नेकपा पाणिनीको कार्यक्रममा रायमाझीले भने ‘सत्ताका लागी प्रचण्ड र माधव सडकमा’

251

घनश्याम पौडेल
अर्घाखाँची, २३ पुस । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा उर्जा जलस्रोत तथा सिचाँई मन्त्री टोपबहादुर रायमाझीले संसद पुनःस्थापनाको सपना नदेख्न आग्रह गरेका छन । संसद पुनःस्थापना हुने सपना नदेख्न आन्दोलनकारीलाई आग्रह गर्दै रायमाझीले आन्दोलनका सट्टा चुनाव समयमै सम्पन्न गर्ने गरी सरकारलाई सहयोग गर्न आग्रह गरेका छन ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा पाणिनी गाउँपालिका कमिटीद्वारा बिहिबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्ड–माधव समूहले निर्वाचित प्रथम अध्यक्ष तथा प्रधानमन्त्रीलाई हटाई सरकार र पार्टी कव्जा गर्ने नियतका कारण पार्टी फुटको संघारमा पुगेको दावी गरे । नेकपा नेता समेत रहेका रायमाझीले पार्टी फुट्नुमा मुख्य दोषी प्रचण्ड र माधव नेपाल रहेको उल्लेख गरेका छन । रायमाझीले चुनावमा जान डराएर ‘सत्ताका लागी प्रचण्ड र माधव सडकमा’ गएको टिप्पणी गरे ।

३३ वर्षसम्म प्रचण्डले आफै टिको लगाएर पार्टी अध्यक्ष भएको भन्दै उनले प्रचण्डले बिगतमा पार्टीलाई खल्तीको पैसा जस्तो बनाएको टिप्पणी गरेका छन । उनले प्रचण्ड, माधव र झलनाथका कारण पार्टी बिभाजन भएको दुखेसो पोख्दै अब पार्टीलाई रुपान्तरण सहितको ध्रुवीकरण गर्नुपर्नेमा जोड दिएका छन ।

कार्यक्रमा नेपाल कम्युष्टि पार्टी केन्द्रीय सदस्य चेतनारायण आचार्यले निर्वाचनको समयमा भएको एकताका दिनबाटै गुटबन्दी सुरु भएको बताउँदै नेकपा ओली नेतृत्वको पार्टीमा लाग्न आग्रह गरे । उनले विघटित संसद पुनःस्थापना हुन नसक्ने बताउँदै गाउँगाउँमा गएर ओली नेतृत्वको नेकपाको पक्षमा संगठित बनाउँन कार्यकर्तालाई आग्रह गरे ।

नेपाल कम्युष्टि पार्टी केन्द्रीय सदस्य रामजीप्रसाद घिमिरेले पार्टीका नेताबाटै सरकार सञ्चालन गर्न हस्तक्षेप भएको बताउँदै ओलीको लोकप्रियता सहन नसकेर प्रचण्ड र माधव फुटको दिशामा लागेको बताए । घिमिरेले पार्टीभित्रबाटै पटकपटक प्रधानमन्त्री ज्यु माथि प्रहार भएपछि संसद विघटन गर्नुपर्ने अवस्थामा पुगेको बताए ।

कार्यक्रममा नेकपा प्रदेश सदस्य कुटमदिन अली लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रम नेकपा पाणिनीका ईन्चार्ज बाबुराम घिमिरेको अध्यक्षता र सचिव जिवलाल घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।