काठमाडौँ, ६ असार । नेपाल कम्युनिष्ट पार्टीभित्रको झगडाका कारण यतिबेला देशभर सरकार ढल्ने र बन्ने क्रम जारी छ ।
यसमध्ये गण्डकी प्रदेशमा पनि पृथ्वीसुब्बा नेतृत्वको सरकार ढलेर नयाँ सरकार गठन भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रसहित बहुमत सांसदको समर्थनमा काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका छन् ।
अहिले मुख्यमन्त्री पोखरेललाई मन्त्रीमण्डल विस्तारमा चुनौती देखिएको छ । उनलाई समर्थन गरेका दलले आकर्षक मन्त्रालय मागेसँगै मुख्यमन्त्रीलाई समस्या परेको हो ।
सरकारसँग मन्त्रालयको कुरा नमिलेपछि गोरखा क्षेत्र नं २ प्रदेश (क) का निर्वाचित सांसद हरिशरण आचार्यले आइतबार एक अन्तवार्तामा ‘काँग्रेस चाम्रो भएको’ प्रतिक्रिया दिएका छन् ।
विस २०७४ सालको प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा नयाँ शक्ति पार्टीको तर्फबाट काँग्रेसको समर्थनसहित निर्वाचन लडेका उनै सांसद आचार्यलाई नेपाली काँग्रेस गोरखाका जनताले निर्वाचित गरेर गण्डकी प्रदेशको यात्रा तय गरिदिएका हुन् ।
उनै काँग्रेसी जनताको मतबाट निर्वाचित भएका आचार्य अहिले आफूले भनेजस्तो मन्त्रालय नपाएपछि काँग्रेस चाम्रो रहेछ भन्ने अभिव्यक्ति दिनु कत्तिको जायज होला ?