‘ब्याचमेट आईजीपी हुँदापनि डिआईजी समेत हुन सकेनन्’

320

काठमाडौं – प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेपछि जो कोहीलाई पनि संगठन प्रमुख भएर नेतृत्व हाँक्ने दौडमा हुन्छन्। प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप कुमार चौधरी पनि प्रहरी महानिरीक्षक (आईजीपी) भएर संगठनको नेतृत्व हाँक्ने दौडमा थिए। कामको सिलसिलामा २०६७ सालमा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर वृत्तको प्रमुख हुने अवसर पाए चौधरीले, जतिबेला उनी प्रहरी नायब उपरीक्षक (डिएसपी) थिए। तत्कालिन नेपाली सेनाका प्रधानसेनापति रुकमांगत कटवाल प्रकरणपछि माओवादी सत्ताबाट सडकमा आएको थियो। माओवादीले सडक आन्दोलन गर्ने घोषणा गर्यो। नयाँ बानेश्वर आन्दोलनको मुख्य केन्द्रमा थियो। आफ्नो क्षेत्र भएको कारण डिएसपी चौधरी सो क्षेत्रमा प्रहरीका कमान्डर थिए। डिएसपी चौधरी आफैं फिल्डमा जानपथ्र्यो। आन्दोलन हिंसात्मक बन्दै भएपछि माओवादी कार्यकर्ताले डिएसपी चौधरीलाई नियन्त्रणमा लिएर कुटपिट गरे। ढुंगामुढा र कुटपिटबाट उनी गम्भीर घाइते भए। घाइते भएका उनको लामो समय अस्पतालमा राखेर उपचार भयो।

आन्दोलनमा माओवादी कार्यकर्ताको कुटपिटबाट घाइते चौधरीलाई सान्त्वना दिँदै सरकारले तत्कालै कामु एसपी बनायो। कामु एसपी भएपछि उनले आफ्नो (२०४९ वैशाख १९) को ब्याचमा फड्को मारे। एसपी बढुवामा उनको १ नम्बरमै नाम निस्किएको थियो। त्यसपछि चौधरी भावी आईजीपीको दौडमा अघि बढे। चौधरी एक नम्बरमा एसपी भएपछि स्वभाविक रुपमा पनि एक प्रमुख प्रतिस्पर्धीका रुपमा हेरिएको थियो। जतिबेला उनको ब्याचबाट शैलेश थापा क्षेत्री दोस्रो, निरज शाही तेस्रो, हरि पाल चौथो, प्रद्युम्न कार्की पाँचौ र देवबहादुर बोहरा छैंठौं नम्बरमा एसपीमा बढुवा भएका थिए। तर, उनै चौधरी आईजीपीको प्रतिस्पर्धाको त के कुरा प्रहरी नायब महानिरीक्षक (डिआईजी) पनि नभई एसएसपीबाट अवकाश पाउने भएका छन्। आगामी १० असारमा एसएसपीको ५५ वर्षे उमेरहद कारण चौधरी अवकाशमा जान लागेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। ब्याचमेट शैलेश थापा क्षेत्री संगठन प्रमुख भएर नेतृत्व हाँकिरहँदा चौधरी एसएसपीबाटै रिटायर्ड हुन लागेका हुन्। एसपी बढुवामा चौधरीभन्दा जुनियर रहेका हरि पाल, निरज शाही, प्रधुम्न कार्की प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) छन्। बोहोरा पनि डिआईजी भइसकेका छन्। पछिल्लो १३ पुस २०७७ को डिआईजी बढुवामा समेत चौधरीलाई अन्याय भएको प्रहरी अधिकारीहरु नै बताउँछन्। उक्त डिआईजी बढुवा हुँदा एसपीमा दोस्रो नम्बरमा रहेका शैलेश थापा क्षेत्री आईजीपी हुँदा उनलाई डिआईजीमा पनि बढुवा गरिएन्। राजनीतिक शक्तिबाट कमजोर हुँदै गएपछि चौधरी बढुवामा पछि परेको चर्चा प्रहरी प्रधान कार्यालयमै सुनिन्छ। कांग्रेस नेता विजयकुमार गच्छदारसँग निकट हुन् चौधरी। तर, गच्छदारलाई अख्तियारले पोलेपछि चौधरी पनि बढुवामा पछि पर्दै गए र एसएसपीबाटै अवकाश हुनुपरेको छ। जबकी चौधरीभन्दा निकै जुनियर ब्याचका विश्वराज पोखरेल एआइजी भइसकेका छन्। पोखरेल ११ चैत २०४९ को वैकल्पिक टोलीका इन्सपेक्टर हुन्। मंसिर १५ मा गृह मन्त्रालयमा बसेको बढुवा समितिले पोखरेललाई एआईजीमा बढुवा सिफारिस गरेसँगै उनले क्षेत्रीपछिको प्रहरी प्रमुखको दाबी पक्का गरेका छन्। सिनियर टिमका अधिकृत डिआईजी र एसएसपी रहेपनि सरकारले जुनियर ब्याचका पोखरेललाई एआईजीमा बढुवा सिफारिस गरेपछि चौतर्फी आलोचना भएको थियो।

निवर्तमान उप–प्रधानमन्त्री ईश्वर पोखरेलले आफ्ना भाइ नाता पर्ने विश्वराजलाई हस्तक्षेप गरेर एआईजीमा बढुवा गराएको भन्दै आलोचना भएको थियो। त्यस्तै चौधरीभन्दा जुनियर ब्याचका अरु थुप्रै डिआईजी पनि भइसकेका छन्। सहकुल थापा, धीरज प्रताप सिंह, वसन्त लामा, रवीन्द्र धानुक, उत्तम सुवेदी, अरुण विसी, दिवेश लोहनी, मुकुन्द आचार्य चौधरीभन्दा जुनियर भएपनि डिआईजी भइसकेर इन्चार्ज खाइसकेका छन्। आईजीपी क्षेत्रीकै ब्याचीहरु देवबहादुर बोगटी र किशोर कुमार दाहालले पनि एसएसपीबाट अवकाश पाइसकेका छन्।

एसएसपीहरु सौरभ राणा, राजेन्द्र चौधरी, शेखर कोइराला, प्रदीप कुमार श्रेष्ठ पनि आईजीपीको ब्याची हुन्। उनीहरुले तारावाला गाडी चढ्न पाउने हो वा होइन, थाहा छैन। शक्ति केन्द्रले कसलाई रुचाउँछ भन्नेमा उनीहरुको करिअर निर्भर छ। उनीहरुको पनि अहिले उही चाहना छ, अवकाशको मुखमा डिआईजी बन्ने। तर, यसको लागि सरकारले दरबन्दी थप गर्नुपर्ने हुनछ। दरबन्दी थप नभएमा उनीहरु एसएसपीबाटै अवकाशमा जानेछन्। इन्सपेक्टरमा ठूलो संख्यामा भर्ती गरिन्छ। तर जति माथि बढुवा हुँदै गयो, उति नै कोटा साँघुरिँदै जान्छ। त्यसमाथि बढुवामा अस्पष्ट र अपारदर्शी नीतिले धेरै सकल दर्जाले तल्लै तहमा सेवा टुंग्याउँछन्।