प्रधानमन्त्री ओली धनगढीमा, आमसभामा सम्बोधनको तयारी

65

काठमाडौं : प्रधानमन्त्री केपी ओली धनगढी पुगेका छन्। श्री एअरलाइन्सको जहाजबाट केही बेरअघि उनी धनगढी पुगेका हुन्। प्रतिनिधिसभा विघटन र पार्टी विभाजनपछि आफूनिकट समूहले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्न शुक्रबार प्रधानमन्त्री ओली धनगढी गएका हुन्।बिहान ८:१५ बजे धनगढी जाने कार्यक्रम भएपनि हुस्सु लागेकाले ११ बजेपछि मात्र प्रधानमन्त्री ओली धनगढी उडेका हुन्।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट भने धनगढी विमानस्थलमा गएनन्। ओली समूहले प्रदेश सरकारलाई कार्यक्रमबारे कुनै जानकारी नगराएकाले स्वागतका लागि मुख्यमन्त्री नगएको बुझिएको छ।

संसद भंग भएपछि पार्टी विभाजनको संघारमा पुगेका बेला ओलीको यो पहिलो आमसभा हो । धनगढी विमानस्थलमा उनलाई सैयौं कार्यकर्ताले मोटरसाइकल र्‍यालीसहितले स्वागत गरे । विमानस्थलबाट सिधै नेपाल राष्ट्र बैंकको अथिति कक्षमा गएका ओलीले, केही दिन‍अघि थपिएका केन्द्रीय सदस्यहरुलाई सपथ खुवाउने कार्यक्रम रहेको बन तथा वातावरण मन्त्री प्रेम आले मगरले जानकारी दिए ।

सपथ खानका लागि काठमाडौं जान नपाएका केन्द्रीय सदस्यहरुले शुक्रबार धनगढीमा सपथ खानेछन् । ओलीको सुरक्षाका लागि एक हजार बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् ।धनगढीको विमानस्थल रहेको गेटादेखि कार्यक्रमस्थलसम्म सशस्त्र र नेपाल प्रहरीले कडा सुरक्षा दिएका छन् ।  धनगढी विमानस्थलको सुरक्षामा भने नेपाली सेना खटिएको थियो ।

संघीय सरकारका सुदूरपश्चिमबाट चार‍जना मन्त्री छन्। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले र संघीय मामिला मन्त्री गणेशसिंह ठगुन्ना पनि धनगढीको कार्यक्रम सफल बनाउन सुदूरपश्चिम पुगेर लागिपरेका थिए।

ओली पक्षले सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरूको प्रशिक्षण भेला पुष १५ गते राजधानी काठमाडौंमा गरेका थिए। (Annapurnapost)