घनश्याम पौडेल
अर्घाखाँची, १० असार । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाले निती तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । कृषि तथा पशुपालन क्षेत्रमा आधुनिकिकरण र व्यवसायीकरण गर्दै कृषि व्यवसाय प्रबद्धनको माध्यमबाट रोजगारी सिर्जनामा जोड दिने पाणिनी गाउँपालिकाले निती तथा कार्यक्रममा उल्लेख गरेको छ ।
पाणिनी गाउँपालिकाको ११ औँ गाउँसभामा गाउँपालिका अध्यक्ष अच्युत गौतमले निति तथा कार्यक्रम पेश गर्दै दुध उत्पादनका आधारमा दिने अनुदानलाई निरन्तरता दिदैँ मासु तथा अण्डा उत्पादनको आधारमा प्रोत्साहन अनुदान दिने व्यवस्था मिलाएको छ।
पशुपन्छीहरुको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न सञ्चालन भएको नश्ल सुधारको कार्यक्रमलाई निरन्तरता दिने, लद्यु उद्यम मार्फत रोजगार सिर्जना गर्ने, सहकारी मार्फत उद्यमशिलता विकासका लागी युवाहरुलाई सहकारीमा आवद्ध गराई रोजगारमुलक उद्यमशिलता तालिम दिने निति तथा कार्यक्रममा समेटेको छ ।
पर्यटनको प्रचुर सम्भावना रहेको पाणिनीमा रहेका पाणिनी तपोभुमि, दुवावेश्वर गुफा, धातिवाङ्गको सिद्धेश्वर गुफा, पाणिनी कालिकाठी क्षेत्रमा पुर्वाधारको विकास गर्ने, बजार अनुगमनलाई नियमन गर्ने, गाउँपालिकाभित्र रहेका सबै क्षेत्रमा सिचाईका आयोजनाहरु सञ्चालन गर्ने, जलाधार क्षेत्र पहिचान गरी संरक्षण गर्ने निति तथा कार्यक्रममा समेटेको छ ।
‘निरोगी पाणिनी गाउँपालिका निमार्ण’ यस गाउँपालिकाको मुल निति रहने, कोभिड १९ नियन्त्रण गर्न जनचेतना जगाउँने, शिक्षा, खानेपानी तथा सरसफाई, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, युवा तथा खेलकुद, पुर्वाधार निमार्ण लगाएत विकास निमार्णका कार्यहरुलाई गाउँपालिकाले अगाडी सारेको छ ।