन्न ।साधुहरू तटस्थ बस्न पर्छ ।पक्ष विपक्षका जालामा फस्नहुन्न । ती द्वैत व्यवहार गर्नका लागि आश्रममा आउनै पर्दैन ।ती द्वैत व्यवहारहरू त गाउँ मै गर्न पाइन्छ ।आश्रममा त सत्सङ्ग गर्ने आत्मचिन्तन गर्ने भजन गर्ने हाे ।आश्रमभित्र बस्ने महात्मा सेवक र विद्यार्थीहरूलाई पनि घरकाे अन्न नखाएमा जुठाे लाग्दैन भनेर सम्झाइ रहनुहुन्थ्याे ।
१९.ए हाे र? हाेला
आश्रम बाहेकका आफ्नाे जानकारीमा नभएका विषयमा उहाँले ढिपी गर्नुभएन। कसैले केही नयाँ विषयमा केही विचार प्रस्तुत गर्याे भने उहाँकाे मुखबाट प्राय: यही शब्द निस्कन्थ्याे ।ए! हाे र? हाेला ।आफ्ना विषयबाहेकका विषयमा निर्लेप रहने स्वामीजी राष्ट्रिय सूचना प्रप्तिका लागि भने बिहान र बेलुकाकाे रेडियाे नेपालकाे समाचार घटना विचार कार्यक्रम नियमित सुन्नुहुन्थ्याे ।समाचार सुनेपछि बेला बेलामा अब यस्ताे हुने भयाे भन्ने पूर्वानुमान गर्नुहुन्थ्याे ती अनुमानहरू पनि कार्यन्वयन हुन्थे ।राजदरवार हत्याकाण्डका सेराफेराका समाचारहरू हेरेर नेपालकाे राजसंस्था धरापमा पर्ने भयाे भन्नुभएकाे हाे ।
२०.सद्गुरुकाे काम
भवसागर तर्न सद्गुरुकाे सहारा चाहिन्छ । शिष्यकाे अनन्त जन्मदेखि जेलिएकाे चिज्जड ग्रन्थि भेदन गर्न सक्ने गुरुलाई सद्गुरु भनिन्छ । सद्गुरुकाे मुख्य काम शिष्यकाे चिज्जड ग्रन्थि फुकाइदिने हाे । वर्णाश्रम धर्मकाे परिपालना गरेकाे हृदयले भक्तिसहितकाे वैराग्यकाे अभ्यास गरेर मुक्तिद्वार खाेल्छ ।भक्ति विना ज्ञान र वैराग्य अधुरा हुन्छन् । वैराग्य र ज्ञान एक्लैले केही पनि गर्न सक्दैनन् ।भक्ति विनाकाे जिन्दगीमा जीवन बराल्ने काममात्र हुन्छ ।।भक्ति ज्ञान र वैराग्यशक्ति एकसाथ प्रयाेग गर्नसके मुक्त भइन्छ ।
२१.ज्ञानवंश
शास्त्रमा दुई किसिमकाे वंशकाे वर्णन पाइन्छ । जन्मवंश र विद्यावंश अर्थात् कुलवंश र ज्ञानवंश । महात्माहरूका लागि ज्ञानवंश प्रधधान हुन्छ ।स्वामीजीका ज्ञानसन्ततिहरूमा स्वामी पूर्णानन्द सरस्वती , स्वामी काशिकानन्द सरस्वती , स्वामी तुलानन्द सरस्वती निरहे ,स्वामी हरिहरानन्द सरस्वती किम्बाेट ,स्वामी चेतानन्द सरस्वती ,स्वामी रामानन्द सरस्वती , स्वामी देवानन्द सरस्वती , स्वामी हरिहरानन्द सरस्वती चिरपानी, स्वामी तुलानन्द सरस्वती डहरे ,ब्रह्मचारी केशव चैतन्य ,डिलाराम वानप्रस्थी र मुक्तिराम वानप्रस्थी अादि ।बागलुङका अधिकांश भद्र सज्जन महिला कुनै न कुनै रूपमा उहाँबाट दीक्षित र प्रशिक्षित हुनुहुन्छ । कति मानिस उहाँसँग प्रत्यक्ष सम्बन्धमा हुनुहुन्छ किटान गरेर भन्न सकिँदैन ।
२२.प्रशासकीय व्यक्तित्व
स्वामीजीका डरले रूखका पात पनि हल्लदैँनथे भनेर परमानन्द चरितामृतम् काव्यमा संस्कृतका कवि नवराज पाण्डेयले उल्लेख गर्नुभएकाे छ । हिँड्दा चप्पलबाट आवाज निस्क्याे भने पाका पाका महात्माहरूले पनि हप्काइ खानपर्थ्याे । आफ्ना चप्पल स्याहार्न नसक्ने पनि साधु हुन्छन्? ।
पुराना पूजाका पात्र पनि संरक्षण गरेकाे विषयलाई लिएर श्रीहरिहर सन्न्यास आश्रमका पीठाधीश्वर स्वामी ज्ञानानन्द सरस्वती महाराजज्यूले प्रशंसा गर्दै बेला बेलामा भन्नुहुन्छ -आश्रम त्यसै चल्दैनन् ।दुर्गा गुरुकाे जस्ताे चेष्टा चाहिन्छ ।स्वामीजीका अगाडि पर्न डराउनेहरूकाे पनि सङ्ख्या बाक्लाे थियाे ।थाेरै शब्दले पनि मुटु छेड्ने तीरजस्ता हुन्थे उहाँका वाणीहरू ।काेही काेही त स्वामीजी रूखाे हुनुहुन्छ पनि भन्छन् ।सज्जनहरू जटावाला नरिवलजस्ता हुन्छन् ।बाहिर अप्ठेरा भित्र रसैरसले टम्म भरिएका।
२३.के हाे यस्ताे अचम्म !
जीवनका अनुभवहरूमा केही अनुभवमात्र जीवन्त हुन्छन् ।ती अनुभवहरू फर्किरहुन् भन्ने लाग्छ तर फर्कन्नन् । सधैँ शान्त मुद्रामा शिष्यहरूलाई भक्तहरूलाई वेदान्तका कर्मसिद्धान्तका विषयमा प्रभावयुक्त उपदेश प्रदान गर्ने र आफै कठाेर अनुशासनमा बस्ने महात्माका हातले ढुङ्गा टिपेर आफ्नै विद्यार्थीलाई लखेटेकाे देख्दा भने अनाैठाे लाग्दाे रहेछ । अनि अनायास भनिँदाेेरहेछ – के हाे यस्ताे अचम्म!
एक विद्यार्थी स्वामीजीलाई छलेर पाठ बुझाउन नआएर आश्रमकाे पश्चिम गेटनेरकाे पाेेखरीमा पाैडी खेल्न जान्छन् ।स्वामीजीले थाहा पाउनुहुन्छ र हेर हेर यिनकाे गति ! आश्रममा पाैडी खेल्न भनेर आएका हाै? भन्दै हतार हतार भुईँबाट ढुङ्गा टिपेर बारीमा अन्न खान आएका बाँदरलाई लखेटेझैँ रिसले राताे पिराे मुख बनाउँदै ढुङ्गाकाे वर्षा गर्न थाल्नुहुन्छ ।भागवतमा वृक्षले वेदव्यासलाई सम्झाइराखेकाे दृश्य शुकदेवले स्मरण गरेझैँ वीतरााग महात्माबाट भएकाे त्याे असाधारण कर्मकाे सम्झना आउँछ । पटक पटक त्यही दृश्य हेर्न इच्छा लाग्छ ।के गर्नु बगेकाे खाेला फर्कन्न ।एकपटक भयाे सकियाे । अब चाहेर पनि त्याे दृश्य दाेहाेराएर हेर्न पाउँदिन । याे मेराे रहर अब कहिल्यै पूरा हुँदैन ।
२४.स्वाध्याय
महापुरुषकाे सङ्गत सत्शास्त्रकाे स्वाध्याय र विचार माेक्षमार्गका मुख्यद्वार हुन् ।एकान्तकाे अनुभव , महापुरुषकाे सङ्गतबाट खारिएकाे जीवात्मा सत्सङ्गमा विश्वास गर्छ ।स्वामीजीले श्रीमद्भगवद्गीता , रामगीता , आत्मपुराण , विवेकचूडामणि ,याेगवासिष्ठ , पञ्चदशी ,भागवतजस्ता आर्षग्रन्थहरूकाे स्वाध्याय गर्नुहुन्थ्याे । प्राय: सन्न्यास आश्रमहरूमा उपनिषद्हरूकाे स्वाध्याय पठनपाठन हुन्छ ।स्वामी दुर्गानन्द सरस्वती महाराजले उपनिषद्काे स्वाध्याय चलाएकाे थाहा भएन ।याेगवसिष्ठ स्वामीज्यूकाे प्रियग्रन्थ हाे पटक पटक याेगवासिष्ठकाे स्वाध्याय दाेहाेराइ रहनुहुन्थ्याे ।परमानन्द संस्कृत गुरुकुलका संस्थापक प्राचार्य ,मुनिकल्प ,संस्कृतका विद्वान पण्डित सिद्धिनाथ पाण्डेय गुरुले स्वाध्यायमा प्रशंसनीय याेगदान दिनुभयाे । स्वाध्याहरूमा सिद्धिनाथ गुरुलाई पनि पण्डित जी ! याे वाक्यकाे आशय यस्ताे हाे भन्ने र सिद्धिनाथ गुरुले हाे गुरुजी हाे! भनेर स्वीकृत गर्दै गरेकाे पनि भेटियाे ।
२५.दैनिक पाठपारायण
रुद्री , विष्णुसहस्रनाम , रामगीता ,श्रीमद्भगवद्गीता, चतु: श्लाेकी भागवत , सिद्धकुञ्जिकास्ताेत्रम्, निर्वाणषट्कम् दैनिक बिहानमा पाठ गर्नुहुन्थ्याे ।प्राय: आफ्नाे आसनमा बसेकाे पाठ गरिरहेकाे देख्थे भक्तहरूले ।साधुले रुद्री नियमित पाठ गर्नुपर्छ भनेर उपदेश दिनुहुन्थ्याे ।आश्रमका महात्माहरूलाई फरक फरक पाठ गराउन पठाउनुहुन्थ्याे ।
२६.काँचा केटाहरू!
अन्नकाे असाध्यै सम्मान गर्नुभयाे स्वामीजीले ।आश्रममा बेलुका पकाएकाे अन्न बढी भएर भान्से वा विद्यार्थीले जङ्गलमा कतै लुकाएर गाडेर राखे पनि उहाँ कहाँबाट थाहा पाउनुहुन्थ्याे स्वयं लुकाउनै मान्छे नै अचम्म मान्थ्याे ।धेरै पटक विद्यार्थीले जङ्गलमा पुरेर राखेकाे अन्न निकालेर आफैले खानुभयाे ।मैले हिँजाे तिमीहरूले पुरेकाे भात खान्छु तताएर देउ भन्दा सबै नाजवाफ हुनुपर्थ्याे ।खुरुखुरु बासी भात तताएर दिनुपर्थ्याे ।उहाँले भाेजन गरेपछि भन्नुहुन्थ्याे -अन्न फाल्न हुन्न ।अन्नले श्राप गर्छ ।तिमीहरूलाई के थाहा छ? अन्न नभए कति दु:ख हुन्छ । अन्न नभए बाँच्न सकिन्न ।पन्ध्र दिन अन्न नखाएर हेर त के हुँदाे रहेछ ? मलाई थाहा छ ।काँचा केटाहरू!
२७.संसार चल्दै जान्छ
आश्रमकाे जिम्मेवारीकाे बाेझ महसुस भएजस्तै लागेन उहाँलाई ।उहाँका भावभङ्गी हेर्दा लाग्थ्याे उहाँ भाैतिक जगतभन्दा निकै परकाे एकलासकाे परमानन्दकाे सागरमा डुबिरहनुहुन्छ ।आश्रमका निर्माणका सन्दर्भमा हाेस् या साना ठूला पक्ष विपक्षका विषयमा कतै वल्झिनुभएन । याे कसरी चल्छ ? हजुरले प्रेरणा गर्नुपर्याे भन्नेहरूलाई उहाँले भन्नुहुन्थ्याे- संसार चल्दै जान्छ ।साधुले आफ्नाे काम आत्मविचार गर्ने हाे ।ढुङ्गा माटा आवश्यकताले आएका हुन् समयकाे मागले बन्छन् समयकै भारले भत्कन्छन् याे क्रम चलिरहन्छ सृष्टिरहुन्जेल पूरा भयाे। अब पुग्याे भन्ने दिन आउँदैन । त्यसैले साधुले साधुकाे काम गर्न पर्छ,अर्काकाे काम गरेर भलाे हुन्न ।
२८.शरीर भिरेकाले दु:ख भएकाे हाे
स्वामीजी प्राणीलाई दु:ख किन हुन्छ?उत्तर आउँछ -शरीर भिरेकाले ।शरीर अरुले जबर्जस्ती भिराइदिएकाे हाेइन आफ्नै सङ्कल्पले भिरेकाे हाे ।संसार तर्नका लागि भक्ति वैराग्य र ज्ञानकाे एकसाथ अभ्यास गर्दै गएपछि सिद्धि हुन्छ, त्याे सिद्धिबाट आत्मलाभ हुन्छ ,त्यसपछि दु:ख मेटिन्छ । वैराग्य र ज्ञानभन्दा भक्ति श्रेष्ठ हाे ।भक्तिबाट सजिलै माेक्षकाे ढाेकासम्म पुगिन्छ । वैराग्य लामाे समय नटिक्न सक्छ ,ज्ञान भयाे कि भनेर ढुक्क बनेर बस्दा पनि भ्रमज्ञान भएकाे हुनसक्छ ।आफ्नाे पुरुषार्थबाट माेक्षसिद्ध हुन्छ प्राणीकाे आत्यन्तिक दु:ख मेट्ने यही उत्तम उपाय हाे ।
२९.सन्न्यास आश्रममा प्रवेश
अादि जगद्गुरु भगवान श्रीशङ्कराचार्यले भारतमा स्थापना गरेका चार मठमध्ये रामेश्वर क्षेत्रकाे श्रृङ्गेरीमठकाे दक्षिणाम्नाय भूरिवार सम्प्रदायमा पल्लवित सरस्वतीनाम अङ्कित सन्न्यास दीक्षामा दीक्षित स्वामी परमानन्द सरस्वती महाराजकाे प्रथम शिष्यकाे रूपमा देवघाटकाे गलेश्वर आश्रममा सन्न्यास दीक्षा ग्रहण गर्नुभयाे ।त्यस बेला स्वामी परमानन्द सरस्वती गलेश्वर आश्रम पीठाधीश हुनुहुन्थ्याे ।याे परम्पराले सुरेश्वराचार्यलाई आचार्यकाे रूपमा सम्मान गर्दछ । देवताका रूपमा आदि वाराह र देवीका रूपमा कामाक्षी देवीकाे उपासना गर्दछ । तुङ्गभद्रा तीर्थ मुख्य तीर्थ हाे । दीक्षित ब्रह्मचारीलाई चैतन्य भनिन्छ ।वेदहरूमा मुख्यतया यजुर्वेदकाे अध्ययन अध्यापन हुन्छ । ।महावाक्य अहं ब्रह्मा$स्मि हाे ।गाेत्र भूर्व्भुव: स्व: मानिन्छ ।
३०.दाएका मान्छे पाका हुन्छन्
आश्रमभित्रका साधुहरूमा स्वामीज्यूमा उच्च आदरभाव छ ।जीवनकालमा उहाँकाे सेवा गरेका त्यागीहरूकाे सङ्ख्या पनि राम्रै छ ।सबैमा एउटा साझा विश्वास छ । त्याे के भने दुर्गा गुरुले दाएका मानिस पाका हुन्छन् ।परमानन्द गुरुकुलका संस्थापक प्रधानाध्यापक सिद्धिनाथ पाण्डेय गुरुदेखि निर्मल चैतन्य ब्रह्मचारीसम्मका साधकहरूका सफल आध्यात्मिक यात्राले त्याे विश्वासकाे पुष्टि पनि गरिसकेका छन् ।
३१.पाठ बुझाउन तयारी गर्नुपर्ने
प्राय: हाम्रा आश्रमहरूका विषयमा स्वामीजी जिज्ञासा राखिरहनुहुन्थ्याे ।महात्माहरूकाे विद्यार्थीहरूकाे वस्तुस्थिति बारे साेधिरहनुहुन्थ्याे ।देवघाटबाट रामकाेट जाँदा हरिहर ,गलेश्वर ,महेश आश्रम,इन्दिरा आश्रम ,देवघाट वारिपारी ,शरदपुर ,हर्कपुर गैरी ,बसेनी , पहाड मधेशका आश्रमहरू ,,हरिद्वार वनारससम्मका आधारभूत विषयका स्वामीजीका जिज्ञासा मेटाउनका लागि पनि अद्यावधिक हुनुपर्थ्याे ।देवघाटकाे गाैशालामा कति गाई छन् ।करेसाबारीमा के सब्जी छ ।हर्कपुरका गाईले कती दूध दिन्छन् कुन महात्माकाे नयाँ कार्यक्रम के छ ? ।कुन विद्यार्थीले प्रगति गर्दैछ । आश्रमका भक्तहरूका गतिविधि के छन् ? यसप्रकारका प्रश्नहरूकाे भरपर्दाे उत्तर दिनुपर्थ्याे ।उत्तर दिन सबैका पाठ बुझेर बस्न पर्थ्याे ।उहाँका कुरा सुन्दा सबै उहाँकै हुन् जस्ताे भाव झल्कन्थ्याे ।उहाँकाे कस्ताे निर्लेप स्वभाव हाे ? जानकारी लियाे सकियाे ।कतै छुँदै छुँदैन ।परीक्षाका निरीक्षककाे जस्ताे स्वभाव ।
३२.मामुली कार्यकर्ता !
ठाउँ ठाउँमा महायज्ञ गर्ने लहर चलेकाे बेला थियाे ।बागलुङ गलकाेटमा स्वामी परमानन्द सरस्वती गुरुमहाराजका प्रमुख सङ्कल्पमा महायज्ञ हुने भयाे ।यज्ञकाे पूर्व तयारी गर्न गुरुजीले दुर्गानन्द सरसवती महाराजलाई खटाउनु भयाे ।गलकाेट हटियामा जाँदा प्रतिकुलमात्र देखिएन ज्यान जाेगाउन कठीन परिस्थिति आइलाग्याेे ।नास्तिक युवाहरू लाठी बजार्दै भन्छन्- यहाँ मान्छेलाई खाने अन्न छैन ।यी अन्न पाेल्न आएका छन् आफैले ।अन्नपाेल्न खनेकाे खाल्डाेमा यिनीहरूलाई पुर्छाैँ । याे हाम्राे पकडकाे क्षेत्र हाे ।यहाँ हाम्राे कुराे चल्छ ।तिम्रा गुरुलाई याे कार्यक्रम राेक्न भन ।यदि तिमीहरूले राेक्दैनाै भने हाम्ले राेक्छम् ।हाम्ले भनेकाे मान्दैनाै भने तिमीहरूले खन्दै गरेकाे खाल्टामा पुर्दिन्छम् ।स्वामीजीले भन्नुभयाे – ।गुरुजी आएपछि अरु कुरा हुन्छन् गुरुजीसँग बसेर निर्णय गर्नुहाेला ।हामी त गुरुजीका मामुली कार्यकर्ता हाैँ गुरुजीले अर्हाएकाे मान्ने हामीसँग कुरा गरेर हुँदैन गुरुजीसँग बस्नुपर्छ । हामीलाई यज्ञकाे तयारी गर्नु भनेर गुरुजीले पठाउनुभएकाे हाे । यज्ञकाे तयारी गर्न दिनुहाेस् ।सक्नुहुन्छ भने सहयाेग गर्नुहाेस् ।सक्नुहुन्न भने हामीलाई अवराेध नगर्नुहाेस् ।ए! यिनी त मामुली कार्यकर्ता पाे रहेछन् । यिनीसँग के कुरा गर्नु यिनका मालिकसँग सीधा कुरा गर्नपर्छ भनेर गए । आफ्नाे निगरानीमा राखेर ।गुरुजी आउनुभयाे ।उनीहरू पनि आए ।यज्ञ हेरे ।जसले सुरुमा लाठी बजारेका थिए ।उनीहरू नै स्वयं सेवक भएर काम गरे ।खुसी भए ।हामी परमानन्द सरस्वतीलाई यज्ञ गर्न दिन्छम् ।सहयाेग गर्छम् तर अरूलाई धर्मका नाममा लुट्न छुट दििँदैनाैँ पनि भने ।अहिले गलकाेटकाे तीव्र विकास भइसकेकाे छ ।बागलुङका मुख्य बजारहरूमा नाम आउन थालेकाे छ ।नगरपालिकाभित्र गुरुकुल सञ्चालन भइरहेकाे छ । दुर्गानन्द स्वामीजीका शिष्य स्वामी तुलानन्द सरस्वती महाराजकाे डहरेकाे आश्रमलाई नगरपालिकाले आर्थिक सहयाेग गरिरहेकाे छ ।अहिले गलकाेटमा वसन्त ऋतुकाे पालाे परेकाे छ ।
३३.भिक्षा माग्ने जाेगी
जिज्ञासु मुमुक्षुमा कुनै पनि विषयकाे अभिमानकाे लेश पनि नरहाेस् भन्ने अभिप्रायले साधुसमाजमा भिक्षाटनकाे प्रथा आरम्भ भयाे ।भिक्षाटन क्रमश: साधु समाजकाे वृत्तिका रूपमा स्थापित भयाे । जाेगीकाे बानी मागेर खाने काे हाेला रिसाउने जस्तापदावलीका लाेकगीत यही समाजले बनायाे ।बजायाे ।हाे महात्माकाे निजी जीवनवृत्तिकाे साधन हुँदैन ।आश्रम सञ्चालक समितिका जिम्मेवार सदस्य चुराेटकाे लतमा फसेकाे थाहा पाएर एका बिहानै गृहस्थीकाे ढाेका ढक्ढकाउँदै भन्नुहुन्छ – भिक्षां देहि ।भिक्षा माग्न आएकाे व्यक्ति बाटाेमा माग्दै गुजारा चलाउने जाेगी नभई आश्रममा गुरुआसनमा पूजा गरिरहेका महात्मा भएकाे ठहरभएपछि हतार र हतारमा स्वागत गर्दै भन्नुहुन्छ – हजुरकाे के सेवा गराैँ? स्वामीजी भन्नुहुन्छ – म भिक्षा माग्न आएकाे हुँ ।दिनुहुन्छ कि दिनुहुन्न? दिने भए लान्छु नभए लान्न । ।भक्तकाे उत्तर आउँछ- मैले दिन सक्ने चीज भए दिन्छु ।पक्का दिनुहुन्छ? – दिन्छु ।त्यसाे भए तपाईँले खाने चुराेटकाे प्याकेट दिनुहाेस् ।म तपाईँकाे दीर्घजीवन देख्न चाहन्छु ।तपाईं धेरै बाँच्नुभयाे भने आश्रमकाे पनि सेवा हुनसक्छ ।तपाईं स्वस्थ हुनुभयाे भने आश्रमकाेअझ राम्राे सेवा गर्न सक्नुहुन्छ । चुराेटकाे पाकेट बाेकेर महात्मा आश्रममा फर्कनुभयाे भक्त पनि आफ्जाे जीवनकाे सुन्दर मूलबाटाेमा फर्कनुभयाे ।
३४.सत्सङ्ग सुन्ने गाई
स्वामीजीले एक समयमा रामकाेट आश्रममा राताे र कालाे गाई पाल्नुभएकाे थियाे । बाल्यकालमा गाईले रुचाएकाले र आफूले पनि गाईकाे भरपरेका कारण आफ्नै इच्छाले आश्रमका महात्मा र विद्यार्थीहरूकाे सहयाेगमा पालेका गाईका चर्चाहरू रामकाेटका पुराना भक्तहरूले गरिरहनुहुन्छ । हामी गाउँबाट आएकाले पनि देख्थ्याैँ ।स्वामीजीकाे सत्सङ्गमा गाई ढुक्क भएर पाउर मारेर बसेर सुनेकाे ।सत्सङ्ग सिद्धिए पछि ल केटाहरू लैजाआाे भनेर स्वामीजीले भनेकाे सुनेर विद्यार्थीहरूले गाेठमा लैजान खाेज्दा टसमस नभएका अवस्थामा स्वामीजीले जाउ काली जाउ भनेर मुसारेपछि जुरुक्क हिँडेर उठेकाे आफैले देखेकाे बताउनुहुन्छ श्रीत्रिपुरेश्वर महादेव मन्दिर ,परमानन्द सन्न्यास आश्रमका व्यवस्थापक स्वामी हरिहरानन्द सरस्वती महाराज । गाईकाे निष्ठाका सन्दर्भहरू निस्कँदा स्वर्गद्वारीका रखाल महाराजकाे प्रशंसा गर्नुहुन्थ्याे स्वामीजी ।रखाल महाराजले गाईकाे निष्ठा पूर्वक सेवा गरेकाे देखेर स्वर्गद्वारी महाप्रभुले अरु महात्मालाई छाेेडेर आश्रम रक्षा गर्ने जिम्मा रखाल महाराजलाई दिनुभएकाे हाे भन्नुहुन्थ्याे । आफूलाई भारतका जुरे गाई मन परेकाे बताउनुहुन्थ्याे ।भैँसीलाई भन्दा गाईलाई दाेब्बर स्याहार चाहिन्छ भन्नुहुन्थ्याे ।कि नपाल्नु पालेपछि राम्राेसँग पाल्नुपर्छ भन्ने मान्यता र तदनुकूलकाे आचरण पनि भेटियाे ।।
३५.मैले मागेकाे थिइन
मुनिवृत्ति तपस्वीहरूकाे सहज जीवन वृत्ति हाे ।प्राब्धले जे जस्ता परिवेश ,व्यक्ति ,वस्तु , ठाउँ ,पदार्थहरूसँग संयाेग गराउँछ त्यसैमा सन्तुष्ट हुनु वैरागीहरूकाे लक्षण हाे । हजाराैँ विद्यार्थीहरूलाई नि:शुल्क संस्कृत शिक्षा प्राप्त गर्ने अवसर जुटाउने संस्थाकाे प्रमुख सञ्चालकले मैले आजसम्म मागेकाे थिइन भनेर भनिरहँदा झट्ट पत्याउन सकिन्न ।तर कुनै कुनै कुरा सुुरुमा नपत्याए पनि अन्तताेगत्वा पत्याउनेमात्र नभएर त्यसैकाे प्रचारक पनि बनिँदाे रहेछ । रामकाेटकाे त्रिपुरेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि आर्थिक सङ्कलन गर्ने सिलसिलामा सहयाेग रसिद लिएर देवघाटधामकाेश्रीहरिहर सन्न्यास आश्रममा सन्न्यस्त जीवन बिताइरहनुभएका महात्माहरूलाई भन्नुभएकाे थियाे – टीकाे लगाएकाे भण्डारा खाएकाे पैसा कति जम्मा गरेका छाै? रामकाेटमा नयाँ मन्दिर बनाउन पर्ने बाध्यता अायाे । मैले आजसम्म मागेकाे थिइनँ।कति सक्छाै देउ । महात्माहरूले टक्टकाएकाे झाेलीबाट रामकाेटकाे मन्दिरकाे सेवामा निस्केका लक्ष्मीहरूलाई लिएर रामकाेट फर्कनुभयाे । स्वामीज्यूका जीवनका नालीबेली नियाल्दै जाँदा थाहा भयाे ।हाे रहेछ उहाँले आश्रमभित्र पनि मजबुत वीतराग जीवन बाँच्नुभएकाे रहेछ ।पहिला स्वामी परमानन्द सरस्वती महाराजले आश्रमकाे व्यवस्थापन गर्नुभयाे अहिले आश्रमका संरक्षक/अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती महाराजले आश्रमका भाैतिक पाटाहरूलाई सम्हाली रहनुभएकाे छ ।
३६.कृपालु महात्मा
महापुरुषहरूका नजिक मानवेतर प्राणीहरू पनि नजिकिन्छन् ।स्वर्गद्वारी महाप्रभुसँग गाई नजिकिन्थे । सालिमे दहमा भाष्करानन्द सरस्वतीले काला चरा पल्काउनुभएकाे छ ।रामकाेटमा हतबाट चाराे खान्छन् याे विषयकाे राम्राे प्रचार भएकाे छ ।जङ्गलमा विचरण गर्ने कालिज आश्रममा आउनु मान्छेका हातबाट चाराे खानु पनि अनाैठाे कुराे हाे । आश्रममा चाराे टिप्न आइरहने एउटा कालिजकाे भाले सन्ताउन्नकाे वर्षातमा विरामी भयाे ।चुच्चोमा घाउ भयाे ।चाराे टिप्न सक्न छाेड्याे ।तर आश्रममा आउन छाेडेन । फरक फरक टिमका भालेहरू आश्रमकाे चाैरमा जम्मा भएर लडिरहँदा उ सरासर एउटा तलाे चढेर स्वामीजीका ढाेकाबाट हेरिरहन्थ्याे ।त्याे आएकाेमा केही प्रतिक्रिया नदिएर आफ्ना पाठमा काममा लागिरहेमा भित्रै जान्थ्याे ।तल झरेर आफ्नै हातले चाराे नदिएसम्म माान्दैनथ्याे ।हातकाे चाराे टिप्ने कालिज धैरै नै थिए ।ती मध्ये त्याे बेग्लै खालकाे थियाे । भुईँकाे चाराे टिप्न नसक्ने अवस्थामा पुगेर पनि महात्माका कृपाले केही महिना बाँचेर संसारबाट विदा भयाे ।उसकाे पनि संस्कार भयाे ।आज उनै कृपालु महात्मा देहमुक्त भएपछिका संस्कारमा सहभागी हुनुपरेकाे छ ।
३७.असल सन्त
देवघाटधामकाे श्रीहरिहर सन्न्यास आश्रमकाे आयाेजनामा सम्पन्न भएकाे स्वामीज्यूकाे षाेडशीकाे अघिल्लाे दिनकाे श्रद्धाञ्जली सभामा जुममा भारतकाे वनारसबाट जाेडिएर आत्माराम गाैतमले भन्नुभयाे- मैले धेरै महात्माहरूलाई देखेँ तर स्वामी दुर्गानन्द सरस्वती महाराजजस्ताे असल सन्त भेटिनँ । श्रीदुर्गा वैदिक परमानन्द सन्न्यास आश्रमका प्रमुख आश्रमाधिपति श्री१००८ स्वामी विवेकानन्द सरस्वती महाराजले भन्नुभयाे – रामकाेटकाे आश्रमाधिपतिमात्र हुनुहुन्न स्वामी दुर्गानन्द सरस्वती महाराज उहाँ विशाल परमानन्दीय परम्पराकाे विशाल छहारी हुनुहुन्थ्याे । ।सन्तहरू अव्यक्त लिङ्ग हुन्छन् आफू नदेखिएर समाजकाे उपकार गरेका हुन्छन् भन्दै श्रीहरिहर सन्न्यास आश्रमका व्यवस्थापक ब्रह्मचारी सुभाव चैतन्यज्यूले स्वामी दुर्गानन्द सरस्वती महाराजकाे अन्तर्वृत्तिकाे खुलेर प्रशंसा गर्नुभयाे । स्वामीजीका ब्रह्मचारी शिष्य केशव चैतन्य ,शिक्षाविद् हिरामणि अर्याल ,सहप्राध्यापक भीम प्रसाद कण्डेल , सह प्रा डा. गणेश पाण्डेयज्यूका अभिव्यक्ति विशेष जानकारी मूलक भए ।१ बजे देखी ६ बजेसम्म बाेल्नुभएका वक्ताहरूका विषयवस्तुकाे विश्लेषण गरेर सारांशमा भन्नुपर्दा ब्रह्मलीन स्वामी दु्र्गानन्द सरस्वती महाराज गुरुभक्त , साधकहरूका लागि सद्गुरु ,भक्तहरूका दृष्टिमा धर्मगुरु र सबैका नजरमा वीतराग महात्मा रअसल सन्त हुनुहुन्छ भन्ने तथ्य सिद्ध हुन्छ ।
३८.महापुरुषहरूका विश्वासपात्र
मानिसकाे जुनी ,माेक्ष हुने इच्छा ,महापुरुषकाे सान्निध्य दुर्लभ वस्तु हुन् ।त्यसमाथि महापुरषकाे विश्वासपात्र बन्नु झन् ठूलाे पुण्यकाे कुरा हाे ।जीवनकालमा स्वामी दुर्गानन्द सरस्वती महाराजले समकालीन महापुरुषहरूकाे विश्वासपात्र पनि बन्नुभयाे
।जीवनमा धेरै महापुरुषहरूकाे सान्निध्य मिले पनि स्वामी परमानन्द सरस्वती महाराजलाई अधिक विश्वास गर्नुभयाे ।आफ्ना गुरुलाई सम्झँदा उहाँ भन्नुहुन्थ्याे – गुरुमा के थियाे थियाे ! गुरुजी धर्मावतार हुनुहुन्थ्याे ।म यसरी आश्रममा बसुँला भनेकाे हाेइन ।गुरुजीकाे प्रभाव मेरा लागि सर्पलाई गरुडकाे छायाँ परेजस्ताे भयाे ।अहिलेसम्म आश्रमकाे बनेर बसेकाे छु ।
३९. अनुयायीहरूकाे विश्वास
अाध्यात्मिक क्षेत्रमा विश्वासलाइ कल्याणकाे मुख्य कारक मानिन्छ ।स्वामीज्यू धेरै महापुरुषहरूकाे सम्पर्कमा रहे पनि स्वा मी परमानन्द सरस्वती महाराजकाे विश्वासमा अडिनुभयाे ।स्वामीजीका शिष्यहरू उहाँकाे विश्वासमाअडिए । रामकान्त खरेल दाङसिङबाट डाेकाभरी मुष्टिका सामग्री भरेर दिब्रुङ आश्रममा जानुहुन्छ ।आश्रमकाे गुरुआसनमा स्वामी दुर्गानन्द सरस्वती महाराज बसेकाे देख्दा झनक्क रिस उठ्छ ।डाेकाे फ्यात्त भुईँमा फालेर चरप्प समातेर आसनबाट तल हुत्ताइदिनुहुन्छ स्वामी दुर्गानन्द सरस्वती महाराजलाई ।याे कुरा परमानन्द सरस्वती महाराजलाई थाहा हुन्छ र उहाँले रामकान्त खरेललाई सम्झाएर निर्देशन दिनुहुन्छ- मैले म नभएकाे बेलामा आश्रमकाे जिम्मा दुर्गानन्द महाराजलाई दिएकाे छु ।मेराे अनुपस्थितिमा उनलाई गुरु मान्नु ।दिब्रुङकाे केही समयकाे सेवा पूरा भएपछि वानप्रस्थी बन्नुभएका रामकान्त बागलुङ पाैवाडाँडाकाे परमेश्वर राममन्दिरकाे महन्त बन्नुहुन्छ ।कालक्रमले
स्वामी परमानन्द सरस्वती महाराजकाे जीवनलीला पनि समाप्त हुन्छ । गुरुजीकाे वियाेगबाट मन व्यथित भएकाे मनले आफूलाई बाँकि जीवनमा अाध्यात्मिक रूपमा आश्रय दिने र भवसागरबाट तारिदिने आश्रयदाताकाे खाेजी गर्दै गर्दा ब्रह्मलीन स्वामी परमानन्द सरस्वतीबाट सङ्केत मिल्छ ।आफूलाई भवसागरबाट तार्ने सद्गुरु स्वामी दुर्गानन्द सरस्वती भएकाे स्पष्ट भएपछि उहाँबाट सन्न्यास दीक्षा लिएर संसारबाट विदा लिनुहुन्छ । चितवन शरदपुरका केशव अचानक आफ्ना समय सन्दर्भहरूका काम छाेडेर आफ्ना समस्याहरू सुल्झाउन माता मनकामनाका पाउमा पर्दा स्पष्ट दृश्य देखापर्छ ।समाधिसम्मकाे सेवा यात्राकाे टुङ्गाे लागेकाले कसैलाई खबर नगरी आफ्नाे कुनै व्यवस्था नगरी एक्कासी केशवजीकाे जीवनकाे बाटाे माेडिन्छ ।यात्रा घरतिरकाे हाेइन अब यात्रीका पाउ चितवनकाे घर फर्कन मान्दैनन् बागलुङकाे रामकाेटतर्फ फटाफट लम्कन्छन्।स्वामीजीबाट नैष्ठिक ब्रह्मचर्यव्रतकाे दीक्षा लिएर ब्रह्मचारी केशव चैतन्य बनेर आफ्नाे इष्टदेव ठानेर स्वामीज्यूकाे जीवनकालमा र समाधिपछिका संस्कारहरूका सेवामा समेत सहभागी हुनुहुन्छ ।यी दुवै विश्वासकाे सुखद् र भरपर्दाे परिणाम देखेकाले ब्रह्मलीन स्वामी दुर्गानन्द सरस्वती महाराजज्यूप्रति गहिराे सद्भाव रहेकाे हाेला ।
४०.टिनकाे छाप्राे
जीवनकाे मध्यकालखण्डबाट राेगले आक्रमण गरेकाे शरीरलाई उत्तरार्धमा डाक्टर र आैषधिमा निर्भर बन्न पर्ने अवस्था अायाे ।पटक पटक काठमाडाैँ धाइरहने सिलसिलामा सेवक ब्रह्मचारीहरू सहित व्यक्तिगत घरमा जाँदा घरमालिकलाई असहज भएकाे बुझेर अाश्रम परम्पराका प्रमुख स्वामी ज्ञानानन्द सरस्वती महाराजज्यूलाई आग्रह गर्नुभयाे – एउटा टिनकाे छाप्राे भए पनि बनाउन पराे ।साह्रै गार्हाे भयाे ।पटक पटक आइरहनु पर्ने ! ।
भाग्यवशात् याे चर्चा भएपछि काठमाडाैँ धापासीमा हरिहर आश्रम , नैनदेवी हरिहर गुरुकुलकाे भव्य प्रबन्ध भयाे ।आफ्नै आश्रयमा अाध्यात्मिक जीवनलाई मजबुत बनाएका निर्मल चैतन्य आश्रमका व्यवस्थापक भएकाले टिनका छाप्रामा हाेइन सुविधासम्पन्न महलहरूमा आश्रमीय सेवाभावमा उपचारमा आउँदा जाँदा पनि सहज सेवा प्राप्त भयाे ।
४१. संरक्षक
अनेक गुरुकुल आश्रमहरूका संरक्षक स्वामीज्यू पूर्वीय आचारशास्त्रकाे संरक्षक हुनुभयाे भन्दा अत्युक्ति नहाेला ।हजाराैँ विद्यार्थीका अभिभावक स्वामीज्यूका शिष्य प्रशिष्यहरूले कति संस्थानका संरक्षक मानेका छन् पूरा विवरण दिन भने सकिँदैन ।विश्वलाई साझा घर बनाएका उदार महात्मालाई संस्थाका, सम्प्रदायका, गुरुपरम्पराका ,सीमामा किन बाँधिराख्नु ।साधु विश्वका साझा आस्थाका केन्द्र हुन्छन् ।स्वामी दुर्गानन्द सरस्वती समग्र आध्यात्मिक क्षेत्रकाे श्रद्धेय सन्त हुनुभयाेे ।
४२. स्वामी छविप्रकाशानन्दज्यूकाे भविष्यवाणी
छविप्रकाशानन्द स्वामीज्यूकाे अाध्यात्मिक गहिराई जति थियाे त्यति सूक्ष्मदृष्टि ज्येातिर्विज्ञानमा पनि थियाे ।परमानन्दलाई अहिले दु:ख भए पनि पछि मानिसले भगवानका रूपमा पूजा गर्छन् ।ठूलाे ख्याति हुन्छ भन्नुभएका स्वामीजीले दुर्गानन्द सरस्वती महाराजलाई ७३ वर्षमा मृत्युका मुखबाट फर्कन पर्छ ।८२ वर्षमा खड्काे छ , लैजान सक्छ बाँचिएछ भने कष्टपूर्वक दिनहरू काट्नु पर्ने हुन्छ । यही जीवनमा आध्यात्मिक लक्ष्य पूरा हुन्छ , आफूले परिश्रम गरेकाे आश्रमकाे विकास भएकाे देख्न पाउँछाै भन्नुभएकाे थियाे भनेर स्वयं स्वामी दुर्गानन्द सरस्वती महाराजले बिहुँ रामकाेट बागलुङमा एकपटक चर्चा गर्नुभएकाे थियाे ।
४३. ब्रह्मलीन
बाँच्नु विकार हाे मर्नु प्रकृति हाे ।जन्मेकाे मर्छ ,मरेकाे जन्मन्छ ।आत्मा जन्मन्न ,मर्दैन ,अविनाशी छ , शाश्वत छ ।जीव र ब्रह्मकाे ऐक्यानुभूति भएमा अथवा जड र चेतनमा जेलिएकाे गाँठाे फुकेमा जन्म – मृत्युकाे चक्रमा पर्नु पर्दैन ।यी यस्ता सूचनाहरू परम्परादेखी बग्दै आएका हुन् हामीले समय समयमा गुरुजनहरूबाट शिक्षा उपदेश पनि प्राप्त गरिरहेका छाैँ ।स्वामी दुर्गानन्द सरस्वती महाराजकाे पाञ्चभाैतिक शरीरसँग वि.सं .२०७८ बैशाख ३० गते बिहान ९.०० बजे गुरुवर राष्ट्रसन्त स्वामी परमानन्द सरस्वती महाराजकाे समाधिस्थलबाट उत्तरपट्टिकाे श्रीहरिहर मन्दिर पछाडिकाे अनन्तश्रीविभूषित स्वामी सत्यप्रकाशानन्द सरस्वती महाराजज्यूकाे विश्राम कक्षमा वियाेग भयाे ।अब स्वामी दुर्गानन्द सरस्वती महाराज परमविश्रान्तिमा जानुभयाे ।भाैतिक पिण्ड भूतलमा रह्याे चिति परमचितिमा लय भयाे ।स्वामी दुर्गानन्द सरस्वती महाराजकाे भाैतिक जीवनकाे इहलीला समापन भयाे।महात्माकाे लीलास्मरण गरेर मन निर्मल बनाउने क्रमहरू चले ।काेभिडकाे दाेस्राे लहरकाे प्रकाेप बढेर सबै क्षेत्र ठप्प बनेका बेलामा पनि पचासवटा संस्थाका समवेदना पत्र आश्रममा आए । सामाजिक सञ्जाल हार्दिक श्रद्धासुमन र भावपूर्ण श्रद्धाञ्जलिले भरिए । एउटा वीतराग महात्माकाे अनुपस्थितिले पनि गहिराे प्रभाव पार्दाेरहेछ समाजमा !
४४.समाधि र षाेडशी
ब्रह्मलीन स्वामी दुर्गानन्द सरस्वती महाराजकाे स्थलसमाधि बैशाख ३० गते त्रिशूली र कालीगण्डकीकाे सङ्गम देवघाटधाममा भयाे ।समाधिपछिका कर्महरूमा रुद्राभिषेक , विविध पाठपारायण , मन्त्रजप ,श्रीहरिहर सन्न्यास आश्रम देवघाटधाम र श्रीत्रिपुरेश्वर महादेव मन्दिर बागलुङमा भए ।षाेडशीकाे सन्तपूजन तथा भण्डारा देवघाटधामकाे श्रीहरिहर सन्न्यास आश्रममा भयाे ।
उपसंहार
स्वाँ फ्वाँ गर्ने काम चलिरहेकाे छ भन्दैमा बाँचेकाे छु भन्न मिल्दैन । बाँचेकाे प्रमाणित गर्ने पनि आधारहरू हुन्छन् । प्राय: सबैकाे जीवनका स्वर्णिम समय कम हुन्छन् । जसलाई भाग्याेदयकाे समय भनिन्छ ।स्वामी दुर्गानन्द सरस्वती महाराजकाे बयासी वर्षकाे जीवनमा पैँसठ्ठी वर्षहरूले स्वर्णिम काल बन्ने साैभाग्य पाए ।यही कालखण्डमा आफ्नाे उद्धार, गुरुसेवा ,आश्रम सेवा ,,संस्कृत वाङ्मयकाे सेवा ,सन्तसमाजलाई मार्ग निर्देशन गर्न सफलमात्रै हुनुभएन जीवनमुक्त महात्माकाे पछिल्लाे उदाहरण बनेर जानुभयाे । काीर्तिशेष ज्याेतिर्मय स्वामी दुर्गानन्द सरस्वती महाराजज्यूमा षाेडशी तिथिका अवसरमा हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु ।
लेखक : – श्रीपरमानन्द वेदवेदाङ्ग विद्यालय ,बिहुँ, रामकाेट ,बागलुङका प्रधानाध्यापक हुनुहुन्छ ।