पाणिनी गाउँपालिका–५ का हत्याका फरार अभियुक्त १४ वर्षपछि पक्राउ

614

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा १४ वर्ष अघि भएको हत्याका फरार अभियुक्त पक्राउ परेका छन् । पाणिनी गाउँपालिका–५ पल्टेका २१ वर्षिय नारायणबहादुर सूर्यवंशी मगरको २०६४ साल असोज २६ गते दिन आफ्नै घरमा तीनजनाको कुटपिटबाट हत्या भएको थियो ।

हत्यामा संलग्न रहेको अभियोगमा कपिलबस्तु बाणगंगा नगरपालिका-१ उप्टहवाबाट ४२ वर्षिय हुमबहादुर रास्कोटी मगर पक्राउ परेका हुन् । १४ वर्षअघि पाणिनी गाउँपालिकाकै बासिन्दा रहेका रास्कोटी बसाई सराई गरी कपिलवस्तु झरेका हुन् ।

उनी घरमै लुकिछिपी बसेको अवस्थामा अर्घाखाँची प्रहरीले कपिलवस्तु प्रहरीको समन्वयमा पक्राउ गरिएको र अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाचीका प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

घटनामा संलग्न मध्ये बर्ष ४५ का चोकबहादुर खाम्चा मगर र वर्ष ४८का गनबहादुर खाम्चा मगर फरार रहेका र उनीहरुको खोजी भइरहेको प्रहरी नायब उपरक्षिक थापाले बताए ।