देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतबाट परमादेश जारी हुन्छ भन्ने विश्वास छ : दाहाल

207

जनकपुर — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

संविधान र लोकतान्त्रिक मूल्यमान्यताको मर्म र भावना अनुसार प्रतिनिधिसभा पुनःस्थापना हुने र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतबाट परमादेश जारी हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

‘अहिले त झन् संविधान मिच्ने, नाङ्गै लोकतान्त्रिक मूल्यमान्यता कुल्चने काम गरेको हुँनाले अदालतले संसद् पुनःस्थापना गर्छ,’ सोमबार निधन भएका माओवादीका केन्द्रीय सदस्य महादेव यादवलाई श्रद्धाञ्जली दिन मंगलबार जनकपुर पुगेका दाहालले भने, ‘संसद् पुन:स्थापना मात्रै होइन १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपतिकोमा बुझाएको पत्र र १४६ सहित सर्वोच्च अदालतमा बुझाएको रिट निवेदन आधारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुन्छ भन्ने विश्वास मलाई छ ।’