काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमृत भाषाका रुपमा रहेको संस्कृतको पुनर्जागरण गरिनुपर्ने बताएका छन् । प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठको ७० औँ वार्षिकोत्सवका अवसरमा साेमबार जुम प्रविधिबाट आयोजित कार्यक्रममा उनले संस्कृत मासिने भाषा नभएको बताए । उनले ज्योतिष, आयुर्वेद, दर्शनजस्ता ज्ञान, विज्ञान रहेकाले संस्कृत विश्वकै धनी भाषामध्येमा पर्ने बताए ।
विद्यापीठका पूर्व विद्यार्थीसमेत रहेकाे पौडेलले संस्कृत भाषाकै पृष्ठभूमिमा नेपाली भाषा परिष्कृत भएकाले राजनीतिकै कारण यसलाई बिगार्नु नहुने बताए । “यही क्षेत्रमा समर्पित हुने संयोजकको आवश्यकता छ, राजनीतिक क्षेत्रबाट सहयोग गर्ने काम हामी गर्छौँ, संस्कृतको पुनर्जागरण गर्न लागिपर्नुपर्छ, निराशा छोडेर आशावादी बनौँ, जयतु संस्कृतम्बाट लोकतन्त्र स्थापना भएको छ, संस्कृतका विद्वानमा एकताको भावना आवश्यकता छ, गुरु सत्यका पक्षधर बन्नुपर्छ”, उनले भने ।
विसं २०२० देखि २०२४ सालसम्म आफूले तत्कालीन संस्कृत महाविद्यालयबाट संस्कृत साहित्यमा शास्त्री उत्तीर्ण गरेको नेता पौडेलले सुनाए । “मलाई राजनीतिमा स्थिर हुन संस्कृत पृष्ठभूमिले साथ दिएको छ, संस्कृत र यसका विद्वानप्रति कृतज्ञ छु”, उनले भने