अनन्तप्रसाद घिमिरे
पाणिनी , अर्घाखाँची  –  विगत लामो समयदेखि विश्व कोभिड १९ को महामारीले ग्रस्त छ; जसबाट नेपाल पनि अछुतो रहन सकेन। धेरै समयसम्म कोरोना विरुद्धको खोप विकास हुन नसक्नु, खोप विकास भएपनि सम्पुर्ण नागरिकहरुले सहज रुपमा खोप प्राप्त गर्न नसक्नु, नयाँ नयाँ भेरियन्टहरु आउनुजस्ता सन्दर्भहरुले अझै पनि परिस्थिति सहज भइ यथावत् ढङ्गले कामकाज हुनेमा शंका नै देखिन्छ। यस्तो परिस्थितिमा कोरोनाबाट डराएर,भागेर,घोत्लिएरमात्रै समस्या समाधान हुने देखिदैन।

कोभिड १९ को महामारीबाट देशका प्रायः सबैजसो क्षेत्र सिथिल बन्दै गएको परिप्रेक्ष्यमा नेपालको सन्दर्भमा शिक्षा क्षेत्र नराम्रोसग प्रभावित बनेको तथ्य हाम्रोसामु जगजाहेरै छ। हामी कुरा गरेर कहिल्यै थाक्दैनाै तर विकल्प सोच्न पनि सक्दैनौं ।अघिल्लो वर्षको शैक्षिकसत्र गरेर भन्दा पनि हेरेर बितायाैं। कैयौं मुलुकहरुलेमात्रै होइन नेपालका धेरैजसो शैक्षिक सस्थाहरुले पनि शैक्षिक कार्यकलापलाइ वैकल्पिक ढंगले अधि बढाउन सकिन्छ है भन्ने गतिलो नमूना प्रस्तुत गरेको सुन्न पाएका छौ तर केहि स्थानीय तहहरुले रमिता हेर्नेबाहेक बैकल्पिक सिकाइका सन्दर्भमा कुनै प्रयास गर्न समेत नसकेको तथ्य हाम्रोसामु स्पष्ट नै छ। शिक्षकहरु घरमै बसे,विद्यालय नपुगेरै तलब खाए भन्नेहरूको कुनै कमि देखिदैन तर त्यस्तो भन्नेहरुले नै समय सुहाउँदो उपयुक्त विकल्प प्रस्तुत गर्न भने सकिरहेका छैनन् ।

विश्वलाई नयाँ नयाँ प्रविधिले निकै अघि बढाइसकेको छ। आजको मान्छे एउटा कोठामै बसेर देश विदेशका सम्पुर्ण कार्यहरु सक्ने भएको छ तर हामीहरु त्यस्ता समाचारहरु सुनेरमात्रै बसेका छौ । शिक्षा क्षेत्रको अभिभावकको जिम्मा लिएको शिक्षा मन्त्रालय,विभाग, स्थानीय निकायहरुमात्रै होइन स्वयं विद्यालयहरुले पनि समस्या समाधानका विषयमा लाचारिपन देखाएर एकले अर्कोलाई दोषारोपण गरि महत्त्वपूर्ण समय बिताइरहेको देखिन्छ। शिक्षालाई प्रविधिसग जोडेर निरन्तरता दिने सवालमा अब ढिला गरिनु हुदैन भनेर अघिल्लो वर्षदेखि नै घाँटी सुकुन्जेल चिच्याउने स्थानीय निकायहरुले आजसम्म के कस्तो प्रगति गर्न सके,त्यसको जवाफ दिनैपर्छ । शिक्षामा आमूल परिवर्तन ल्याउनु पर्छ र त्यो सबैका लागि हुनुपर्छ भनेर नारा बनाउने शिक्षकका संघ संगठनहरुले सम्वन्धित निकायहरुमा के कस्तो सुझाव र सल्लाह दिन सके,त्यसको पनि जवाफ विद्यार्थी र अभिभावकहरुलाइ दिन सक्ने तागत राख्न सक्ने कि नसक्ने?स्वयं विद्यालयहरुले पनि असहज अवस्थामा शिक्षण सिकाइ कार्यकलापलाइ निरन्तरता दिने विषयमा के कस्ता सकारात्मक योजना बनाउन सकियो ? जस्ता यावत् प्रश्नहरु अहिले उठिरहेका छन् ।यी तमाम प्रश्नहरुको जवाफ दिने नैतिक जिम्मेवारी सम्वन्धित पक्षले लिनुपर्छ।

विद्यालयको प्रशासकीय जिम्मेवारी लिएका प्रधानाध्यापकहरु पनि यतिखेर अन्योलमा छन् । कोरोना विरुद्धको खोप समेत नपाएर निरीह बन्न वाध्य छन् । राज्यले पुरै वेवास्ता गरेको महशुस गर्दै केहिसमय खोपलाइ विद्यालय प्रवेशको मुख्य सर्त राखेका शिक्षकहरु अहिले विद्यालयकै प्रधानाध्यापकको निर्देशनमा विद्यालय पुग्नै परेको छ तर विद्यालयमा पुगेका शिक्षकहरुलाइ काम के दिने भन्नेमा भने उनीहरु नै मानसिक रुपमा अन्योल देखिन्छन् । राज्यले पनि कर्मचारीहरुमा विभेद सिर्जना गरेको छ।निजामती क्षेत्रका सम्पुर्ण कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप दिइसक्दा विद्यालयका शिक्षक,विद्यार्थी
हरुलाइ भने विभिन्न बहाना बनाइ आलटाल गरिरहेको छ।

अहिले विद्यालयहरुमा विद्यार्थी छैनन्, शिक्षक विद्यालयमा कसरि पुग्न सकिन्छ भनेर सोचिरहेका छन् भने अभिभावकहरुले आफ्ना वालवालिकाहरुलाइ सुरक्षित ढंगले सिकाइमा कसरी जोड्न सकिन्छ भनेर चिन्तित छन् तर तालुकदार निकाय भने त्यस विषयमा माैनजस्तै देखिएका छन् ।शिक्षा क्षेत्रका केही स्वघोषित विद्वानहरु अनलाइन शिक्षाको विरोध समेत गर्दैछन् तर खै अनलाइन कक्षाको तयारिका लागि यति लामो समय पाँउदा पनि कुनै ठोस कार्ययोजना ल्याउन नसक्नुमा कसले जिम्मेवारी लिने?