घनश्याम पौडेल
अर्घाखाँची, ४ असार । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाले आगामी आर्थिक २०७८/०७९ मा ३ वटा स्वास्थ्य चौकी बनाउँने भएको छ । पाणिनी गाउँकार्यपालिकाको बैशाखमा बसेको बैठकले लुम्बिनी प्रदेश सरकारसँग स्वास्थ्य चौकी निमार्णका लागी १ करोड ५० लाख रुपैँया माग्ने अधिकारसँगै माग गरेको गाउँपालिका अध्यक्ष अच्युत गौतमले बताए ।
लुम्बिनी प्रदेश सरकार र पाणिनी गाउँपालिकाको समपुरक कार्यक्रम अन्र्तगत पाणिनी गाउँपालिकाको वडा नं. १ पणेना, वडा नं. ४ पटौटी र वडा नं. ६ धातिवाङ्गमा नयाँ स्वास्थ्य चौकी भवन बन्ने भएका हुन ।
पणेना स्वास्थ्य चौकीको लागी चालु आर्थिक वर्षमा नै ढलानको काम भईसकेको छ । पणेनामा गाउँपालिकाको २५ लाख र प्रदेश सरकारको २५ लाख गरी ५० लाख रुपैँयामा भवन बन्ने र बहुवर्षे योजना अन्र्तगत सुरु भएको स्वास्थ्य चौकी निमार्णका लागी आवश्यक रकम थप्ने बताईएको छ ।
वडा नं. ६ को धातिवाङ्ग स्वास्थ्य चौकीको लागी ३७ लाख ५० हजार गाउँपालिकाबाट र प्रदेशबाट पनि समपुरकमा रकम विनियोजन भएकाले बहुवर्षमा भवन बन्नेछ ।
पटौटी स्वास्थ्य चौकीमा गाउँपालिकाको २५ लाख र प्रदेश सरकारको २५ लाख गरी ५० लाख रुपैँयामा भवन बन्ने र बहुवर्षे योजना अन्र्तगत सुरु भएको स्वास्थ्य चौकी निमार्णका लागी आवश्यक रकम थप्ने गाउँपालिकाले जनाएको छ।
पाणिनी गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थामा औषधिको अभाव हुन नदिने गरी बजेट विनियोजन गर्ने गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले बताईन ।
पाणिनी गाउँपालिकाले चालु आर्थिक वर्षमा नै स्वास्थ्य चौकी, कोभिड अस्पताल, सामुदायिक स्वास्थ्य इकाईमा आवश्यक स्वास्थ्यकर्मी नियुक्ती गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद घिमिरेले बताए ।