रुकुम पूर्वमा कालीगण्डकी डाइभर्सनको विरोध

190

रुकुम पूर्व — तीन वर्षदेखि नै कालीगण्डकी डाइभर्सन बहुउद्देश्यीय आयोजनाको विरोध भइरहे पनि आयोजना अघि बढाइएको भन्दै यहाँका पालिकाहरूले आपत्ति जनाएका छन् ।

प्रदेश तथा संघ सरकारलाई औपचारिक आग्रहसमेत गरेका थिए । आयोजना निर्माणपछि आसपासका बस्ती जोखिममा पर्ने र पारिस्थितिक प्रणालीमा असर पर्ने भन्दै उत्तरगंगा र भेरी जलाधार क्षेत्रका बासिन्दाले त्यसको विरोध गर्दै आएका छन् । ‘यो हामीप्रतिको गम्भीर धोका हो,’ पुथाउत्तरगंगा–११ का राजबहादुर बुढा मगरले भने ।

पुथाउत्तरगंगा गाउँ कार्यपालिकाको बैठकले २०७५ फागुनमै यो आयोजना अघि नबढाउन र बढाए पनि डिजाइन परिवर्तन गरेर उत्तरगंगालाई आफ्नै बहावमा बग्न दिन प्रदेश तथा संघीय सरकारलाई आग्रह गरेको थियो । उत्तरगंगाको बहाव फर्काएर बनाउन खोजिएको यो आयोजनाले धेरै बस्ती उठाउनुपर्ने भएकाले उत्तरगंगालाई पुरानै बहावमा बग्न दिनुपर्ने माग छ ।

जलाशययुक्त कालीगण्डकी आयोजनाले पुथाउत्तरगंगाका साथै अन्य क्षेत्रमा पनि प्रतिकूल असर पार्ने भएकाले त्यसको वैज्ञानिक तवरले काम गर्नुपर्ने गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्ती मगरले बताए । रुकुम पूर्वमा उत्तरगंगा र रुकुम पश्चिम प्रवेश गरिसकेपछि सानीभेरी नदी बग्छ । यस आसपास रुकुम पूर्वका पुथाउत्तरगंगा, सिस्ने गाउँपालिका, रुकुम पश्चिमका बाँफीकोट, सानीभेरी गाउँपालिका, मुसीकोट र चौरजहारी नगरपालिका पर्छन् । रुकुम पूर्वको पुथाउत्तरगंगाको केन्द्र उत्तरगंगा नदी छेवैमा छ भने सानीभेरीको केन्द्र सानीभेरी नदी छेवैमा पर्छ ।

उत्तरगंगा पावर कम्पनीले करिब पौने २ अर्ब रुपैयाँको लगानीमा आयोजना अघि बढाउने तयारी गरेको छ । जसका लागि पानी कालीगण्डकीमा झार्ने गरी डीपीआरको तयारी थालिएको छ । तर रुकुम पूर्व, रुकुम पश्चिम र भेरी करिडोरका बासिन्नदाले यसमा विरोध जनाउँदै आएका छन् । भेरी नदीको मुहान उत्तरगंगा हो । यसलाई कालीगण्डकीमा खसाउँदा भेरीमा पानीको बहाव घट्ने रुकुमवासी तथा भेरी करिडोरवासीको चिन्ता छ ।