बाढीपहिरोपीडितको उद्धार र राहत वितरण कार्यमा जुट्न तरुण दलका अध्यक्ष बस्नेतको निर्देशन

212

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बाढीपहिरोपीडितको उद्धार र राहत वितरण कार्यमा जुट्न ७७ वटै जिल्ला कमिटीलाई निर्देशन दिएका छन् ।

सिन्धुपाल्चोक, म्याग्दी, कास्की, दाङ, बाग्लुङ, पाल्पा, मनाङलगायत देशका विभिन्न ठाउँमा बाढीपहिरोले ठूलो जनधनको क्षति व्यहोर्नु परेको भन्दै उनले सबै जिल्ला समितिहरूलाई उद्धार र राहत वितरणमा तत्काल जुट्न निर्देशन दिएका हुन् ।

‘जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार अझै केहि दिन लगातार वर्षा हुने पूर्वानुमान गरिएको छ । यस्तो समयमा खोला, नदी, नालाहरुमा पानीको बहाव बढ्ने र बाढी र पहिरोको जोखिम पनि उत्तिकै बढी रहने सम्भावना रहन्छ,’ बस्नेतले बुधबार बिहान जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले यस्तो अवस्थामा आफ्नो जिल्ला, क्षेत्रमा हुन् सक्ने विपद जोखिमको पूर्वानुमान गरी सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्धार र राहत वितरण कार्यमा जुट्न जिल्ला एवं स्थानीय तहका सम्पूर्ण तरुण युवा साथीहरुलाई नेपाल तरुण दल केन्द्रिय समिति निर्देशन गर्दछ ।’

अध्यक्ष बस्नेतले विपदका बेला कार्य गर्ने सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रसलगायतका सामाजिक संघसंस्थाहरु एवं मातृपार्टी कांग्रेस र अन्य भ्रातृसंगठनसंग पनि आवश्यक समन्वय सहकार्य गर्न निर्देशन दिएका छन् ।