किन धुमिल बन्दैछ राजनैतिक संस्कार?

215

अनन्तप्रसाद घिमिरे अर्घाखाँची

राज्यलाई चलायमान गराउने नीतिलाई राजनीति भनिन्छ । नेपालको सन्दर्भमा इतिहासदेखि वर्तमानसम्मको राजनीतिक संस्कारको अवस्था हेर्दा पूर्वाग्रह, कलह, विद्रोहको रुपमा विविध राजनीतिक व्यवस्थाको प्रयोगमा नै धेरै समय बितेको पाइन्छ । चाहे त्यो राजतन्त्रभित्रको आन्तरिक शक्ति संघर्ष होस् वा राणा शासनको पारिवारिक खिचातानी, चाहे त्यो प्रजातन्त्र स्थापना पछिको दलीय स्वार्थ होस् वा गणतन्त्र स्थापना पछिको कुर्सी र पदको लागि अपनाइएका फोहोरी खेल अथवा आफुबाहेक अरुको अस्तित्व पटक्कै नस्वीकारने। यस्तो प्रकारको राजनीतिक अवस्था हेर्दा नेपाली राजनीतिलाई नजिकबाट नियालिरहेका तथा आम मानिसहरुमा आक्रोशमात्रै होइन वितृष्णाको भावनाले समेत नराम्ररी गाजेको छ ।

अझ अहिलेको नयाँ पिँढी त राजनीतिलाई फोहोरी खेल भन्दै टाढिएको तीतो यथार्थ हाम्रासामु छर्लङ्ग छ । आजको पिँढी राजनीति र नेताको नाम सुन्दा नै निधार खुम्च्याउन थालिसकेको छ। यस्तो अवस्थाले नेपाली समाजमा असल राजनैतिक सस्कार हराइसकेको अनुभुत गर्न कुनै अप्ठ्यारो छैन। अहिलेको समय प्रविधि र आधुनिक मिडियाको चरम विकास र विस्तारको समय हो। यसैको विकाससँगै विश्वका जुनसुकै कुनामा भएका घटना परिघटना सजिलै जहाँसुकै बसेर पनि अध्ययन मनन गर्न सकिने आजको युगमा जनता पक्कै पनि लाटा सोझा छैनन् । विश्वका केही मुलुकहरु जसले राजनीतिक संस्कारलाई आत्मसाथ गर्न सके उक्त देशहरुको प्रगती र समृद्धि देखेर पनि सायद यहाँका मानिसहरु विरक्तिएका होलान् । राजनीतिलाइ गलत रुपले प्रयोग गर्ने परम्परा नै बसिसकेको हाम्रोजस्तो मुलुकमा राजनीतिक सस्कारको खडेरी नै परेको यथार्थ देखिएको महशुस हुन्छ। लोकतन्त्रको लागि नेपाली जनताले गरेको कठोर त्याग, बलिदान र उत्सर्गबाट प्राप्त उपलब्धिको रुपमा रहेको हालको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान कार्यन्वयनसँगै विकास र समृद्धिको जनआकांक्षा सम्बोधन गर्ने असल राजनाीतिक जिम्मेवारी बहन गर्न अहिलेको राजनीतिक संस्कार बोकेका नेतृत्व र दल कतिसम्म सफल वा असफल भए हुनेछन् जनताले मूल्यांकन गरेको महत्वपूर्ण विषय हो । तर त्यो जनताले सोचेजस्तो अवस्था अनुभूत गर्न, हेर्न र महशुस गर्न नसकेको जनगुनासो पनि व्याप्त छ। राजनीतिक दलहरु तथा यिनका कार्यकर्ताहरुको संस्कार औसत रुपमा देखिए पनि मुख्य रुपमा अल्पविकसित मानसिकताको राजनीतिक संस्कार नै नेपाली समाजको अभिषाप हो भन्दा कुनै अत्युक्ति नहोला। जनताहरु नेतागणका ताण्डव नृत्य हेरेर आजित बनिसकेका छन् । नातावाद, झोलेवाद, समर्थनवादको सीमित घेराभित्र रहेका केहि कार्यकर्ताहरुलेमात्र फाइदा लुटिरहेका तर त्यसभन्दा बाहिर रहेको स्वाभिमानी जनमानसको ठूलो समूहले विकृत राजनीतिको नाटकलाई टुलुटुलु हेरिरहेका छन् ।

असल राजनीतिक संस्कारले आपसमा सद्भाव, सम्मान, मूल्यमान्यतामा एकता र सहकार्य खोज्दछ । तर, अफसोच यहाँ त अरुको आस्थाको सम्मान त परै जाओस् एउटै विचारबीचमा एकता र सहकार्य देख्न सकिएको छैन । उदारता, सत्यता, प्रजातान्त्रिक व्यवहार, अरुको विचारको सम्मान, अरुलाई स्थान दिन सक्ने संस्कारको विकासले मात्र सु–संस्कृत राजनीतिक संस्कारको जग बलियो हुन्छ । राजनीतिक सस्कारको जग बलियो भएमा मात्रै सबै किसिमका जनताले फाइदा लिन सक्नेछन् । पार्टीलाई आफ्नै पिताको विर्ता ठान्ने,आफ्नो विरुद्धमा विषय उठाउनेलाई ठूलो शत्रु ठान्ने प्रवृतिले केन्द्रदेखि स्थानीय तहसम्म नै जरो गाडेको छ। नेपाली समाजलाई जतिखेर पनि राजनीतिक रंगको चस्मा लगाएर हेर्ने प्रवृत्ति निकै डरलाग्दो रहेको छ। नेपाली सभ्यता अत्यन्त्यै सु–संस्कृत संस्कारयुक्त समाज हो, तसर्थ हामी नेपाली संसारभरि चिनिएका थियौं तर कलुषित राजनीति संस्कारका कारण यति सुन्दर, सामाजिक, सांस्कृतिक संस्कार बोकेको नेपाली समाज परिस्कृत हुनुको साटो अझ पछाडि परिरहेको छ । तसर्थ, राजनीति गर्ने र तिनलाई खबरदारी गर्ने जो सुकैले असल राजनीतिक संस्कार पाठ राम्रोसँग पढेर बुझेर,अनुशासन एवम् सेवाभावलाई केन्द्रमा राखेर अघि बढेमा निश्चय पनि दुर्गन्धित भनिएको राजनीति सफा बन्नेछ । आफुलाइ जनताको सेवक ठान्ने, जवरजस्ती सम्मान पाउनका लागि रय्याल नकाढ्ने, अरुको विचारलाई सम्मान गर्ने तथा सेवा भावनाले अभिप्रेरित भई राजनीतिमा समर्पित रहने व्यक्ति निष्ठावान् हुन्छन् । कसैले राजनीतिलाई आर्जनको पेसा बनाउने गरेका छन । त्यस्तो उद्देश्य लिएर राजनीतिमा लागेका व्यक्तिले नै राजनीतिलाई दूषित बनाएका छन् । दूषित राजनीतिक प्रवृत्ति पनि दिनानुदिन फैलँदो अवस्थामा छ ।

मुलुक अब पुनः त्यही अवस्थामा फर्कंदै छ । कतिपय निष्ठावान् व्यक्ति पनि दूषित राजनीतिकै वातावरणको कारण प्रभावित बन्न पुग्छन् । स्वार्थी प्रवृत्ति नेताका निम्ति लाभ र उत्साहजनक भए पनि जनताका लागि भने घातक बन्दै आएको छ । लोकतन्त्रमा निष्ठाको राजनीतिले आमनागरिकको भावनालाई सम्बोधन गर्छ । दलहरूले निष्ठाकै राजनीति गर्नुपर्छ । नागरिकलाई आकर्षित गर्ने भनेको निष्ठाको राजनीतिले हो, तर निष्ठाको राजनीति ओझेलमा पर्दै गएको छ । क्षणिक लाभ र स्वार्थको राजनीति गर्ने अवसरवादी व्यक्ति नै हरेक दलको नेतृत्व वृत्तमा अगाडि छन् । यस्ता व्यक्तिको राजनीतिक उद्देश्य नै आर्जन गर्ने हो । तिनीहरूले देश र जनताको पक्षमा केही सोच्दैनन् । नेपाली राजनीतिमा लागेको ग्रहणले जनताहरु निस्सासिइरहेको वर्तमान समयलाई सम्पुर्ण सच्चा राष्ट्रवादी नागरिकहरुले हातेमालो गरि अघि बढ्न सकेमा निश्चय पनि भाविपुस्ताको लागि सफा राजनैनिक धरातल प्राप्त हुनेछ। जय नेपाल ।