कांग्रेस महाधिवेशन : चितवनमा आकांक्षी धेरै

496

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै जिल्ला जिल्लामा पनि सरगर्मी बढेको छ। महाधिवेशनका लागि क्रियाशील सदस्यता सूचीकृत भएर छानविनको काम अघि बढेको छ।

सबैभन्दा धेरै चितवनबाट ३४ हजार क्रियाशील सदस्य सूचीकृत भएका छन्। र, चितवनमा जिल्ला सभापतिका लागि संस्थापन पक्षबाट भन्दा संस्थापनइतर पक्षबाटै धेरै आकांक्षी धेरै देखिएका छन्।

चितवनमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बलियो मानिन्छ। सूर्यकान्त घिमिरेले सोही समूहबाट उम्मेदवारी दिने भएका छन्। सभापति शेरबहादुर देउवा पक्षबाट प्रदेश सभा सदस्य मिलनबाबु श्रेष्ठ सभापतिको आकांक्षी छन्।

सभापतिमा आकांक्षा राख्ने अन्यमा उपसभापति कैलाश कोइराला र सचिव उत्तम जोशी पनि छन्।  साथै, वरिष्ठ अधिवक्ता जगन्नाथ पौडेल सभापति बन्ने लाइनमा छन्। उनी पनि वरिष्ठ नेता पौडेल समूहका आकांक्षी हुन्।

तरुण दलको भूपू अध्यक्ष रहेका राजेश्वर खनालले सभापतिको दाबी गरेका छन्। खनाल पनि संस्थापनइतर समूहकै जिल्ला नेता हुन्। अन्यको तुलनामा घिमिरे बलिया दाबेदार रहेका चितवन कांग्रेसका नेताहरू बताउँछन्।

जापानमा अध्ययन गरी फर्केका घिमिरे कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरका संस्थापक रजिष्टार हुन्। घिमिरेले गत स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट भरतपुर महानगरपालिकाको मेयर उठ्न प्राध्यापकबाट राजीनामा दिएका थिए। तर, माओवादीसँगको सहकार्यका कारण उनले टिकट पाएका थिएनन्।

हालका सभापति जीतनारायण श्रेष्ठले केन्द्रीय सदस्य हुने इच्छा देखाएका छन्।