राज्यकोषबाट उपचार खर्च लिने सरकार प्रमुख र नेताको लामो सूची देखिएको छ ।

हुने खाने र ठूलाबडाले समेत राष्ट्रिय ढुकुटीबाट उपचार खर्च लिएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा भने अपवाद देखिएका छन् ।

सरकारको रेकर्डमा देउवाले उपचार खर्चको नाममा अहिलेसम्म कुनै सुविधा लिएको देखिएको छैन ।

राष्ट्रिय ढुकुटीबाट विदेशमा उपचार गर्नेमा पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्रीदेखि प्रधानन्यायाधीशसम्मको लामै सूची छ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले उपचार खर्च बापत एक करोड ४० लाख रुपैयाँ लिएका थिए ।

उपचार खर्च बापत निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एक करोड २६ लाख रुपैयाँ लिएका छन् ।

सदाचारी नेताका रूपमा चिनिएका पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाले पनि एक करोड ८७ लाख रुपैयाँ लिएको देखिएको छ ।

पूर्व उपराष्ट्रपति परमानन्द झाले राज्यकोषबाट नौ लाख ३० हजार उपचार खर्च लिएका छन् ।

यस्तै पूर्व प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले उपचार खर्च बापत ८० लाख रुपैयाँ लिएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकालमा मन्त्रिपरिषदको उपाध्यक्ष रहेका डा. तुलसी गिरीले उपचार खर्च बापत २० लाख बुझेका छन् ।

पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पनि पाँच लाख रुपैयाँ लिएको देखिएको छ ।

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले उपचारका लागि राज्यकोषबाट ५० लाख रुपैयाँ लिएकी छन् ।

माओवादी केन्द्रका नेता एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले ३८ लाख रुपैयाँ लिएका छन् ।

कांग्रेस नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशीले २७ लाख ८० हजार रुपैयाँ लिएका छन् ।

कांग्रेसकै नेता एवं पूर्व मन्त्री खुमबहादुर खड्काले २० लाख रुपैयाँ लिएका छन् । जसपाका नेता पूर्व मन्त्री महेन्द्रराय यादवले १४ लाख रुपैयाँ बुझेका छन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाका दर्जनौं सांसदले पनि राज्य कोषबाट उपचार खर्च लिएका छन् ।

राज्य कोषबाट अपारदर्शी ढंगले उपचार खर्च लिएको भन्दै राजनीतिक दलका नेताहरूको विरोध हुँदै आएको छ ।