कांग्रेस महाधिवेशन सर्ने सम्भावना, निर्वाचन समितिले माग्यो ५३ दिन

215

कांग्रेसको १४औँ महाधिवेशनका लागि निर्वाचन समितिले ५३ दिन समय मागेको छ । समितिले मतदाताको अन्तिम नामावली प्राप्त भएको कम्तीमा एक महिनापछि मात्रै वडा अधिवेशन गराउन सक्ने जनाएको हो । निर्वाचन समितिले समेत तयारीका लागि एक महिना आवश्यक पर्ने बताएपछि कांग्रेसको भदौका लागि तय भएको महाधिवेशन सर्ने सम्भावना बढेको छ ।

शुक्रबार बुढानीलकण्ठस्थित सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा भएको पार्टीका शीर्ष नेताहरूको बैठकमा निर्वाचन समितिका संयोजक महादेव यादवले पार्टी महाधिवेशन पूरा गर्न मतदाताको अन्तिम नामावली प्राप्त भएको मितिले ५३ दिने कार्यतालिका प्रस्ताव पेस गरेका हुन् ।

‘क्रियाशील सदस्यता हामीलाई हस्तान्तरण भएपछि हामीले निर्वाचनको कार्यक्रम अघि बढाउँछौँ । कतिपय तयारी भइसकेको छ । कतिपय काम नामावली आएपछि मात्रै हुन्छ,’ समिति संयोजक यादवले भने, ‘गाउँदेखि केन्द्रसम्मको अधिवेशनका लागि ५३ दिन लाग्छ । त्यसमा पार्टीले सहयोग गर्ने र प्रविधिको प्रयोग गर्ने हो भने केही दिन घटाउन सकिन्छ ।’

उनले वडादेखि जिल्ला तहको अधिवेशनका लागि ३८ दिन लाग्ने बताए । ‘देशभर ६ हजार सात सय ४३ वडा छन्, सबैमा प्रतिनिधि पठाउनुपर्छ । मतदाता नामावली पुर्‍याएर निर्वाचन कार्यक्रम सञ्चालन गर्नुपर्छ,’ उनले भने, ‘यसमा पार्टीको विशेष सहयोग भयो भने केही दिन घटाउन सकिन्छ । जस्तै मोटरबाट पठाउने सामान जहाजबाट पठायो भने केही छिटो हुन सक्छ । छपाइका काममा रातदिन खट्ने जनशक्ति आवश्यक पर्छ ।’

वडा तहको अधिवेशन हुन चार दिन मात्रै बाँकी हुँदा निर्वाचन समितिले एक महिना समय मागेपछि शुक्रबारको बैठकले त्यसबारे सहमति जुटाउन सकेन । यतिसम्म कि १२ साउनको वडाको अधिवेशन सार्ने कि नसार्ने ? भन्नेसम्म पनि निर्णय भएको छैन । त्यसो त क्रियाशील सदस्यताको विवाद झन्–झन् चर्किँदै गएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने र अनशन बस्नेको संख्या दिनहुँ थपिँदो छ ।

‘क्रियाशील सदस्यताको विवाद छ । महामारी पनि बढ्दो छ । वर्षा, बाढी र पहिरोको कुरा पनि छ । त्यसमाथि निर्वाचन समितिले यति लामो समय मागेको छ,’ देउवानिकट एक नेताले भने, ‘भदौमै महाधिवेशन हुने सम्भावना कम हुँदै गएजस्तो लाग्छ ।’

यसैबीच केन्द्रीय क्रियाशील छानबिन समितिले पनि थप दुई दिन समय मागेको छ । ‘हामीले काम अन्तिम चरणमा पुर्‍याएका छौँ । तर, अझै केही काम बाँकी छन् । आइतबारसम्म प्रतिवेदन बुझायौँ भने त्यो हाम्रो सफलता हो,’ शुक्रबार बैठकमा समितिको प्रगतिबारे संयोजक रमेश लेखकको भनाइ थियो ।

शुक्रबारको बैठकमा निर्वाचन समिति र क्रियाशील सदस्यता छानबिन समितिका प्रगतिबारे सुनेपछि पुनः शनिबार बस्ने गरी बैठक स्थगित भएको छ । बैठकमा नेताहरूले भने महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने र त्यसका लागि आफूहरू प्रतिबद्ध रहेको बताएका थिए ।

सभापति देउवाले तल्ला तहको कार्यतालिका हेरफेर गरेर भए पनि भदौमा निर्धारित मितिमै केन्द्रीय महाधिवेशन गर्नुपर्ने बताएका थिए । ‘कार्यतालिका जता–जता मिलाउनुहुन्छ, मिलाउनुस्, तर भदौ १६–१९ को केन्द्रीय महाधिवेशन गर्ने मिति यताउता हुन सक्दैन,’ दुवै समितिका कुरा सुनेपछि देउवाले भनेका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि बैठकमा त्यही कुरा राखेको बताए । ‘केन्द्रीय महाधिवेशनको मिति यताउता हुन सक्दैन । यदि भयो भने पार्टीको दर्ता नै खारेज हुने अवस्थामा हामी पुग्छौँ । हामी यत्रो ठूलो गौरवशाली पार्टीको दर्ता नै खारेज हुने जोखिम मोल्न तयार छैनौँ । त्यसको लागि बरु केन्द्रीय समिति र प्रदेश समितिको मात्रै भए पनि निर्वाचन गरौँ,’ पौडेलले भनेका थिए ।

नेता पौडेलले दुई समितिको मात्रै निर्वाचन भए पनि पार्टीको अस्तित्व बचाउन सकिने भएकाले आफूले त्यस्तो प्रस्ताव गरेको बताए । ‘क्रियाशील सदस्यताको काम सकिनुपर्‍यो । त्यसका लागि महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि चुनिनुपर्‍यो । यति गरेर प्रदेश र केन्द्रको निर्वाचन गरेपछि पार्टीको वैधानिकता बचाउन सकिन्छ । जसरी हुन्छ, पार्टीको वैधानिकता जोगाउनका लागि हामी सबै कटिबद्ध भएर पार्टीको महाधिवेशन गर्नुपर्छ,’ पौडेलले भनेका थिए ।

बैठकपछि नेता कृष्णप्रसाद सिटौलाले भने पार्टीको महाधिवेशन पूर्वनिर्धारित कार्यतालिका हुन सक्दैन भन्ने थाहा भए पनि कोही पनि त्यो कुरा बोल्न तयार नभएको बताए । ‘बैठकमा सभापतिजी र रामचन्द्रजी दुवैले भदौमै जसरी पनि महाधिवेशन हुन्छ भन्नुभयो । अब पहिले तोकेको मितिमा महाधिवेशन हुँदैन भनेर सबैलाई थाहा छ । तर, कोही पनि हुँदैन भन्न तयार छैन,’ सिटौलाले शुक्रबारै आयोजित एक कार्यक्रममा भनेका छन्, ‘१२ गते अधिवेशन हुँदैन भन्ने थाहा छ । तर, औपचारिक रूपमा त मैले पनि भन्नुहुन्न । किनभने त्यस्तो निर्णय भएको छैन । यथार्थ त हुन्न भन्ने नै हो । तर, यथार्थ भन्न डराउने कांग्रेस भइएको छ ।’

कांग्रेसले यसअघि निर्धारण गरेको कार्यतालिकामा १४औँ महाधिवेशनअन्तर्गत १२ साउनमा वडा तहको अधिवेशन गर्ने उल्लेख छ । त्यसपछि १६ साउनमा स्थानीय तह, २० साउनमा प्रदेश सभा क्षेत्र र २३ साउनमा प्रतिनिधिसभा क्षेत्र एवं एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन हुनेछ । त्यस्तै, २६ गते एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन हुनेछ भने १ र २ भदौमा सात प्रदेशको अधिवेशन र १६ देखि १९ भदौमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।नयाँपत्रिकाबाट