काँग्रेसको केन्द्रीय सदस्य पद केका लागि ?

287

कांग्रेसको वडा, गाउँ, नगर, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म राजनीति जोडिन्छ । नेतृत्व गर्ने व्यक्तिले यी चरणहरू पूरा गर्नुपर्छ । स्वाभाविकरूपमा वडा, गाउँ र नगर तहमा रहने नेतृत्वले आफ्नो क्षेत्र मात्र हेर्दै आएका छन् र आफू सक्दो राम्रो कार्य पनि गर्दै आएका छन् ।

पूरै देशको प्रतिनिधित्व गर्ने जिम्मेवारी लिएर देशैभरिको मत पाएर निर्वाचित भएका केन्द्रीय सदस्यले जुनसुकै समय, महामारी, विपद् व्यवस्थापन, स्वास्थ्य उपचारका लागि अस्पतालमा भर्ना हुन सहजीकरण गर्न, सामान्य सिटामोलसम्म उपलब्ध गराउन र सामान्य भन्दा सामान्य समस्या पनि समाधान गर्न नसकेकोमा भने आश्चर्य लाग्छ ।

कार्यकर्ताको फोन नउठाउने, झन्झट लागेर स्विच अफ गर्ने, रिसाउने, भेट गर्न पनि समय नदिने र समस्या पर्दा सहयोग नगर्ने प्रवृत्ति अधिकांश केन्द्रीय सदस्यमा देखिन्छ । आफ्नो लागि भने ‘लौ न हजुर मेरो अन्तर्वार्ता रेडियो, टेलिभिजन र पत्रपत्रिकामा प्रसारण र प्रकाशन गरिदिनुपर्यो’ भन्दै पत्रकारको चाकरी गर्दै हिँड्ने केन्द्रीय सदस्य पनि देखिन्छन् ।

चुनावका लागि सुरक्षित हुन आफ्नो निर्वाचन क्षेत्रका कार्यकर्ता, आफन्त र आसेपासेलाई अधिक ध्यान दिने प्रवृत्ति अधिकांश केन्द्रीय सदस्यमा देखिएको छ । आफन्तलाई लाभको पदमा पुर्याउनका लागि सभापतिको चाकरी र उनैको गुणगान गर्ने साथै विपक्षी दलसँग समेत लम्पसार पर्ने केन्द्रीय सदस्यहरूको पनि कमी छैन । विकास निर्माणका कार्य अलिअलि गर्न खोजे जस्तो गरेर जनताको आँखामा छारो हाल्ने काम मात्र हुँदै आएको छ ।

यस्तै रवैया देखाउने र हैसियत नभएको हुने हो भने केका लागि केन्द्रीय सदस्य बन्ने ?  आफ्नो हैसियत बनाउनै नसक्ने व्यक्ति केन्द्रीय सदस्य बन्दा देश र जनताले के पाउलान् ? नेपाली कांग्रेसको १३ औं महाधिवेशन ताका भृकुटीमण्डपमा मतदातासामु खुट्टा ढोग्दै, रुँदै भोट मागेका केन्द्रीय सदस्यले आज आफ्नो निर्वाचन क्षेत्रबाहेकका विकास निर्माणको के कुरा अमूल्य मत दिएका मतदातालाई चिन्न छोडिसकेको अवस्था छ ।

नेताका व्यवहारका कारण बिरक्तिएका मतदाताका गुनासा सुनिसक्नु छैनन् । त्यसले गर्दा यस्ता मान्छे नेतृत्वमा पुगेर देशले के पायो भन्ने प्रश्न अझ पेचिलो हुन गएको छ । हाम्रो पार्टीका त्यस्ता केही नेता भनाउँदाहरुलाई देखेर मन उदास र विरक्त भएर आउँछ ।

एउटा नेता सम्पूर्ण देशको प्रतिनिधित्व गर्ने अठोटका साथ राजनीतिमा होमिन्छ । उसको सहयोग आफ्नो निर्वाचन क्षेत्रमा मात्र विकास र कार्यकर्ता पनि त्यहाँका मात्र हेर्नमा सीमित हुने हो भने अन्य जिल्लाका मतदाताले भोट नदिएको भए कस्तो अवस्था हुन्थ्यो भन्ने पनि सोच्नुपर्ने हुन्छ ।  हालका ८५ केन्द्रीय सदस्यमध्ये अधिकांश त पार्टीमा आफूले निभाउने भूमिकाप्रति नै कुइरोमा अलमलिएको काग जस्तो अनभिज्ञ देखिन्छन् ।

नेपाली कांग्रेसलाई साच्चै जनताको कांग्रेस बनाउने हो भने १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका क्रियाशील सदस्यबाटै एक–एक जना केन्द्रीय सदस्य निर्वाचित हुने परिपाटी सुरु गर्नुपर्छ । यसै विधिले प्रदेश सभा निर्वाचन क्षेत्रबाट पनि प्रदेश सदस्य छनोट गर्ने व्यवस्था गरिनुपर्छ ।

पार्टीको विधान संशोधन गरी आगामी १४ औं महाधिवेशनमा १६५ केन्द्रीय सदस्य रहने व्यवस्था बनाउँदा केन्द्रीय सदस्यको जिम्मेवारी निर्वाचन क्षेत्रमा बढ्ने देखिन्छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट केन्द्रीय सदस्यमा विजयी नेतृत्वलाई नै प्रतिनिधिसभा सदस्य पदका लागि प्राथमिकता दिने व्यवस्था विधानमा गरिएमा चुनावका बेला उम्मेदवारीका लागि हुने तँछाड–मछाड र केन्द्रमा नेताका घरघरमा धाउने अवस्था पनि रहँदैन ।

महाधिवेशनअघि यति गर्न सके कांग्रेसले आगामी निर्वाचनमा दुई तिहाइ सांसद जित्ने आधार बन्नसक्छ । यति गर्दा पार्टीको सांगठनिक संरचना पनि मजबुत हुन जान्छ । मतदाता लगायत आम नागरिक प्रति पूर्ण उत्तरदायी र जवाफदेहीता हुनेछन् । जनताले नेतृत्वबाट लाभ लिन सक्दछन् ।

त्यस्तै, केन्द्रीय सभापति र पदाधिकारीका लागि महाधिवेशन प्रतिनिधि र निर्वाचन क्षेत्रबाट निर्वाचित केन्द्रीय सदस्यले मतदान गर्ने व्यवस्था उपयुक्त हुन्छ । किनकी कुनै नेताको फेरो नसमाती, चाकरी, चाप्लुसी र गुटमा नपरी केन्द्रीय नेता भएको देखिएको छैन । आफ्नो हैसियत र क्षमताले केन्द्रीय नेतृत्वमा पुगेका दुई–चार जना मात्र देखिन्छन् । त्यसैले हालका केन्द्रीय सदस्यहरू आफ्नै स्वार्थ र व्यक्तिगत फाइदामा मात्र लिप्त भएका देखिन्छन् ।

केन्द्रीय कार्य समितिको बैठकमा केन्द्रीय सदस्यको कुनै भूमिका देखिएन केवल पदाधिकारीले मात्र निर्णय गर्ने, ताली बजाउने र साक्षी बस्ने मात्र हो भने आफ्नो निर्वाचन क्षेत्र बलियो बनाउनु, चुनाव जितेर देखाउनु नी किन बूढानीलकण्ठ, बोहराटार र महाराजगञ्जका घरमा गएर ढोका ढकढकाउनु हुन्छ ।

नेताको घरमा गई अनावश्यक भिडभाड गरी अवरोध सिर्जना गर्नुभन्दा आफ्नो निर्वाचन क्षेत्र बलियो बनाई सांसद जित्नु नै राम्रो, केन्द्रीय सदस्य हुँ भन्ने कतिपय केन्द्रीय नेता जिल्लामा पार्टीको अधिवेशनमा भाग लिँदा क्षेत्रीय प्रतिनिधिमा चुनाव हार्ने पनि छन् । तिनै नेताले केन्द्रमा सभापति, महामन्त्री, अन्य गुटका नेताको फेरो समातेर र सुटकेस दिएर टिकट पाउँछन् र तिनैको जमानत पनि जफत हुन्छ, अनि कसरी नेपाली काँग्रेस बलियो हुन्छ ?

त्यसैले आफ्नो जिल्ला जानुहोस् र निर्वाचन क्षेत्रमा बलियो काँग्रेस बनाउनुहोस्, चुनाव जित्नुहोस्, मन्त्री बन्नुहोस्, देश र जनताको सेवा गर्नुहोस् त्यसैमा नेपाली काँग्रेसको जित हुनेछ ।

नेता बन्ने रहर र चुनाव जित्न मन छ भने गाउँमा पार्टीको जग बसालौँ । गाउँका प्रत्येक व्यक्तिलाई आफ्नै परिचयले चिनाई वडा, पालिका हुँदै निर्वाचन क्षेत्रका प्रत्येक मतदातासँग हातेमालो गरौँ । स्थानीय नागरिकको मन जितौँ । कार्यकर्तालाई माया गरौं, संरक्षण गरौं, समस्या पर्दा हेरौं, बेरोजगार युवालाई उद्यमशिलता बनाऔं, जनताको दैलो–दैलोमा पुगौँ, समुदायसँगै मिली बसौं । समुदायबाट सिकौँ, समुदायसँग मिलेर योजना तर्जुमा गरौं । उदाहरण दिई सिकाऔँ, समुदायमा नेतृत्वको विकास गरौं । सरकारी गैर सरकारी र निजी क्षेत्रहरूसँग सहकार्य गरी कार्य गरौं । सुशासन, पारदर्शिता र जवाफदेहितालाई संस्थागत गरौं । सरकारले गरेका गलत क्रियाकलापको जनतामाझ भण्डाफोर गरौं, विकासका नाममा आएको रकम दलीय भागबण्डामा नबाडौँ र नखोजौं, आयोजनामा दलीय भागबण्डामा मिलेमतो नगरौं । केन्द्रीय स्तरको नेता दाबी गर्नेले क्षणिक र नटिक्ने कुरा गरेर आफैलाई अयोग्य नबनाऊँ । त्यसैले नेता हुन नागरिकको सेवक बन्न सिकौँ नत्र जागिर वा व्यापार रूचिअनुसार रोजौँ ।

अपशोच, केही केन्द्रीय सदस्यको भूमिका दलीय भागवण्डा मिलाउनको लागि उपभोक्ता समितिमा अध्यक्ष, सचिव र कोषाध्यक्ष फरकफरक दलको राखेर, मैले पिटेझैं गर्छु तँ रोएझैं गरेस् भनेर मिलेमतोमा व्यापक आर्थिक अनियमितता हुने गरेको छ । दलीय भागबण्डामा सहभागी हुनेहरूले उपभोक्ता समितिमा बसेर वर्षमा एउटा घडेरी किन्न सक्ने भएका छन् । तर, राजनीतिको जग कमजोर बनाएका हुन्छन् । केन्द्रीय नेता हुन भ्रष्टाचारी नभई सदाचारी हुन आवश्यक छ ।

नेपाली कांग्रेस अहिले इतिहासकै कमजोर अवस्थामा पुगेको छ । पार्टीभित्र समूह त स्वयं हुने कुरा हो, रोक्न पनि सम्भव नहोला तर गुटबन्दी बनाउने छुट कसैलाई हुनु हुँदैन । पार्टीभित्रको चरम आन्तरिक गुटबन्दी झाँगिदै गएकाले नै पार्टी कमजोर हुँदै गएको हो । आफैँलाई नेता भन्ने घमण्ड गरिन्छ भने त्यसको परिणाम १४ औं महाधिवेशनमा पुष्टि हुनेछ । केन्द्रीय सदस्यले राजनीतिलाई आफ्नो निर्वाचन क्षेत्र, टोल र परिवारमा सीमित गरेमा त्यो सीमा नागरिकले समय आउँदा देखाउनेछन् ।

पर्खालभित्रको संसार भ्यागुताको हो, पर्खाल बाहिरको संसार जनताको हो । त्यसैले जनता पहिचान गर्ने भए आफ्नो निर्वाचन क्षेत्रका मात्र जनता देख्ने तीनपुस्तेदेखि युवा नेताहरूले पर्खाल भत्काएर बाहिरी जिल्लासँग पनि सहकार्य गर्न आवश्यक छ ।

सात प्रदेश र ७ सय ५३ वटै स्थानीय तहसम्मका कार्यकर्ताहरूलाई प्रशिक्षण दिएर सशक्त कांग्रेस बनाउनका लागि सबै केन्द्रीय सदस्यलाई जिम्मेवारी दिई खटाउन आवश्यक छ । त्यसपछि बल्ल नेपाली कांग्रेस बलियो पार्टी हुनेछ 

(लेखक नेपाली कांग्रेस अर्घाखाँचीका महाधिवेशन प्रतिनिधि हुन्)