स्वामी रामानन्द : सामाजिक पुनर्जागरणमा समर्पित योगी

354

डा. स्वामी रामानन्द गिरिको नाम नसुन्ने कमै हुनुपर्छ । खासगरी आध्यात्मिक क्षेत्रका उज्जवल नक्षत्र मानिने गिरिको आध्यात्मिक साहित्य र शिक्षामा विशेष योगदान छ । तनहुँ जिल्लाको देवघाटमा अवस्थित महेश गुरुकुल र महेश सन्यासाश्रमको स्थापना उनैले गरेका हुन्, जहाँ बर्सेनि कक्षा ६ देखि आचार्यसम्मका ३५० भन्दा बढी विद्यार्थीले आवास र भोजन सहितको शिक्षा प्राप्त गर्दै आएका छन् । गुरुकुलमा संस्कृत र अङ्ग्रेजी दुवै विषयको पढाइ हुने गरेको छ तर तिनै गुरुकुल र आश्रमका संस्थापक स्वामीका बाल्यजीवन भने निकै अभाव र कहाली लाग्दो देखिन्छ । यस आलेखमा उनै स्वामीजीका व्यक्तित्व र कृतित्वबारे केही उल्लेख गर्ने प्रयास गरिएको छ ।

स्वामीजीको जन्म विक्रम संवत् २००३ साल जेठ १० गते धादिङ जिल्लाको केवलपुर भन्ने स्थानमा भएको हो । निम्न मध्यमवर्गीय ब्राह्मण परिवारमा जन्मेका गिरिजीको खास नाम रामप्रसाद सुवेदी हो । उनले २०४५ सालतिर भारतीय सन्यासी अनन्त विभूषित महामण्डलेश्वर महेशानन्द गिरिजी महाराजबाट सन्यास दीक्षा लिएका थिए । त्यसपछि रामानन्द गिरिको नामले चिनिन थालेका हुन् । उनको बाबुको नाम क्रमशः पूर्णप्रसाद सुवेदी र आमाको नाम तिलकुमारी सुवेदी थियो । २०३० सालमा वाल्मीकि क्याम्पसबाट शाङ्करवेदान्तमा सर्वोत्कृष्ट अङ्क ल्याई आचार्य गरेपछि अध्यापन र प्रवचन क्षेत्रमा लागेका स्वामीजीले २०४१ सालमा त्रिभुवन विश्वविद्याबाट जनक दर्शनमा विद्यावारिधि गरेका थिए । विलक्षण प्रतिभाका धनी यी नेपाली सन्यासी तीन वर्षको उमेरमा आमा र १० वर्षको उमेरमा बाबु बितेर टुहुरो बन्न पुगेका थिए ।

मातृपितृ विहीन टुहुरो भदा  (दाजुको छोरा) को प्रतिभा र पढाइप्रतिको उत्कट चाहना देखेर काठमाडौँ डल्लु निवासी दिदी (फुपु) ले निच मार्न सकिनन् र आफ्नै घरमा ल्याएर रानीपोखरी संस्कृत मावि तत्कालीन संस्कृत तीनधारा पाठशालामा पठनपाठको व्यवस्था मिलाइदिएकी थिइन् । उनले त्यहीँबाट पूर्वमध्यमा पास गरेका हुन् । संस्कृत पाठाशालामा निशुल्क पढाइ हुने भए पनि परीक्षाका लागि केही शुल्क बुझाउनुपथ्र्यो । उनलाई त्यही जुटाउन पनि गाह्रो प¥यो । त्यसैले थप पढाइका लागि उनी वनारसतिर लागे । खाना बस्न र पढ्न पैसा नलाग्नु नै उनको वनारस आकर्षणको कारण थियो ।

वनारसको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट उत्तरमध्यसम्मको पढाइ पूरा गरी पुनः काठमाडौँ फर्किए । उतै बस्ने र पढ्ने उद्देश्यले वनारसतिर लागेका भए पनि प्रतिकुल स्वस्थ्यका कारण लामो समय त्यता बस्न सकेनन् । हावापानी नमिलेर केही समयपछि नै बिरामी पर्न थाले । उनले आफ्ना भक्तहरूमाझ वनारसमा बस्दा टाउको दुखेर यति पीडा हुन्थ्यो कि कहिले त गङ्गामा झ्वाम्म फालहालौँ जस्तो हुन्थ्यो भन्ने गरेका पंक्तिकारले नै  सुनेको कुरा हो । जे होस् स्वास्थ्यले साथ नदिएपछि काठमाडौँ फर्केर सिनामङ्गलस्थित प्रकाश सन्यासाश्रममा रहन लागे । सोही आश्रममा बसेर शास्त्री र आचार्य पास गरे । यस बाहेक विभिन्न शैक्षिक संस्थामा पढाउने कामसमेत गरेका थिए । केही समय वाल्मीकि क्याम्पसमै पनि पढाउन भ्याएका थिए । प्रकाश सन्यासाश्रममा आफ्नो स्वभाव अनुसारको रहनसहन नमिलेपछि गौरीघाटस्थित सोमसरला आश्रममा आएर रहन लागे ।

सोमसरला आश्रमको बसाइले उनको जीवनलाई अर्कै मोड दियो । आश्रममा बस्दा पठनपाठन तथा प्रवचन आदिको काम गर्थे । उनको अद्वैत वेदान्तमा राम्रो पकड थियो । एउटै विषयमा घन्टौँ धराप्रवाह बोल्न सक्थे । विषयमा पकड, बोलीमा कमान्ड र  शैलीमा मिठासका कारण प्रवचन सुन्ने भक्तहरूको सङ्ख्या क्रमशः बढ्दै जान थाल्यो । तिनै भक्तहरूले दान दक्षिणामा स्वरूप दिएका रकममा आफूले पढाएको पैसा थपथाप गरी २०५० सालमा देवघाटमा एउटा सानो गोठ किनेर गुरुकुल आश्रम चलाउन लागे । गोठको माथिल्लो तलामा आफू बस्थे र तल केही विद्यार्थी जम्मा गरी पढाउने गर्थे । त्यतिबेला किनेको चारआना जग्गामा बनेको गोठ रहेको स्थान त्यही हो, जहाँ हाल भव्य महेश सन्यास गुरुकुल र आश्रम खडा भएको छ । कुल ७० रोपनी जग्गामा फैलिएको यस आश्रममा आकर्षक उद्यान र विद्यालय तथा छात्रावास भवन र पाकशाला निर्माण गरिएको छ । आश्रममा छिर्नासाथ आकर्षक शैलीमा बनेको विद्येश्वर महादेवको मन्दिर र हवनकुण्ड देखापर्छ, जहाँ नित्य हवन तथा पूजा, आरति, वेद ध्वनि र शङ्खध्वनि चल्ने गर्छ ।

देवघाट बाहेक स्वामीजीका संरक्षकत्वमा दमौलीमा समेत गुरुकुल आश्रम सञ्चालित थियो छ । यहाँका विद्यार्थीहरूले पनि देवघाटमा जस्तै भोजन र आवास सहितका शिक्षा प्राप्त गर्दै आएका छन् । यस बाहेक हंसदा योगाश्रम काभ्रे, महर्षि गुरुकुल वेदविद्याश्रम पोखरा, परासर आश्रम दमौली, प्राणिनि आश्रम स्याङ्जा र गौरीशङ्कर विद्यापीठ झापा आदिको संरक्षकको दायित्वसमेत सँगै निर्वाह गरेका थिए । २०५६ सालतिर पशुपतिनाथ मन्दिरको पश्चिम ढोका नजिक रहेको शङ्कराचार्य मठको समेत संरक्षकको दायित्व उनकै काँधमा आयो । त्यसपछि भने प्रायः यहीँ रहन लागे र मठकै छेउमा प्रवचन कक्ष निमार्ण गरी प्रवचन कार्यक्रमलाई निरन्तरता दिए । यहीँ रहेर वेदान्तको स्वाध्याय गर्दागर्दै २०७४ साल असार २४ गते गुरु पुर्णिमाको दिन (आजकै दिन) ब्रह्मलीन भए । उनको पार्थिव शरीरलाई भक्तहरूले देवघाट लगेर वैदिक विधिपूवर्क अन्त्येष्टि संस्कार गरे । हाल महेश सन्यास आश्रम र गुरुकुलको नेतृत्व उनकै उत्तराधिकारी स्वामी रमणानन्द गिरिले गरिरहेका छन् ।

हमेशा पढ्नु र पढाउनुभन्दा उत्तम काम अर्को छैन भन्ने स्वामी रामानन्द गिरिका दर्जनौँ आध्यात्मिक कृति प्रकाशिछन् । तिनमा जनक दर्शन, माण्डुक्योपनिषद् नेपाली अनुवाद तथा व्याख्या, रामगीता एवं देवीगीता नेपाली अनुवाद तथा व्याख्या, दुर्गासप्तशती, ईशादि दश उपनिषद् नेपाली अनुवाद तथा व्याख्या मुख्य पर्छन् । एउटा विपन्न परिवार जन्मेर टुहुरो जीवन व्यतीत गर्दै आएका स्वामीजीले शिक्षा तथा आध्यात्मिक जागरणका क्षेत्रमा जति गरे एउटा औषत मानिसले गर्न सक्ने भन्दा बढी गरे । त्वदीयं वस्तु गोविन्द भन्ने आर्ष वाक्यका अनुयायी स्वामीजीले जति गरे समाजकै लागि गरे, जति लिए समाजबाटै लिए र समाजलाई नै दिएर अनन्तको गति सुधारे । आज उनको पार्थिव शरीर हामी माझ छैन तर उनले बालेका आध्यात्मिक पुनर्जागरणको दियो भने कहिल्यै ननिभ्ने गरी बलिरहेको छ र आशा छ बली नै रहनेछ । रातोपाटीबाट