नेविसङ्घका पूर्व अध्यक्ष कर्णलाई सहमहामन्त्री लड्न युवाको दवाव

524

काठमाडौँ, २३ असार । नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष एवम् पूर्व सांसद रञ्जित कर्णलाई नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनमा समावेशी सहमहामन्त्री लड्न युवाहरुले दवाव दिएका छन् । पार्टीको प्रमुख भ्रातृ संस्थाको रुपमा रहेको नेविसङ्घको नेतृत्व कुशल ढङ्गले निर्वाह गरेका कर्णलाई सहमहामन्त्री लड्न युवाहरुले दवाव दिन थालेका हुन् ।

नेविसङ्घमा समयमा नै महाधिवेशन नहुने परम्परालाई तोड्दै अध्यक्ष कर्णले कुशल ढङ्गले सहजै महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गरेसँगै उहाँलाई १४ औँ महाधिवेशनमा समावेशी सहमहामन्त्री लड्न युवाले दवाव दिएका हुन् ।

नेपाली काँग्रेसले १४ औँ महाधिवेशनका लागि विधान संशोधन गरेर आठजना सहमहामन्त्री बनाएको छ । सोही पदमा निर्वाचन लड्नका लागि युवाले दवाव दिएका हुन् । नेविसङ्घका १७ औँ अध्यक्ष बनेका कर्ण पार्टीको १३ औँ महाधिवेशनमा थोरै मतले केन्द्रीय सदस्यमा पराजित भएका थिए ।

तराईको राजनीतिमा राम्रो छाप छोड्न सफल युवा नेता कर्णलाई पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल,  महामन्त्री डा शशाङ्क कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, डा रामशरण महत, सुजाता कोइराला, अर्जुननरसिंह केसीलगायतका नेताको साथ र सहयोग रहँदै आएको छ ।

उपसभापति निधीले युवा नेता कर्णलाई पार्टीको युवा नीति मस्यौदा समितिको संयोजकको जिम्मेवारी प्रदान गर्नुभएको छ । उहाँ संविधानसभा सदस्य समेत हुनुहुन्छ ।