आईसीयुमा वा भेन्टिलेटरमा गएको मान्छे बाँच्दैन भन्ने बुझाई गलत हो

337

डा आनन्द ठाकुर

इञ्चार्ज

सघन उपचार कक्ष (आइसीयु) ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएको छ । नेपालमा कोरोनाको पहिलो चरणमा देशभर तीन हजारभन्दा बढी व्यक्तिको निधन भएको थियो भने दोस्रो चरणको संक्रमणका कारण ६ हजारभन्दा बढीले ज्यान गुमाए । पहिलो भेरियन्टभन्दा दोस्रो भेरियन्टको प्रभाव नेपालको युवा पुस्तामा ज्यादा रह्यो । पहिलो चरणको कोरोनापछि सरकारले यथेष्ट तयारी नगर्दा दोस्रो चरणको कोरोना संक्रमणबाट धेरैले ज्यान गुमाए । कोरोनाको सुरुवातीदेखि नै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा सघन उपचार कक्ष (आइसीयु) हेण्डिल गरेर बस्नुभएका डा आनन्द ठाकुरसँग गरिएको कुराकानीको सम्पादित अंश ।

सघन उपचार पद्धती भनेको के हो ?

कुनैपनि विरामीलाई बढी हेरचाह दिएर प्रतक्ष्य डाक्टरको निगरानीमा राखेर गरीने उपचार पद्धती सघन उपचार पद्धती हो । कुनैपनि गम्भीर प्रकृतिका विरामीलाई श्वासप्रश्वासदेखि अन्य समस्या बढी देखियो भने आईसीयुमा लगेर उपचार गरिन्छ । अक्सिजन कम भएका विरामीलाई पनि आईसियुमा राखेर उपचार गरिन्छ । सामान्य विरामीलाई विस्तारै रोगले च्याप्दै लगेमा आईसीयुमा लगेर उपचार गरिँदै आएको छ ।

कोभिडका कस्ता खालका विरामीलाई आईसीयु भर्ना गर्नुपर्छ ?

कोभिडको निमोनिया कति सिरियस छ भन्ने हेरेर उक्त विरामीलाई अक्सिजनको रिक्वायरमेन्ट १० लिटरभन्दा बढी भएका आईसीयु भर्ना गर्दै आएका छौँ । श्वास फेर्न अन्त्यन्त गाह्रो हुने तथा अक्सिजन कम हुने विरामीलाई पनि आईसीयु भर्ना गर्नुपर्छ ।

कोभिड भएका सबै व्यक्ति आईसीयुमा भर्ना गर्नुपर्छ की पर्दैन ?

एकदमै राम्रो प्रश्न गर्नुभयो, सबै कोभिडका विरामीले सर्वप्रथम त आफुभित्र भएको डर हटाउनुपर्छ । दीर्घरोगी सुगर, प्रेसर र दमका विरामीलाई कोभिडको संक्रमण बढी हुन्छ । श्वासको गती ३० भन्दा बढी छ, अक्सिजनको रिक्वाएरमेन्ट १० लीटरभन्दा बढी छ, श्वास फेर्न गाह्रो छ भने यस्ता विरामीलाई आइसीयु भर्ना गर्नुपर्छ । कोरोना लागेका सबै विरामी आईसीयुमा भर्ना हुनुपर्छ भन्ने छैन ।

कस्तो खाले विरामी तुरुन्त आईसीयुमा जानुपर्ने अवस्था रहन सक्छ ?

कोभिडका विरामीमध्ये ८० देखि ९० प्रतिशत विरामी सामान्य रुघाखोकीबाट नै निको हुन्छन् । जुन एक हप्ताको समयमा नै निको हुने हुन्छ । दोस्रो चरण भनेको एक हप्तासम्म पनि विरामी निको नहुने र ज्वरो आइरह्यो भने अस्पताल जानुपर्छ । सुरुको चरणमा ज्वरो तथा रुघाखोकी लाग्ने विचमा ज्वरो तथा रुघाखोकी निको हुने र फेरी ज्वरो तथा रुघाखोकी लागेमा अस्पताल जानुपर्छ । कुनैपनि भाइरस इन्फेक्सनले छातीमा समस्या हुन्छ । ७ देखि ८ दिनसम्म निरन्तर ज्वरो आएमा अस्पताल जानैप¥यो । ६० देखि बढी प्रतिशत इन्फेक्सन छातीमा देखियोभने आइसीयु भर्ना हुनुपर्छ ।

आईसीयुमा गएको व्यक्ति घर फर्किँदैन भनिन्छ नी के यो सही हो ?

आईसीयुमा वा भेन्टिलेटरमा गएको मान्छे बाँच्दैन भन्ने बुझाई गलत हो । कडा विरामी परेर आईसीयुमा भर्ना भएका कतिपय विरामी निको भएर घर फर्केको उदाहरण पनि हामीसँग छन् । अस्पताल वा डाक्टरसँग औषधी नभएर विरामीको मृत्यु भयो भन्ने कुरा एकदमै गलत हो । एउटै घरमा कोभिड लागेका तीन जना व्यक्ति छन् भने एकजना घरमै निको हुने, अर्को व्यक्ति अस्पतालको साधारण वार्डमा उपचार गरेर निको हुने र अर्को व्यक्ति आईसीयुमा जाने अवस्थापनि हुनसक्छ । विरामीको रोग र शरिरमा भर पर्ने कुरा हो । भेन्टिलेटरमा राखेको विरामीपनि निको हुन सक्छन् ।

आईसीयु र भेन्टिलेटरमा राखेका कति प्रतिशत विरामी बाँच्ने सम्भावना रहन्छ ?

विश्वको डाटालाई केलाउने हो भने पहिलो चरणको कोरोना संक्रमणको समयमा सुरुवाती चरणमा भेन्टिलेटरमा गएका ८० प्रतिशत व्यक्तिको मृत्यु भएको थियो । विस्तारै कोरोनाको उपचार पद्धती बलियो बनाउँदै जाँदा सन् २०२० को अन्त्यमा आइपुग्दा भेन्टिलेटरमा पुगेका ३५ प्रतिशत व्यक्तिको मृत्यु भएको पाइन्छ । नेपालको सन्दर्भमा भन्ने हो भने ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पहिलो चरणको कोरोना संक्रमणको ६ महिनाको अवधीमा १२५ जना भेन्टिलेटरमा पुगेकोमा ४३.६ प्रतिशत विरामीको मृत्यु भएको थियो । ५७ प्रतिशत विरामी निको भएर घर फर्केका थिए । दोस्रो चरणको कोरोना संक्रमणमा भने मृत्युदर बढेको छ । दोस्रो चरणको कोरोना संक्रमणले युवालाई धेरै संक्रमित बनाएको छ । यस वर्षको मृत्युदर ८० प्रतिशत रहेको छ ।

पहिलो चरणको कोरोनाभन्दा दोस्रो चरणको कोरोना किन बढी घातक ?

पहिलो चरणको कोरोना संक्रमण देखिएसँगै अनुसन्धानकर्ताले गरेको अनुसन्धानमा दोस्रो चरणको कोरोना संक्रमण धेरै कडा भएको बताएका थिए । सो अनुन्धान अहिले मिल्न गएको देखिन्छ । यो संक्रमणले युवालाई बढी आक्रमण गरेको देखिन्छ । अहिलेको भेरियन्ट कडा भएकाले मृत्युदर बढी भएको हो ।

कोरोना नेगेटिभ भएका विरामीहरु निधन हुँदै गएको छ किन होला ?

एकदमै राम्रो प्रश्न गर्नुभयो, कोभिडका विरामीमा नेगेटिभ रिपोर्ट भएपनि फोक्सोको सुधार हुन दुईदेखि तीन महिना लाग्छ । कोरोनाले टाउकोदेखि खुटासम्म असर पारेको हुन्छ । कोभिड भनेको भुँईचालो आएजस्तो हो । भुँईचालो १० सेकेन्डका लागि आएपनि त्यसको असर महिनौसम्म रहन्छ त्यस्तै कोभिड पनि हो । विरामीमा नेगेटिभ रिपोर्ट आएपनि शरीरलाई असर पारिरहेको हुन्छ ।

अरु विरामीभन्दा कोभिडका विरामी किन लामो समयसम्म आइसोलेसनमा बस्छन् ?

हामीसँग धेरै किसिमका निमोनिया हुन्छन् । ब्याक्टेरिया निमोनियालाई औषधी दिएर निको हुन्छ । भाइरस निमोनियाको औषधी छैन । भाइरस निमोनियाको औषधी नहुँदा विरामी निको हुन लामो समय लाग्छ । कुनैपनि औषधीले भाइरसलाई मार्न सक्दैन । नर्मल रुपमा भाइरसको साइकल १० देखि १४ दिनसम्म हुन्छ ।

आइसीयु र भेन्टिलेटरको उपचार विधि किन जोखिम र महङ्गो हुन्छ ?

वार्डमा १० वटा विरामीलाई एउटा नर्सले केयर गर्न सक्छ भने आइसीयु र भेन्टिलेटरमा वेडअनुसार डक्टर र नर्स चाहिन्छ । डाक्टर २४ घण्टा नै बस्नुपर्छ । आईसीयुमा रहेका विरामीलाई महंगो खालको औषधी प्रयोग गर्नुपर्छ । भेन्टिलेटर र आइसीयु वेडको संरचना समेत महंगो हुने भएकाले बढी जोखिम र खर्च लाग्ने हुन्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

हामी आइसीयुमा काम गर्दै गर्दा उपचारका लागि आउने विरामीले हामी डाक्टरको पनि मानसिक स्वास्थ्यलाई बुझ्नुपर्छ । डाक्टर नर्सले कसरी काम गरिरहेका छन् भन्ने बुझ्नुपर्छ । हामी विरामीको ज्यानलाई प्राथमिकतामा राखेका काम गरिरहेका छौँ । हामीपनि धेरै विरामीलाई बचाएर घर पठाउन सकौँ भन्ने लाग्छ । भेन्टिलेटरमा रहेको विरामीलाई घर पठाउन पाइयो भने आफूहरुले गौरवान्वित काम गरेको महसुस हुन्छ । विरामीको रोगको बारेमा डाक्टरले पहिले नै विरामीको आफन्तलाई बुझाइदिनुपर्ने हुन्छ ।