गुटबन्दी अन्त्य गरी काङ्ग्रेस रूपान्तरणकाे प्रस्ताव ल्याउँदै भूपेन्द्रजंग शाही

209

नेपाली काङ्ग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले पार्टीको १४औं महाधिवेशबाट काङ्ग्रेसकाे रूपान्तरणका लागि भन्दै नयाँ प्रस्ताव सार्वजनिक गर्ने तयारी गरेका छन् ।

तरूण दलका महासचिव र नेविसङ्घका पूर्वउपाध्यक्षसमेत रहेका नेता शाहीले काङ्ग्रेसभित्रकाे गुटबन्दी अन्त्य गरी वैचारिक रूपमा सशक्त बनाउने उद्देश्य लिएकाे बताए ।

महाधिवेशनलाई वैचारिक विमर्श गर्ने उपयुक्त थलोका रूपमा लिँदै उनले पार्टी एकता र सुदृढीकरणका लागि प्रस्ताव बलियाे स्तम्भ बन्ने विश्वास गरे ।

एकपटक नेतृत्वमा पुगेकाे व्यक्तिलाई पुनः दाेहाेर्‍याउन नहुने, पार्टीको आन्तरिक निर्वाचनमा पनि समावेशीबाट प्रतिनिधित्व गर्ने पदमा एकपटक भन्दा बढी अवसर नपाउने व्यवस्था लागू गर्ने , पार्टीमा तँ सानो र म ठुलो भन्ने मान्यता हटाएर हामी एउटै परिवार हौँ भन्ने भावना जागृत गराउने, ‘भष्ट्राचार मुक्त नेपाल, सुशासनयुक्त नेपाल’ अभियान सञ्चालन गर्ने, भ्रातृ संस्थाको महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्ने उनकाे प्रस्ताव छ ।

यसैगरी महाधिवेशनको मुखमा आएर मात्रै क्रियाशील सदस्यता वितरण गर्ने परम्परालाई अन्त्य गर्नुपर्नेमा उनले जाेड दिएका छन् ।

पार्टीका नेता कार्यकर्ता सहर केन्द्रित नभई गाउँ केन्द्रित भएर ‘जनजनमा काङ्ग्रेस मनमनमा काङ्ग्रेस’ अभियान चलाउनुपर्ने उनकाे प्रस्ताव छ ।

यस्तै देशमा आइपरेकाे सङ्कट र महामारी परेका बेला जनताको दुःख र पीडामा साथ दिन ‘विपत्ति राहत कोष’ खडा गरेर सामाजिक सेवाको नेतृत्व काङ्ग्रेसले लिनुपर्ने शाहीकाे धारणा छ।