देउवाको प्रश्न : २ बजे राति किन संसद् विघटन गरेको ? राष्ट्रपति सुत्न पनि पाउनुभएन

292

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा रहेर विपक्षी पार्टीमा आक्रमण गर्न हुँदैन भन्ने मान्यता आफूले राख्ने बताएका छन् ।

संसद्मा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता अनुपस्थित हुनु गम्भीर विषय भएको बताए ।

“प्रधानमन्त्रीले बोल्दा विपक्षी दलको नेता हुनुपर्छ भन्ने हाम्रो सिद्धान्त हो,” उनले भने, “सरकारले विपक्षीमाथि आक्रमण गर्न हुँदैन भन्ने मान्यता राख्छु । तर केही कुरा भन्न चाहन्छु ।”

देउवाले ओलीले आफ्नो बहुमत पुग्दैन भनेको केहीबेरमै राष्ट्रपतिकहाँ प्रधानमन्त्रीको दाबी गर्न पुगेको बताए ।

“ओलीजी आफैले मेरो बहुमत पुग्दैन म जान्न भन्नुभएको थियो । पछि आफैँ जानुभयो,” उनले भने, “अचानक २ बजे राति एकाएक संसद् विघटन भयो ? किन गर्नुपरेको होला । राष्ट्रपति विचरा सुत्न पाउनुभएन होला बाध्यतामा पारिदिनुभयो प्रधानमन्त्रीले । भोलिपल्ट विघटन गरेको भए भइहाल्थ्यो नि !”