बाढीले अर्घाखाँची र प्युठान जाेड्ने निर्माणाधीन पुल भत्कायो

528

घनश्याम पाैडेल अर्घाखाँची, ३ असार । अर्घाखाँचीको च्याउरेखोला र प्युठानकाे माझिदमार जोड्नका लागि बनाउदै गरेकाे पुल भत्किएको छ । ऐरावती गाउँपालिका–१ माझिदमार र अर्घाखाँचीको शितगंगा नगरपालिका–७ चिउरेखोला जोड्ने निर्माणाधीन पक्की पुल भत्किएको हो ।

लगातारकाे अविरल वर्षाका कारण झिमरुक खोलामा पानीको बहाव बढेपछि पुल भत्किएको हाे । चार दिन अगाडि मात्रै ढलान भएको ७० मिटर लामो उक्त मोटरेबल पुलको ३५ मिटर भाग भत्किएको सडक डिभिजन कार्यालय प्यूठानका इन्जिनियर अरुण केसीले जानकारी दिए । बाढीले टेकाहरु बगाएपछि पुल कमजोर भइ भत्किएको हुनसक्ने सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ ।

३५ मिटर पुलको स्ल्याप भाँचिएर नदीमा खसेको समेत केसीले जानकारी दिए । आर्थिक वर्ष २०७४/७५ मा ठेक्का सम्झौता गरी पुल निर्माण गरिएको थियो । चालु आर्थिक वर्षको असार २८ गतेभित्र पुल निर्माणको म्याद सकिदै छ । अमर कन्ट्रक्सन प्रालिले पुल निर्माणको जिम्मा पाएको छ । पुल भत्किएपछि यस क्षेत्रका स्थानीय निराश बनेका छन् । संघीय सरकारबाट विनियोजित सात करोड १२ लाख रुपैयाँमा सम्झौता भएको डबल स्पानको ११ मिटर चौडाइ र ७० मिटर लम्बाइ पुल निर्माणको अन्तिम चरणमा पुगेको थियो ।