अनलाइन कक्षा: बाह्र वर्ष रामायण पढायो सीता कसकी छोरी?

604
गणेश लम्साल । “कति सहरियाहरूले चार- भन्ज्याङ्भित्रलाई मात्र नेपाल सम्झेका छन् ।नेपालको परिधिभित्र कति जिल्ला छन्; कहाँ कुन-कुन किसिमको सुधारको आवश्यकता छ इत्यादि कुरा उनीहरूलाई पत्तै हुँदैन ।´´ उक्तांश मैले निबन्धकार बदरीनाथ भट्टराईको `देशप्रेम´ निबन्धबाट सापट लिएको हुँ ।हो,सहरिया एवम् आफूलाई नेता भनाउनेहरूले पूर्वमा साँगा,पश्चिममा वाण,उत्तरमा पाटी र दक्षिणमा चन्द्रागिरी-भित्रको उपत्यकालाई मात्र नेपाल सम्झेका छन्। आज पनि देशका कतिपय जिल्लाहरूमा फोनमा कुरा गर्न रूखमा चढेर नेटवर्क खोज्नुपर्ने वा अर्को गाउँसम्म पुग्नु पर्ने बाध्यता छ भन्ने सुन्दा उनीहरुलाई हाँसो उठ्न सक्ला ।
विकासको यस्तो अभाव देख्न सुदूर पश्चिम र कर्णालीका जिल्लासम्म पनि पुग्ने कष्ट गर्नुपर्दैन।एकपटक थानकोटबाट बाहिरिएर नजिकैका जिल्लाहरूमा पुग्ने हो भनेपनि कहाँ के कति सुधारको खाँचो छ ? छर्लङ्ग भइहाल्छ। तर यति गरिरहने फुर्सद कसलाई र कहाँ छ? कुरा फोनकै हो।हाल कोरानाको कहरले देशमा निषेधाज्ञा चलिरहेको छ ।हरेक क्षेत्र ठप्प रहँदा सम्पूर्ण शैक्षिक संस्था पनि बन्द छन्। सरकारले विद्यार्थीहरूलाई घरै बसेर अनलाइन पढ्ने आदेश दिएको छ। विद्यार्थी सहरमा मात्र नभएर गाउँमा पनि छन्। देशको दुर्गति भनौँ,नामले 4G सेवा तर सेवा लिन भने उही माथि भनेझैँ रूखकै टुप्पोमा पुग्नुपर्ने स्थिति।नेपाल टेलिकमले २०७६ माघ २२ बाट ७७ वटै जिल्लामा सुरु गरेको 4G सेवाको झण्डै डेढ वर्ष बितिसक्दा पनि ग्रामीण क्षेत्रमा गुणस्तरको यो हालत हुनुमा कोही जिम्मेवार एवम् जवाफदेही छन् ?
यो समस्याका बारेमा कोही जानकार छन्?कि सबै नै अनभिज्ञ छन्? सरकारी भनेपछि भाँचिएकै, बिग्रिएकै र नचल्ने नै हुनुपर्ने हो? भन्ने एक नेपाली चलचित्रको भनाइ नेपालका प्राय:सरकारी सेवासँग मेल खान्छ। नेपाल टेलिकमको 4G सेवा ग्रामीण क्षेत्रमा पनि ठ्याक्कै त्यस्तै छ। म गाउँबाट ( छत्रदेव-८,अर्घाखाँचीबाट)जेठ १६ देखि जेठ ३१ सम्म अनलाइन कक्षामा जोडिएँ तर नेटवर्कका कारण कक्षा भने राम्ररी सुन्न र बुझ्न सकिन। १ घण्टाको अनलाइन कक्षामा ४-५पटक जोडिँदा कक्षा नै सक्किसक्थ्यो। पढाइको उपलब्धि भनेको त उही बाह्र वर्ष रामायण पढायो सीता कसकी छोरी भनेझैँ ।
मैले नेपाल टेलिकमको 4G सेवाको ग्रामीण क्षेत्रका बारेमा यति लेखिरहँदा अझै पनि कतिपयलाई लाग्दो हो ; देशमा अझै यस्तो स्थिति होला र के? उनीहरूका निम्ति बदरीनाथ भट्टराईकै शब्द सापटीमा एउटै जवाफ छ मेरो:- “देशप्रेम कामले देखाउँछ, मुखले होइन ,परिणामले स्पष्ट पार्छ ,उखानले होइन,क्रियात्मक प्रगतिले दर्साउँछ ,आडम्बरले होइन ,पवित्र भावनाले झल्काउँछ ,मिथ्या प्रचारले होइन।´´ अन्त्यमा फेरि पनि भन्न चाहन्छु; नेपाल टेलिकमको 4G सेवाको गुणस्तरीयता टेलिभिजनमा बज्ने मिथ्या प्रचारले होइन परिणामले देखाउँछ। –
गणेश लम्साल अध्ययनरत:-स्नातक तेस्रो वर्ष,वाल्मीकि विद्यापीठ,काठ्माडौँ हाल:- छत्रदेव -८,अर्घाखाँची