पशुपतिमा राममन्दिरको पुनर्निर्माण शुरु हुँदै, पशुपति क्षेत्रबाट साधु,सन्तलाई विस्थापित नगराउने पर्यटनमन्त्रीको दाबी

282

काठमाडौं । पशुपति क्षेत्रभित्र राममन्दिरको पुनर्निर्माण शुरु हुने भएको छ । पशुपति क्षेत्र विकास कोषले दाताहरुको सहयोगमा पशुपति क्षेत्रभित्र राममन्दिरको पुनर्निर्माण शुरु गर्न लागेको हो ।

आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले राममन्दिर पुनर्निर्माणको शिलान्यास गर्दै पशुपति क्षेत्रभित्रका सम्पदा पुनर्निर्माण प्रक्रिया पारदर्शी बनाउन निर्देशन दिएका छन् ।

उनले आफु पनि नखाने र अरुलाई पनि खान नदिने आफ्नो एकमात्रै उद्देश्य रहेको बताउँदै कुनैपनि समय आफु आएर हेर्नसक्ने बताए । उनले भ्रष्टाचार हुन नदिनका निम्ति सजग पनि गराए ।

उनले भने,‘पारदर्शी गरिदिनुहोला । म व्यक्तिगत भ्रष्टाचारको विरुद्धको आन्दोलनले आज मन्त्रीसम्म पुगेको छु र मेरो एउटै उद्धेश्य हुन्छ, न खान्छु न खान दिन्छु कसैलाई । त्यतातिर एकदम पारदर्शी रुपले गर्नुहोला । नत्र जतिबेला पनि म आफैँ आएर हेर्नसक्छु । चेक गर्न सक्छु । त्यतातिर पनि म अहिले नै सतर्क र सजग गराउन चाहान्छु ।’

मन्दिर पुननिर्माण गर्दा पशुपति क्षेत्रका साधु, सन्तलाई विस्थापित गराउन लागिएको भन्दै साधु, सन्तले विरोध जनाइरहेको सन्दर्भमा मन्त्री अरगरियाले पशुपति क्षेत्रबाट साधु, सन्तलाई विस्थापित नगराइने बताए । निर्माणको काम सकिइसकेपछि उनीहरुलाई पुर्नस्थापना गरिने उनले बताए ।

उनले भने,‘यो मन्त्रालय सस्कृतिको रक्षा गर्ने मन्त्रालय हो । संस्कृतिको रक्षा हुन्छ । बाबाहरु यदी पहिलादेखि बसिराख्नु भएको छ भने नठान्दा हुन्छ कि हामीलाई बिस्थापित गर्छ । यो कुरामा मन्त्रालय पनि एक्टिभ भएर बाबाहरुको साथमा हुन्छ र यो बनिसकेपछि बाबाहरुलाई पुर्नस्थापना दिइनेछ ।’

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई तपोभुमिको रुपमा विकास गर्ने ध्येय रहेको बताए । उनले पशुपति क्षेत्र ज्ञान र विज्ञानको सम्बन्धमा बहस गर्ने थलोको रुपमा विकास हुने विश्वास पनि व्यक्त गरे।

उनले भने, ‘यो क्षेत्र हामीले सोचेको सन्त, महात्माहरुको प्रवचन गुञ्जिरहोस् । यो क्षेत्रमा अध्ययन, अध्यापन होस्, संस्कृतको श्लोकहरु गुञ्जिरहोस् र एउटा तपोभुमिको रुपमा विकसित होस् भन्ने हाम्रो सोच रहेको छ । र त्यही रुपमा विकास गर्ने ध्येय रहेको छ । यो थलो ज्ञान र विज्ञानको बहस गर्ने, तर्क गर्ने थलोको रुपमा पनि विकास हुनेछ भनेर मैले विश्वास लिएको छु ।’ नेपालप्रेसबाट साभार