अनन्तप्रसाद घिमिरे । आज साउन महिनाको पहिलो दिन अर्थात् साउने संक्रान्ति । आजबाट सुर्य दक्षिणायन हुने। श्रावण सक्रान्ति पाैराणिक एवम् सामाजिक दुबै दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण रहेको छ। असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थकित किसानहरुले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने गर्दछन् ।

खेतबारीको हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको दिन लुतो फाल्ने चलनसमेत रहि आएको छ । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । यसो गर्दा छालासम्बन्धी कुनै पनि रोग नलाग्ने विश्वास छ ।

सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि अर्थात साउने संक्रान्ति र मकर राशि अर्थात माघे संक्रान्तिमा प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । आजको दिनदेखि सूर्य उत्तरी गोलार्धबाट दक्षिणी गोलार्धतर्फ प्रवेश गर्ने भएकाले दिन छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ । साउन महिनाले हिन्दू धर्मावलम्बीहरुका महत्त्वपूर्ण चाडहरू भित्र्याउने भनाइ पनि छ ।आजकै दिनबाट महिला दिदी बहिनीहरु ठाउँ ठाउँमा भेला भइ आफ्ना मनका दु:ख एवम् सुखका भावनाहरुलाइ तीज गीतको माध्यमबाट पस्कने पनि गर्दछ्न। स्नान, दान, होम, श्राद्धजस्ता विशेष कार्यको सुरुवात आजैका दिनदेखि गर्ने परम्परा पनि रहेको छ ।

सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने धार्मिक विश्वासका आधारमा साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन पनि छ । विवाहित हिन्दु महिलाहरुले सौभाग्यको प्रतीक हरियो चुरा र बस्त्र पहिरिएर साउन महिनाको प्रत्येक सोमबार व्रत बसि शिवको पूजा आराधना गर्ने गर्छन ।
लेखक श्री कृष्ण मा.वि. पाणिनी,अर्घाखाँचीका शिक्षक हुन् ।