पाणिनीको पालीमा वडाबाटै ३० योजना सम्झौता

195

घनश्याम पौडेल
अर्घाखाँची, २४ पुस । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाले वडामा नै गएर योजना सम्झौता गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ ।

अडगुरी, पणेना पछि पालीमा सञ्चालन भएका योजनाहरुको वडामै सम्झौता भएको छ । योजना सम्झौता गर्न जादाँ र बैंकमा खाता सञ्चालन गर्न जादाँ धेरै खर्चिलो हुने भएकाले वडामै योजना सम्झौता गरेको हो । पाणिनी गाउँपालिकाको वडा नं. ८ पालीमा उपभोक्ता समिती मार्फत गरिने चालु आर्थिक बर्षका योजनाहरुको सम्झौता र वडाबाटै बैंक खाता सञ्चालन भएपछि वडाबासी हर्षित भएका छन ।

योजनाको सम्झौता गर्दा उपभोक्ता समितिलाई कार्यदेश हस्तान्तरण गर्दै पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले जनतालाई सहजता गराउनका लागी पालिका धाउनु पर्ने बाध्यता हटेको बताए ।

समयमै काम सम्पन्न गरी उत्तरदायीत्व निर्वाह गर्न उपभोक्ता समितिलाई अनुरोध गर्दै छिटो काम गर्न र सम्पन्न भएको योजनाको रकम निकासा गर्न गाउँपालिका अध्यक्ष गौतमले आग्रह गरे । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरेले जनतालाई सहज हुने गरि गाउँ गाउँमै पुगेर योजना सम्झौता गर्नु उदाहरणिय कार्य भएको बताए । उनले पालीमा ३० योजनाको सम्झौैता गरेको बताए ।

वडाबाटै सेवा पाउँदा स्थानिय बासीन्दा हर्षित भएका थिए । वडा अध्यक्ष मिनराज आत्रेय, गाउँपालिकाका योजना शाखाका शोभाखर भुसाल, प्रकाश भट्टराई, ग्लोबल बैंकका प्रतिनिधी लगाएतबाट वडामै योजना सम्झौता र खाता खोल्ने काम सम्पन्न भएको हो ।